२७ औं फ्लोरा एक्स्पो सुरु

पुष्प व्यवसायमा १ हजार २३५ भन्दा बढी व्यवसाय संलग्न छन् । हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

27th Flora Expo begins

What you should know

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्स्पो–२०८२ बिहीबारदेखि सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सुरु भएको प्रदर्शनी चार दिनसम्म सञ्चालन हुनेछ ।

हालैको हावाहुरीका कारण पुष्प व्यवसायीहरूले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै त्यस्ता प्राकृतिक विपत्तिबाट हुने जोखिम न्यूनीकरणका लागि बिमा व्यवस्था प्रभावकारी रूपमा लागू गर्न  फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले सरकारसँग आग्रह गरे । 

हावाहुरीकै कारण केही व्यवसायी यस पटकको प्रदर्शनीमा सहभागी हुन नसकेको उनले बताए । पुष्प क्षेत्रको दिगो विकासका लागि बिमा, नीतिगत सुधार र आधुनिक प्रविधिको विस्तार अपरिहार्य रहेको उनले जनाए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पुष्प व्यवसायलाई आर्थिक वृद्धिको सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै यसले रोजगारी सिर्जना गर्नुका साथै नागरिकको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए । उनले शहरीकरणसँगै बढ्दै गएको मानसिक तनाव कम गर्न हरियाली र पुष्पको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

27th Flora Expo begins

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले स्मार्ट पुष्प व्यवसायका लागि बजेट विनियोजन भइसकेको जानकारी दिँदै आवश्यक कार्यविधि अर्थ मन्त्रालयमा स्वीकृतिको प्रक्रियामा रहेको उल्लेख गरे । मन्त्री पौडेलले पुष्प व्यवसायले अब आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रविधि प्रयोग, उत्पादन सुधार र दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रदर्शनीमा करिब ६० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा ८३ वटा स्टल रहेका छन्, जसमा व्यावसायिक, प्रतिस्पर्धात्मक, फुड तथा ल्यान्डस्केपसम्बन्धी स्टल समावेश छन् ।

प्रदर्शनीमा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट, कृषि औजार तथा आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन तथा बिक्री भइरहेको छ । साथै विभिन्न विधामा उत्पादन प्रतिस्पर्धा पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

पुष्प व्यवसाय २०११ सालदेखि सुरु भई हाल ५२ जिल्लामा विस्तार भइसकेको छ । करिब २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा १ हजार २३५ भन्दा बढी व्यवसाय संलग्न छन् । हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढीले रोजगारी पाएको फ्यानका श्रेष्ठले जनाए । वार्षिक १० देखि १५ प्रतिशतसम्म माग वृद्धि भए पनि स्वदेशी उत्पादनले पूर्ण रूपमा धान्न नसकेको उनको भनाई छ । 

27th Flora Expo begins

कान्तिपुर

Link copied successfully