प्रदर्शनका क्रममा मुलुकका १० वटा मालपोत कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको थियो । क्षति पुगेका कार्यालय असोजमै सञ्चालनमा आइसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
What you should know
काठमाडौँ — २४ भदौमा प्रदर्शनका क्रममा क्षति पुगेको २२ भूमिसुधार तथा मालपोत कार्यालय र १४ वटा नापी कार्यालय सञ्चालनमा आइसकेका छन् । प्रदर्शनका क्रममा मुलुकका १० वटा मालपोत कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको थियो । क्षति पुगेका कार्यालय असोजमै सञ्चालनमा आइसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, धनगढी कैलाली, नेपालगन्ज बाँके, घोराही दाङ र विराटनगर मोरङ र मालपोत कार्यालय, तुलसीपुर दाङ, पोखरा कास्की, भरतपुर चितवन, खैरहनी चितवन, कलंकी काठमाडौं र बुटवल रूपन्देही पूर्ण रूपमा क्षति भएको थियो । क्षति भएका कार्यालयमा नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न विभागले परिपत्रसमेत गरेको थियो । जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले असोजदेखि नै काम सुरु गरिसकेको विभागका प्रवक्ता हरिप्रसाद पन्तले बताए । ‘भाडामा लिएर, मर्मतसम्भार गरेर सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘नयाँ स्रेस्ता कायम गर्दै घरजग्गा खरिदबिक्री भइरहेको छ ।’
मालपोत कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयमा क्षति हुँदा जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख नष्ट भएको छ । क्षति भएका कार्यालयमा नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न विभागले असोजमा परिपत्र नै गरेको थियो ।
पुरानै भवनमा मर्मतसम्भार गरी सञ्चालनमा आई हालसम्म ३० हजार नयाँ स्रेस्ता कायम गरिसकेको कलंकी मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रवीन ढकालले बताए । ‘कुल ३ लाख स्रेस्ता जलेको थियो, त्यसमध्ये ३० हजार नयाँ स्रेस्ता कायम गरिसक्यौं,’ उनले भने । नयाँ स्रेस्ता कायम गर्न निवेदन दिएकै दिन वा भोलिपल्टसम्म तयार हुने उनको भनाइ छ ।
अत्यावश्यक भए सोही दिन पनि नयाँ स्रेस्ता कायम गरिने उनले जनाए । २०७७ यता भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) लागू भएकाले सेवाग्राहीले नागरिकता, सक्कल पुर्जा र पालिकामा कर तिरेको कागजातसहित स्वयं उपस्थित भइसकेपछि नयाँ स्रेस्ता तयार हुँदै आएको छ । ‘२०७७ पछिको डिजिटल रेकर्ड छ, त्यसअघिको नभएकाले बायोमेट्रिक पनि गर्नुपर्छ,’ ढकालले भने, ‘काठमाडौंमा सम्पत्ति भएको तर अस्थायी रूपमा काठमाडौंबाहिर वा विदेशमा बस्नेहरू आइरहेका छन् ।’
नयाँ जग्गाधनी दर्ता स्रेस्ता तयार भइसकेपछि जग्गा खरिदबिक्री, लिखत पारित, अंशबन्डा, कित्ताकाट, रोक्का, फुकुवा गर्न सक्ने विभागको भनाइ छ । नयाँ स्रेस्ता कायम गर्न सक्कल पुर्जा, नागरिकता, पालिकामा तिरो तिरेको कागजात लिई स्वयं जग्गा धनी उपस्थित हुनुपर्छ । तर अनलाइनमा रेकर्ड भेटिएन, मालपोत तथा नापी कार्यालयमा प्राप्त कागजातसँग मेल खाएन भने वडाको सिफारिससमेत मागिने ढकालले बताए । दैनिक ८० देखि १०० जना घरजग्गा धनी नयाँ स्रेस्ता कायम गर्न आउने गरेको उनले सुनाए । ‘हामी एउटा ट्र्याकमा बसिसक्यौं, नयाँ स्रेस्ता कायम गरिरहेका छौं तर सबै स्रेस्ता कायम गर्न समय लाग्छ,’ उनले भने ।
भाडाको घरबाट दैनिक सेवा सञ्चालन गरिरहेको मालपोत कार्यालय, तुलसीपुर दाङका मालपोत अधिकृत खेमबहादुर खड्काले बताए । ‘हामी भाडाको घरमा थियौं, त्यसमा आगजनी भएपछि नयाँ भाडाको घरबाट सेवा दिइरहेका छौं,’ उनले भने, ‘कुल ७० हजार स्रेस्ता जलेकामा करिब १२ हजारजति नयाँ स्रेस्ता कायम गरिसकेका छौं ।’ घरजग्गा खरिदबिक्री गर्न आउनेहरूलाई प्राथमिकतामा राखेर स्रेस्ता कायम गरिरहेको उनले सुनाए । एकै दिन नयाँ स्रेस्ता कायम गर्ने गरेको बताउँदै खड्काले मंसिर, पुस र माघमा घरजग्गा खरिदबिक्रीको चाप भइरहे पनि फागुन र चैतमा घटेको उनको भनाइ छ ।
