पाल्पाबाट ३६ हजार ३३० केजी सेतो सिमी युरोप निर्यात

यस वर्ष नेदरल्याण्डबाट ४० हजार किलोको माग आएकोमा ३६ हजार ३३० केजी पठाउन सफल भएको गल्धा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष अममाया थापा मश्राङ्गीले बताइन् ।

चैत्र ७, २०८२

माधव अर्याल

36,330 kg of white beans exported to Europe from Palpa

What you should know

पाल्पा — पाल्पाको गल्धामा उत्पादन भएको सेतो सिमी यस वर्ष पनि युरोप निर्यात भएको छ । निस्दी गाउँपालिका–५ गल्धामा उत्पादन भएको रैथाने सेतो सिमी अर्गानिक प्रमाणित भएपछि गत वर्षदेखि युरोप निर्यात भएको हो ।

गल्धाको ढुंगानाबेंसीस्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् किसानले सेतो सिमी संकलन गरेका थिए । यस वर्ष नेदरल्याण्डबाट ४० हजार किलोको माग आएकोमा ३६ हजार ३३० केजी  पठाउन सफल भएको गल्धा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष अममाया थापा मश्राङ्गीले बताइन् । यस वर्ष करिब ८० लाख रुपैयाँको सिमी निकासी गर्न सफल भएका हुन् ।

सहकारीले गत वर्ष पनि झण्डै २० हजार किलो सेतो सिमी युरोप पठाएको उनले बताइन् । उत्पादन कम भएकाले माग गरेको परिमाण पठाउन नसकिएको अध्यक्ष मश्राङ्गीले बताइन् । बिचौलिया व्यापारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले किसानले केही रकम महंगोमा बिक्री गर्दा परिमाण पुग्न नसकेको उनले बताइन् । 

36,330 kg of white beans exported to Europe from Palpa

युरोपलगायत तेस्रो मुलुक निर्यात गर्न अकिस्टा नेपालसँगको साझेदारी रहेको सहकारीकी व्यवस्थापक डिलमाया थापाले बताइन् । अकिष्टाले अर्गानिक प्रमाणित गरेर सिमी युरोपलगायत अन्य मुलुकमा पठाउने गरेको उनले बताइन् । सिमी निर्यात भएसँगै यहाँका किसानले भाउसमेत राम्रो पाएको बताएका छन् । विगतमा १ सय ३० मा बिक्री गर्ने किसानले अहिले १ सय ७५ रुपैयाँ किलोमा सेतो सिमी सहकारीले खरिद गरेको छ । 

विदेश निर्यात गर्ने संस्थाले ग्रडिङ गरेको सिमी २ सय २० रुपैयाँ केजीमा खरिद गरेको छ । ‘ग्रेडिङ गर्दा केही किलो घट्ने हुन्छ,’ व्यवस्थापक सारुले भनिन्, ‘सहकारी र किसानलाई फाइदै भएको छ ।’ विदेश निर्यात हुन थालेपछि किसानलाई सहज भएको छ । सहकारीमार्फत् भएको कारोबारको पैसासमेत डुब्दैन भन्नेमा किसान ढुक्क छन् । ग्रेडिङ र प्याकेजिङ गरेर पठाइएको उनले बताइन् । 

विषादी नहाली गरिएको सिमी खेतीले वातावरणमैत्री र दिगो कृषि प्रणालीका लागि सहयोग पुग्नेछ । परम्परागत अर्गानिक तरिकाले खेती गर्दै आएकाले अहिले यहाँको सिमी अर्गानिक प्रमाणि भएको छ । सेतो सिमी बिक्री गरेर किसानले २० हजारदेखि २ लाखसम्म कमाउने गरेको किसान नारायणी ढुंगानाले बताइन् । गल्धाका कठैडाँडा, पटाङ्सार, गेझा, धनुवास, गाबुडाँडा, खर्कडाँडा, बहपुर, बेलौजी, धाचुर, कोटथरलगायतका किसानले सिमी लगाउने गरेको सहकारीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully