फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म सञ्चालन हुने मेलामा दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ ।
काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा जारी २७औं फ्लोरा एक्स्पोमा २७ हजारले अवलोकन गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म सञ्चालन हुने मेलामा दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ । बिहीबारदेखि सुरु भएको मेलाको पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए । उनका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरे भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यससँगै दुई दिनमा कुल २७ हजार दर्शकले मेला अवलोकन गरेका छन् भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको छ।एक्स्पोमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारको १ स्टल गरी कुल ८३ वटा स्टल रहेका छन् । मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक रामबहादुर तामाङले बताए ।
यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङले बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रमसमेत आयोजना भएको लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरका अध्यक्ष सीताराम लामिछानेले बताए । लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरले विगतमा पनि रक्तदान कार्यक्रम, नि:शुल्क पिउने पानी वितरण गर्दै आएको छ ।
