फलामे डन्डी प्रतिकेजी ८५ रुपैयाँबाट अहिले एक सय रुपैयाँ पुर्याइएको र सिमेण्टमा पनि प्रतिबोरा ५० रुपैयाँसम्म बढाएको महासंघको दाबी छ ।
What you should know
काठमाडौं — नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारलाई अनुरोध गरेको छ । निर्माण उद्योगमा अत्याधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायत निर्माण सामग्रीको मूल्यवृद्धिले व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने भन्दै यस्तो अनुरोध गरेको हो ।
‘विकास निर्माणको सिजनमा इन्धन र निर्माण सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित छ,’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्धन सामग्रीमा भएको भारी मूल्यवृद्धिबाहेक निर्वाचनको मौका छोपेर सिमित आयातकर्ताले ‘कार्टेलिङ’ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको कृत्रिम अभाव सिर्जना गरेको महासंघको दाबी छ ।
महासंघका अनुसार बिटुमिनको अभावले कालोपत्रे गर्न ठिक्क पारेको सडक थप क्षति हुने सम्भावना छ । बुकिङ गर्दाको मूल्यभन्दा अहिले प्रतिलिटर ४० रुपैयाँसम्म मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू दोहोरो पीडामा परेका छन् । पछिल्लो समय भारतले बिटुमिनको निर्यात बन्द गरेका कारण निर्माण उद्योग थप प्रताडित भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनकै माहोलबीच सिमित उद्योगीहरूले फलामे डन्डी र सिमेन्टमा पनि मूल्यवृद्धि गर्दा सरकारी मात्र होइन निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको महासंघको भनाइ छ ।
फलामे डन्डी प्रतिकेजी ८५ रुपैयाँबाट अहिले एक सय रुपैयाँ पुर्याइएको र सिमेण्टमा पनि प्रतिबोरा ५० रुपैयाँसम्म बढाएको महासंघको दाबी छ ।
‘खुल्ला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध हो,’ विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको व्यवस्था गर्न महासंघले नेपाल सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
यस्तै मूल्यवृद्धि स्थिर नभएसम्मका लागि सम्पूर्ण निर्माण कार्य स्थगित गर्न महासंघले अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एकातिर बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्र बैंकबाट जारी हुने मूल्य सूचकाङ्क वास्तविक नहुने भएकाले मूल्य स्थिर नहुँदासम्मको लागि सरकारको तर्फबाट नै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न अनुरोध छ ।’
