पश्चिम एसियामा आंशिक रूपमा हवाई सेवा पुनः सञ्चालन तर यात्रुहरूलाई सतर्क रहन आग्रह

यात्रुहरूको सुरक्षा प्राथमिकतामा राख्दै विभिन्न एयरलाइन्सहरूले सावधानीपूर्वक सेवा विस्तार गरिरहेका छन्।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Air services partially resume in West Asia, but passengers urged to be cautious

काठमाडौँ — पश्चिम एसियामा उत्पन्न क्षेत्रीय परिस्थितिका कारण प्रभावित हवाई सेवाहरू क्रमशः पुनः सञ्चालनतर्फ उन्मुख भए पनि अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले अझै सीमित उडान तालिका लागू गरेका छन्। यात्रुहरूको सुरक्षा प्राथमिकतामा राख्दै विभिन्न एयरलाइन्सहरूले सावधानीपूर्वक सेवा विस्तार गरिरहेका छन्।

दुबईस्थित एमिरेट्सले साेमबार गरेकाे अद्यावधिकअनुसार आंशिक रूपमा हवाई क्षेत्र खुलेपछि सीमित उडान सञ्चालन गरिरहेको जनाएको छ।

कम्पनीले यात्रुहरूलाई यात्रा अघि नियमित रूपमा आफ्नो उडान स्थिति जाँच गर्न, इमेल अपडेटहरू हेर्न तथा आवश्यक परे ‘म्यानेज योर बुकिङ’ वा मोबाइल एपमार्फत पुनः बुकिङ गर्न आग्रह गरेको छ। फेब्रुअरी २८ देखि मार्च ३१ भित्र यात्रा गर्ने यात्रुहरूलाई अप्रिल ३० सम्म मिति परिवर्तन वा फिर्ता (रिफन्ड) विकल्प प्रदान गरिएको छ।

फ्लाई दुबईले पनि साेमबारदेखि क्रमिक रूपमा सेवा सञ्चालन पुन: सुरु गरेको जनाएको छ। कम्पनीले प्रभावित यात्रुहरूलाई उडान रद्द वा समय परिवर्तनबारे सिधै जानकारी दिइरहेको छ र पुष्टि नभएसम्म विमानस्थल नजान अनुरोध गरेको छ। यात्रुहरूले ३० दिनभित्र बिना शुल्क मिति परिवर्तन वा पूर्ण फिर्ता लिन सक्ने सुविधा उपलब्ध छ।

यस्तै, अबुधाबीस्थित इतिहाद एयरवेजले सीमित गन्तव्यहरूमा मात्र उडान सञ्चालन गरिरहेको छ भने अन्य अधिकांश व्यावसायिक उडानहरू अझै स्थगित छन्। कम्पनीले यात्रुहरूलाई प्रत्यक्ष सम्पर्कमार्फत उडान स्थिति जानकारी गराइरहेको र मे १५ सम्म निःशुल्क पुनः बुकिङको सुविधा दिएको जनाएको छ। मार्च २१ सम्म अनलाइन चेक–इन सेवा उपलब्ध नहुने भएकाले यात्रुहरूलाई समयमै विमानस्थल पुग्न आग्रह गरिएको छ।

एयर अरेबियाले पनि नियामक स्वीकृतिअनुसार सीमित गन्तव्यहरूमा उडान सुरु गरेको जनाएको छ। यसैबीच, कतार एयरवेजले कतारी हवाई क्षेत्र पूर्ण रूपमा नखुलेसम्म नियमित सेवा पुनः सञ्चालन नगर्ने भए पनि मार्च १८ देखि २८ सम्म सीमित उडान तालिका सार्वजनिक गरेको छ। यात्रुहरूलाई दुई पटकसम्म निःशुल्क मिति परिवर्तन वा टिकट फिर्ताको सुविधा प्रदान गरिएको छ।

समग्रमा, खाडी क्षेत्रका यी मुख्य एयरलाइन्सहरूले यात्रुहरूलाई उडान पुष्टि बिना विमानस्थल नजान, सम्पर्क विवरण अद्यावधिक राख्न र आधिकारिक वेबसाइट वा एपमार्फत पछिल्लो जानकारी लिन आग्रह गरेका छन्। कम्पनीहरूले सुरक्षा मापदण्ड पूरा भएपछि मात्र पूर्ण रूपमा सेवा पुनः सञ्चालन गरिने स्पष्ट पारेका छन्।

हालको अवस्थाले अन्तर्राष्ट्रिय हवाई यात्रामा अझै अनिश्चितता कायम रहेको देखिएको छ, जसका कारण यात्रुहरूले यात्रा योजना बनाउँदा थप सतर्कता अपनाउनुपर्ने भनिएकाे छ।  नेपालमा कतार, एयर अरेबिया, र फ्लाइ दुबईले उडान गर्छन । साेमबार दुबई विमानस्थलमा आक्रमण भएपछि  काठमान्डाै‌का सबै उडान स्थगन भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले साेमबार राति जारी गरेकाे सूचनाअनुसार, कतार एयरवेज, जजीरा एयरवेज, कुबेत एयरवेज , फ्लाई दुबई , नेपाल वायुसेवा निगम र हिमालय एयरवेजले २५ वटा उडान रद्द गरेका थिए ।

कान्तिपुर

Link copied successfully