हावाहुरीले टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति

हावाहुरीले पौडेल कृषि फर्म र सिंहदेवी एग्रो फर्ममा सबैभन्दा धेरै क्षति पुगेको छ ।

चैत्र ६, २०८२

रमेशचन्द्र अधिकारी

Damage of over 2.4 million due to windstorm blowing away tunnel

धनकुटा — धनकुटाको छथर जोरपाटी–६ सिधुवा क्षेत्रमा हावाहुरीले तरकारी खेती गरेको टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति पुगेको छ ।

हावाहुरीले पौडेल कृषि फर्म र सिंहदेवी एग्रो फर्ममा सबैभन्दा धेरै क्षति पुगेको छ । सिंहदेवी एग्रो फर्मका सञ्चालक मेघबहादुर खड्काको १६ लाख र पौडेल कृषि फर्मका खगेन्द्र पौडेलको ८ लाखभन्दा बढीको तरकारी खेतीमा क्षति पुगेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

‘टनेलभित्र गरेको तरकारी खेती मात्रै २४ लाखभन्दा बढीको क्षति देखिन्छ,’ उनले भने । किसानले ऋण अनुदानमा टनेल खरिद गरेर तरकारी खेती गर्दै आएका छन् । 

स्थानीय ईश्वरप्रसाद ओझाको घर तथा बालीमा समेत क्षति पुगेको छ । उनको ४ लाखभन्दा बढीको क्षति पुगेको अनुमान छ । 

त्यस क्षेत्रका सरकारी विद्यालय तथा अन्य व्यक्तिगत आवासमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । सिधुवा बेमौसमी तरकारीको पकेट क्षेत्र समेत हो । त्यस क्षेत्रमा क्षतिको थप विवरण संकलन जारी रहेको प्रहरीको भनाइ छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully