२०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर १.९ प्रतिशत सिमित हुने प्रक्षेपण

पश्चिम एसियाको द्वन्द्वका कारण ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी यातायातमा अवरोध लामो समय जारी रहे यो वृद्धिदर अझै कम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

World merchandise trade growth projected to be limited to 1.9 percent in 2026

What you should know

काठमाडौँ — विश्व व्यापार स‌ंगठनले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर घटेर १.९ प्रतिशतमा खुम्‍चिने प्रक्षेपण गरेको छ । संगठनले बिहीबार सार्वजनिक गरेको 'ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स' ले विश्व बजारमा ऊर्जाको मूल्यमा आउने उत्तारचढाव बाहेकको आधारभूत वृद्धि दर प्रक्षेपण गरेको हो ।

सन् २०२५ मा ४.६ प्रतिशत रहेको विश्वव्यापी वस्तु व्यापार वृद्धि दर सन् २०२६ मा घटेर १.९ प्रतिशतमा खुम्चिने  अनुमान गरेको हो । यदि पश्चिम एसियाको द्वन्द्वका कारण ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी यातायातमा अवरोध लामो समय जारी रहे यो वृद्धि दर अझै कम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

आर्टिफिसिएल इन्टेलिजेन्सी (एआई)सँग सम्बन्धित उत्पादनहरूको वृद्धि र नयाँ भन्सार शुल्कबाट बच्नका लागि पहिले नै गरिएको आयातकार कारण व्यापार सामान्य अवस्थामा आउने अपेक्षा गरिएकाले वृद्धिदर खुम्चिने संगठनले जनाएको छ ।  सन् २०२७ मा विश्व वस्तु व्यापारको परिमाण २.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

व्यापारिक सेवाको व्यापार वृद्धि यस वर्षको ५.३ प्रतिशतको वृद्धिपछि २०२६ मा ४.८ प्रतिशतमा झर्ने र २०२७ मा पुनः ५.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ। समग्रमा वस्तु र सेवाको व्यापार २०२५ को ४.७ प्रतिशतको तुलनामा २०२६ मा २.७ प्रतिशत ले बढ्नेछ। विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दर २०२५ को २.९ प्रतिशतबाट थोरै घटेर २०२६ र २०२७ दुवै वर्षमा २.८ प्रतिशत रहने अनुमान गरिएको छ ।

सन् २०२६  मा कच्चा तेल र तरल प्राकृतिक ग्यासको मूल्य उच्च रह्यो भने यसले २०२६ को जीडीपी प्रक्षेपणबाट ०.३ प्रतिशत बिन्दु घटाउनेछ । जसले गर्दा यस वर्षको व्यापार प्रक्षेपणमा ०.५ प्रतिशत बिन्दु र ऊर्जा आयातमा निर्भर क्षेत्रहरूका लागि १.० प्रतिशत बिन्दुसम्मको गिरावट आउनेछ । उच्च ऊर्जा मूल्यको परिदृश्यमा वस्तु व्यापारको परिमाण केवल १.४ प्रतितशतले मात्र बढ्नेछ। २०२६ मा सेवा व्यापार पनि ४.१ प्रतिशतलको सुस्त दरमा वृद्धि हुनेछ ।

उच्च प्रविधि उत्पादन र डिजिटल माध्यमबाट उपलब्ध गराइने सेवाहरूको व्यापार, आपूर्ति शृङ्खलामा गरिएका अनुकूलन र भन्सार शुल्कमा हुने प्रतिशोधात्मक कारबाहीबाट जोगिएका कारण विश्वव्यापी व्यापारमा देखिएको लचकतालाई झल्काउँने संगठनकी महानिर्देशक गोजी ओकोन्जो इवेलाले  बताइन् । 

'यद्यपि, यो आधारभूत प्रक्षेपण पश्चिम एसियाको द्वन्द्वका कारण दबाबमा छ,' उनले भनिन् 'ऊर्जाको मूल्यमा हुने निरन्तर वृद्धिले विश्वव्यापी व्यापारका लागि जोखिम बढाउन सक्छ, जसले खाद्य सुरक्षामा असर पार्नुका साथै उपभोक्ता र व्यवसायीहरूमा लागतको दबाब सिर्जना गर्न सक्छ ।'

इन्धन बाहेक 'स्ट्रेट अफ हर्मुज' साँघुरो जलमार्गको अवरोधले विश्वव्यापी कृषिका लागि महत्त्वपूर्ण मलखादको आपूर्तिमा अवरोध पुर्‍याएको छ । सामान्यतया विश्वको झन्डै एक-तिहाइ मल निर्यात यही जलमार्ग भएर जान्छ ।

भारत, थाइल्याण्ड र ब्राजिल जस्ता प्रमुख कृषि उत्पादकहरू आफ्नो युरिया आयातका लागि क्रमशः ४० प्रतिशत, ७० प्रतिशत र ३५ प्रतिशत खाडी क्षेत्रमा निर्भर छन् । खाडी मुलुकहरूले पनि खाद्य सुरक्षाको चुनौती सामना गरिरहेका छन् । खाडी मुलुकहरुमा चामलको आयात निर्भरता औसत ७५ प्रतिशत छ भने मकै, भटमास र वनस्पति तेलको आयात ९० प्रतिशतभन्दा बढी रहेको संगठनले  जनाएको छ ।

कान्तिपुर

Link copied successfully