कानुनी सहजीकरण र जग्गा व्यवस्थापनका लागि प्रदेश सरकारसँग एमओयूमा हस्ताक्षर गर्न आग्रह, पहिलो चरणमा सैनामैनामा ३० मिलियन डलर लगानीमा बायो डिजल उत्पादन उद्योग खोल्ने तयारी ।
What you should know
बुटवल — लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५० वटा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । उद्योग स्थापनाका लागि उपयुक्त वातावरण रहेको जनाउँदै उक्त कम्पनीले प्रदेश सरकारसमक्ष यस्तो प्रस्ताव पेस गरेको हो । कम्पनीले निजी व्यावसायिक संस्था एवं व्यवसायीसँग पनि साझेदारीका लागि आह्वान गरेको हो ।
चिनियाँ कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले प्रदेश सरकारसँग विकास र रोजगारीका लागि सहकार्यको प्रस्ताव गरेको हो । यो कम्पनी चिनियाँ सरकार र त्यहाँका निजी व्यवसायीको लगानी साझेदार कम्पनी हो । त्यसले प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारसँग रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारीसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षरका लागि प्रस्ताव गरेको छ ।
माघ दोस्रो साता चिनियाँ कम्पनीले ५० उद्योग स्थापनाका लागि साझेदारीको प्रस्ताव गरे पनि सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन । चुनावअघि आएको कम्पनीको टोली निर्वाचन आचारसंहिता लागू भएकाले फिर्ता भएको थियो । उक्त टोली बुधबार पुनः काठमाडौं आइपुगेको छ । सरकारसँगको समन्वयका लागि पहल गरिरहेका लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री विष्णु पन्थीले बुधबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले बिहीबार प्रदेश योजना आयोगसँग छलफल गरेको बताए । ‘संघीय सरकार लुम्बिनीमा लगानीका लागि सकारात्मक छ,’ उनले भने, ‘पहिलो चरणमा रूपन्देहीको सैनामैनामा ३० मिलियन डलर लगानीको बायो डिजल, मल र ऊर्जा उत्पादन कम्पनी स्थापना गर्ने गरी छलफल चलिरहेको छ ।’ तराईका खेतमा कृषिजन्य बस्तुहरू गहुँको डाँठ, धानको पराल जलाएर फाल्ने चलन छ । चिनियाँ कम्पनीले पहिलो चरणमा गहुँको डाँठ, पराल लगायतका किसानलाई उपयोग नहुने बस्तुहरू प्रशोधन गरेर बायो ऊर्जा उत्पादन गर्ने गरी उद्योग स्थापनाका लागि आवश्यक सहजीकरण र प्रकृया अघि बढाएको उनले बताए ।
चिनियाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङले १ फेब्रुअरी २०२६ मा लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाएको पत्रमा औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्द्धनका विषयमा सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । उक्त पत्रमा चिनियाँ सरकारी अधिकारी र व्यवसायी संस्थाका साझेदार प्रतिनिधिले लुम्बिनी प्रदेशको आधिकारिक भ्रमण गर्ने र त्यस अवसरमा सरकारसँग ५० उद्योग स्थापनाका लागि समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ । जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडको प्रतिनिधिमण्डलले पहिलो चरणमा १ फेब्रुअरीमा विभिन्न जिल्लाको भ्रमण गर्दै प्रदेशका नीतिगत प्राथमिकता, औद्योगिक सम्भावना, लगानीमैत्री वातावरण तथा दीर्घकालीन विकासका विषयमा छलफल गर्ने प्रस्ताव पनि गरेका थिए ।
टोलीको नेतृत्व गरेका मलेसियाको जेबीसी र जेडीएफका अध्यक्षसमेत रहेका चिनियाँ व्यवसायी स्टेवार्ड चेङले लुम्बिनीले आयात नगरेर निर्यात योय वस्तु उत्पादन गर्न सक्ने बताए । ‘दक्षिणी क्षेत्रमा यति ठूलो जनसंख्या भएको छिमेकी देश छ, यहाँ यति ठूलो सम्भाव्यताको क्षेत्र छ उद्योगहरूका लागि, अब तपाईहरूले बाहिरबाट सामान ल्याउने होइन पठाउने योजना बनाउनुहोस्,’ भ्रमणका क्रममा उनले भने, ‘प्रविधि र लगानीको वातावरण हामी मिलाउँछौं, कानुनी झन्झटताको अन्त्य र जग्गाको व्यवस्थापन तपाईहरू गरिदिनुस् । सधैभरि आयात गरेर हुँदैन, अब निर्यात गर्ने वस्तु ठूलो मात्रामा उत्पादन गर्नुस्, भारतपछि युरोपियन मुलुकमा पठाउनुपर्छ ।’ चीन, मलेसिया, युरोपमा भएका लगानीकर्ताले लुम्बिनीमा धेरै सम्भावना देखेको उनले बताए । भारतसँगको सिमानामा कुनै समस्या नभएको र अन्तर्राष्ट्रिय विमानस्थलले पनि लगानीका लागि सहयोग गर्ने उनको विश्वास छ ।
प्रस्तावित समझदारी पत्रमा तीन प्रमुख क्षेत्रलाई सहकार्यको आधार बनाइएको छ । पहिलो, औद्योगिक विकास अन्तर्गत लुम्बिनी प्रदेशभित्र ५० वटा उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव छ । यसले रोजगारी सिर्जना, स्थानीय स्रोतसाधनको उपयोग र दिगो आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा छ । कम्पनीले उत्पादनमूलक उद्योगमार्फत प्रदेशको औद्योगिक आधार विस्तार गर्ने उल्लेख गरिएको छ । दोस्रो, नेपाली उत्पादनको विकास, उत्पादन तथा ब्रान्डिङमा सहकार्य गर्ने प्रस्ताव गरिएको छ । उच्च गुणस्तरका नेपाली उत्पादनलाई व्यावसायिक रूपमा विकास गर्दै मूल्य अभिवृद्धि गर्ने र लुम्बिनी प्रदेशलाई राष्ट्रिय ब्रान्डिङ गरिएको उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य उल्लेख छ । यसले स्थानीय किसान, उद्यमी र साना तथा मझौला उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
तेस्रो, चीनमा नेपाली उत्पादनको निर्यात प्रवर्द्धनलाई सहकार्यको महत्वपूर्ण पाटो बनाउने उल्लेख छ । त्यसले चिनिया बजारमा नेपाली उत्पादनको पहुँच विस्तार हुने, द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बन्ने र नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य रहेको पत्रमा उल्लेख छ । कम्पनीले चीनको विशाल बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण, नेटवर्क र बजार पहुँच उपलब्ध गराउने पनि जनाएको छ ।
प्रदेश सरकारसँगको सम्भावित सहकार्यलाई दीर्घकालीन र परिणाममुखी बनाउने उद्देश्य रहेको भन्दै कम्पनीले प्रदेश सरकारको मार्गदर्शन, सहजीकरण र सहकार्य अपेक्षा गरेको प्रदेश सभा सदस्य पन्थीले बताए । तीन उद्देश्यसहितको समझदारी पत्रमा हस्ताक्षर भएपछि परियोजना कार्यान्वयनका स्पष्ट ढाँचा, लगानी संरचना र कार्य योजना निर्धारण हुने उनले बताए ।
लुम्बिनी प्रदेश व्यापार, औद्योगिक क्षेत्र विस्तार, उत्पादन र बजारीकरणका लागि महत्वपूर्ण र पूर्वाधार विकास भएको क्षेत्र हो । भारतसँगको खुला सीमा, सिमा क्षेत्रमा पुगेका चौडा सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक करिडोर र विशेष आर्थिक क्षेत्र सेज, उद्योग स्थापनाका लागि प्रयाप्त जमिन लगायतले लुम्बिनी प्रदेशमा लगानी गर्नेहरूको आर्कषण बढ्दै गएको छ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले चिनियाँ कम्पनीले ५० वटा उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रस्ताव गरेको र त्यसका लागि लुम्बिनीको सम्भाव्यता र संघीय सरकारसँग सहजीकरणका लागि प्रक्रिया अघि बढेको बताए । ‘यसमा लुम्बिनी प्रदेश सरकार सकारात्मक छ,’ उनले भने, ‘तर, संघीय सरकारकै अनुमति र सहजीकरण पनि आवश्यक पर्ने भएकाले थप काम अघि बढेको छैन ।’ संघीय सरकार बनेपछि थप काम अघि बढाउने उनले बताए ।
प्रस्ताव कार्यान्वयनमा लैजान सकेमा यसले प्रदेशको औद्योगिक संरचनामा गुणात्मक परिवर्तन ल्याउने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले बताए । ‘रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात वृद्धि र स्थानीय उत्पादनको बजार विस्तारमा सकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘यस्ता सहकार्यमा स्पष्ट कार्य योजना, पारदर्शिता र दीर्घकालीन प्रतिबद्धता आवश्यक हुन्छ ।’ चुनावअघि चिनियाँ कम्पनीले प्रस्ताव गरेको जानकारी भए पनि त्यसपछिको विषय अवगत नभएको उनले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा सामग्री ल्याउन सहज, तापक्रमका हिसाबले पहाडको नजिक र जनशक्ति पाउनसमेत सहज, ढुवानीको सहज वातावरण भएकाले यो क्षेत्रबाट उत्पादन गरेर निर्यातका लागि सहज हुने चिनियाँ लगानीकर्ताको दाबी छ । चीनका जोएसन छिन, भेलिरिन क्वीन, मार्क लाइकको टोलीले यो क्षेत्रमा अस्तव्यस्त रहेको फोहोर प्रशोधन गरेर धेरै बस्तु उत्पादन गर्न सकिने र त्यसको ठूलो परिणाममा निर्यात गर्न सकिने सम्भावनासहित रूपन्देहीमा आएको जनाएका छन् । रूपन्देही, कपिलवस्तु र नवलपरासीमा अध्ययन गरी लगानीको सहज सम्भावना रहेको जनाउँदै कानुनी झन्झटता र प्रकृयागत सहजताका लागि प्रदेश सरकारसँग आग्रह गरेको चिनियाँ लगानीकर्ता जोएससन छिनले बताए ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले चिनियाँ टोलीले लुम्बिनी प्रदेशका विभिन्न क्षेत्र भ्रमण गरेर लागनीको वातावरणका विषयमा संघसँग पनि पनि लामो छलफल गरेको बताए । पूर्वाधार विकास, लगानीमैत्री वातावरण, कच्चा पदार्थको आयात र निर्यातको सहजता देखेपछि उनीहरू लगानीका लागि तीव्र इच्छुक रहेको आफूले पाएको उनले बताए । ‘चिनियाँहरू लगानीका लागि पूर्ण रूपमा तयार भएको देखिन्छ,’ उनले भने, ‘सरकारको सहयोग, प्रक्रियागत झन्झटमा सहजीकरण र जग्गा व्यवस्थापनका लागि उनीहरूले आग्रह गरेका छन् ।’
