बिहीबारको महासंघ कार्यकारिणी समितिको बैठकले चैत २९ र ३० मा केन्द्रीय महासंघको र सातवटै प्रदेशको साधारणसभा चैत २५ गतेभित्र सक्ने निर्णय गरेको हो ।
काठमाडौँ — निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा यही चैत २९ र ३० मा हुने भएको छ । बिहीबारको महासंघ कार्यकारिणी समितिको बैठकले चैत २९ र ३० मा केन्द्रीय महासंघको र सातवटै प्रदेशको साधारणसभा चैत २५ गतेभित्र सक्ने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिताका कारण स्थगित भएको केन्द्रीय महासंघ र प्रदेश महासंघको साधारणसभाको मिति तय गर्न बिहीबार कार्यकारिणी समितिको बैठक डाकिएको थियो । यसअघि २४ माघदेखि २ फागुनसम्म विभिन्न मितिमा सातवटै प्रदेश महासंघको साधारणसभा गर्ने तय भएको थियो । तर, निर्वाचन आचारसंहिताका कारण उक्त मितिमा साधारणसभा गर्न निर्वाचन आयोगबाट अनुमति नपाएपछि रोकिएको थियो । त्यही साधारणसभा यही चैत अन्तिम साता हुन लागेको हो ।
महासंघको विधानमा चैत २८ र २९ मा केन्द्रीय महासंघको साधारणसभा गर्नुपर्ने व्यवस्था छ । केन्द्रको साधारणसभाको कम्तीमा एक महिनाअघि प्रदेशको साधारणसभा हुनुपर्छ । यसअनुसार केन्द्र र प्रदेश महासंघको साधारणसभाका लागि कम्तिमा २१ दिन अघि सूचना जारी गर्नुपर्ने व्यवस्था विधानमा छ । तर यसपटक निर्वाचनका कारण स्थगित भएकाले कार्यकारिणी बैठकले बाधाअड्काउ फुकाउ व्यवस्थाअन्तर्गत प्रदेश साधारणसभाका लागि २१ दिने सूचनाको साटो १५ दिने सूचना दिएर साधारणसभा गर्ने निर्णय गरेको हो ।
यसपटक महासंघमा केन्द्र र प्रदेश पदाधिकारीको निर्वाचन पनि हुँदैछ । यसकारण पनि महासंघको साधारणसभालाई चासोका रूपमा हेरिएको छ । पदाधिकारीका प्रत्याशीहरू पनि समूह नै बनाएर निर्वाचन प्रतिस्पर्धामा लागिसकेका छन् ।
