बागलुङलाई ‘ट्रान्जिट’ बनाउँदै शे–फोक्सुन्डो र रारा घुम्दै पर्यटक

धेरै अध्ययन गरेर बागलुङको बाटो यात्रा गर्दा छोटो दूरीमा ती गन्तव्यसम्म पुग्न सकिने पत्ता लगाएको उनीहरूले बताए । यात्रा गरेर फर्केपछि उनीहरूले यो मार्गबाट शे–फोक्सुन्डो पुग्न सहज भएको जनाए ।

चैत्र १, २०८२

प्रकाश बराल

Tourists visiting Shey-Phoksundo and Rara, making Baglung a 'transit'

बागलुङ — काठमाडौंको साँखुका सुजन मल्ल अघिल्लो महिना डोल्पाको शे–फोक्सुन्डो र मुगुको रारा ताल घुम्न बागलुङको बाटो आए । एक दिन बसेर उनी र उनको टिम मोटरसाइकलमा रारा हुइँकियो । उनीसँगै आएका निकेश गुरुङ, विपिन गौतम, आयुष थापा, राजदर्शन कटुवाललगायतको टोली पनि बागलुङ हुँदै मध्यपहाडी लोकमार्गको यात्रामा निस्कन पाउँदा निकै खुसी भयो । 

मध्यपहाडी लोकमार्गको बाटो भएर उनीहरू पहिलो पटक यात्रा गर्दै पर्यटन यात्रामा निस्केका थिए । धेरै अध्ययन गरेर बागलुङको बाटो यात्रा गर्दा छोटो दूरीमा ती गन्तव्यसम्म पुग्न सकिने पत्ता लगाएको उनीहरूले बताए । यात्रा गरेर फर्केपछि उनीहरूले यो मार्गबाट शे–फोक्सुन्डो पुग्न सहज भएको जनाए । 

छोटो समयमा डोल्पा र मुगु घुमेर उनीहरू यही बाटो फर्केका हुन् । यो यात्रामा बागलुङ ‘ट्रान्जिट’ बनाएर फर्केपछि अन्य साथीलाई पनि बताएको उनीहरूले सुनाए । उनकै नाम लिएर अन्य दुईवटा समूह होटल खोज्दै आएको यहाँका व्यवसायी निलेश राजभण्डारीले सुनाए ।

मध्यपहाडी लोकमार्ग कर्णालीका जिल्ला छोएर सुदूरपश्चिम पुगेपछि शे–फोक्सुन्डो र रारा तालसम्म पुग्नेले पनि यो मार्ग रोज्न थालेका हुन् । ‘बागलुङ भएर रारा र शे–फोक्सुन्डो जान सकिन्छ भन्ने मलाई समेत थाहा थिएन, आएका पर्यटकले सोध्दा पनि अचम्म लाग्थ्यो,’ होटल संघ बागलुङका अध्यक्ष राजभण्डारीले भने, ‘अहिले धेरै पर्यटक यहाँ आएर बस्ने र यात्रा तय गर्ने गरिरहेका छन् ।’मोटरसाइकल र जिप रिजर्भ गरेर आउनेहरूले बागलुङलाई पहिलो बसाइ र घुम्ने स्थान बनाएको राजभण्डारीको भनाइ छ । 

राजधानीदेखि चितवन, हेटौंडासहित पूर्वका पर्यटकहरूले पश्चिम यात्रा गर्दा मध्यपहाडी लोकमार्गलाई रोज्न थालेका छन् । सार्वजनिक बसको यात्रा गर्नेले समेत बागलुङ हुँदै मध्यपहाडीको बाटो रुकुम र जाजरकोट जाने गरेका हुन् । मुक्तिनाथ जाने तथा उपल्लो मुस्ताङ हिँडेका यात्रीले समेत बागलुङलाई एक रातको बसाइमा जोड्न थालेका छन् । 

बागलुङ पर्यटन विकास समितिले पनि ‘मुस्ताङको गेट’ भन्दै बागलुङबाट रिजर्भ गर्न खोज्नेलाई जिप र बसको सवारी व्यवस्थापनसमेत गरिदिन थालेको छ । बागलुङ बजारसम्म सार्वजनिक यातायातमा आइपुगेकाहरूले पनि ढोरपाटन, मुस्ताङ र कर्णालीका धेरै स्थानको भ्रमणमा बागलुङलाई प्रस्थान बिन्दुका रूपमा लिन थालेको बताए । यहाँका होटलले ती स्थानसम्मको नक्सासमेत लेखेर राखिदिएका छन् ।

पर्यटक आउने क्रम बढ्दा बागलुङ बजार, गलकोट र बुर्तिवाङसम्म दर्जनौं होटलसमेत थपिइरहेका छन् । पछिल्लो चार वर्षमा जिल्लाभित्र आधा दर्जन ठूला होटल थपिएका छन् भने दर्जनौं मझौला होटल पनि खुलेका छन् । ती होटल पनि स्तरीय बन्दै गएपछि पर्यटक भरिन थालेका छन् । समूहमा आएकादेखि छिटफुट आउने झन्डै ३ हजार पर्यटक बागलुङ बजारमा सहजै राख्न सकिने राजभण्डारी बताउँछन् । यहाँ अझै केही होटल निर्माणाधीन अवस्थामा छन् ।

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएपछि पोखरा बस्नेहरूले पनि बागलुङलाई गन्तव्य बनाउन थालेको जनाए । आमनागरिकमा घुम्ने संस्कृतिको विकास भएकाले बागलुङ पर्यटकहरूको ‘ट्रान्जिट’ बन्दै गएको होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए । ‘पछिल्लो समय युवाहरूमा घुम्ने संस्कृति धेरै विकास भएको छ, त्यसमा बागलुङ कालिका र पञ्चकोट तथा ढोरपाटनले थप आकर्षण बढाएको छ,’ उनले भने, ‘बागलुङका केही गन्तव्य घुम्न यहाँ बास बस्ने गरी आउनेहरू बढेका छन् ।’

ढोरपाटन र बुकी घुम्ने पनि बढेका छन् । उनीहरूले पनि बागलुङ बजारलाई पहिलो गन्तव्य बनाउन थालेका हुन् । ढोरपाटन सदरमुकाम बागलुङ बजारदेखि १ सय २६ किमि पश्चिममा पर्छ । ढोरपाटन सिकार आरक्षको तथ्यांकअनुसार गत वर्ष १८ हजार पर्यटक आएकामा यस वर्ष गत असार/साउनमै ३० हजार पर्यटकले भ्रमण गरिसकेका छन् ।

मध्यपहाडी लोकमार्गले कर्णालीका बासिन्दाको राजधानीलगायतको यात्रासमेत छोटो बनाएको छ । बागलुङदेखि सिधै रुकुम, जाजरकोट, दैलेख, डोल्पातर्फ जान सकिने भएपछि तराई झर्ने झन्झट हराएको छ । ती स्थानबाट सिधै राजधानीका लागि बागलुङ हुँदै मध्यपहाडी लोकमार्गमा नियमित रात्रि तथा दिवा बस सञ्चालनमा छन् । रिजर्भ गरेर हिँड्नेले पनि यो खण्डलाई उपयोगमा ल्याएका हुन् । बागलुङमा बसेका यात्री अर्को दिन सिधै रुकुम पश्चिम वा जाजरकोटसम्म पुगेर बस्न सक्छन् । कतिपयले बागलुङबाट एकै दिनमा डोल्पा पुगेर बस्ने गरेको पनि बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully