प्राधिकरणले दरमा आधारित प्रतिस्पर्धी बोलपत्र संरचना अन्तर्गत ४०० केभी शीतलपाटी (अरुणहब)-इनरुवा, ४०० केभी तिङ्ला-न्यू खिम्ती-सुनकोशी- ढल्केबर, १३२ केभीको डाँडाखेत- बुर्तिबाङ र १३२ केभीकै रिडि-तम्घास डबल सर्किट प्रसारणलाइन निर्माणका लागि आशयपत्र माग गरेको हो ।
What you should know
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक प्रसारण क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराउने गरी आशयपत्र माग गरेको छ । प्राधिकरणले ४०० केभी शीतलपाटी (अरुणहब)-इनरुवा, ४०० केभी तिङ्ला-न्यू खिम्ती-सुनकोशी- ढल्केबर, १३२ केभीको डाँडाखेत-बुर्तिबाङ र १३२ केभीकै रिडि-तम्घास डबल सर्किट प्रसारणलाइन निर्माणका लागि आशयपत्र माग गरेको हो ।
प्राधिकरणले दरमा आधारित प्रतिस्पर्धी बोलपत्र संरचना अन्तर्गत प्रसारणलाइन निर्माण गर्ने भएको छ । प्राधिकरणका अनुसार प्रसारणलाइन निर्माण, सञ्चालन र हस्तान्तर (बुट) मोडलमा निर्माण हुनेछ । इच्छुक कम्पनीहरुले २७ अप्रिलसम्म बुझाउनुपर्नेछ ।
४०० केभी शीतलपाटी (अरुणहब)-इनरुवा प्रसारणलाइन सुनसरी, संखुवासभा, धनकुटा, भोजपुरमा निर्माण हुनेछ । उक्त प्रसारणलाइनको लम्बाई ९५ किलोमिटर हुनेछ भने २४३ वटा टावर निर्माण गर्नुपर्नेछ । प्राधिकरणका अनुसार उक्त प्रसारण लाइनको सर्भे सकिएको छ । उक्त प्रसारणलाइन निर्माणपछि ४ हजार ४ सय मेगावाट बिजुली आपूर्ति हुने क्षमता छ ।
४०० केभी तिङ्ला- न्यू खिम्ती-सुनकोशी-ढल्केबर प्रसारणलाइन कोशी, बागमती र मधेश प्रदेशमा हुनेछ । सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली र धनुषामा निर्माण हुनेछ । उक्त प्रसारणलाइन निर्माणपछि ४ हजार ८० मेगावाट बिजुली प्रवाह हुनेछ । यसको लम्बाई १३३.९९ किलोमिटर हुनेछ भने ३ सय ८५ वटा टावर निर्माण गर्नुपर्ने छ । ४०० केभी तिङ्ला- न्यू खिम्ती - सुनकोशी - ढल्केबर प्रसारणलाइनको सर्भे र आईई सकिएको प्राधिकरणले जनाएको छ ।
१३२ केभीको डाँडाखेत- बुर्तिबाङ प्रसारणलाइनको लम्बाई ३३ किलोमिटर हुनेछ । म्याग्दी र बागलुङमा निर्माण हुने १३२ केभी डबल सर्किट प्रसारणलाइनको क्षमता २५० मेगावाट छ । प्रसारणलाइनको सर्भे प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । १३२ केभीकै रिडि-तम्घास डबल सर्किट प्रसारणलाइन पाल्पा र गुल्मीमा निर्माण हुनेछ । यसको लम्बाई २८ किलोमिटर हुनेछ । प्रसारणलाइनको सर्भे प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।
प्रसारण पूर्वाधार निर्माणमा पहिलो पटक निजी क्षेत्रको प्रतिस्पर्धी सहभागितालाई अगाडि बढाउने सन्दर्भमा प्राधिकरणको यो कदम महत्त्वपूर्ण कोशेढुंगा रहेको प्राधिकरणका प्रवक्ता राजन ढकाल बताउँछन् । 'नेपालको बढ्दो जलविद्युत् उत्पादन र भविष्यको ऊर्जा व्यापारलाई थप सहज बनाउन प्रसारण प्रणाली सुदृढ गर्नु अपरिहार्य छ,' उनले भने ।
