नयाँ सरकार बन्दैछ । अब बन्ने सरकारले अर्थतन्त्र चलायमान बनाउनुपर्छ । त्यसका लागि ऐन कानुन अब कार्यान्वयनयोग्य बनाउनुपर्छ । अब नेपाली दाजुभाइलाई नेपालमै काम गर्ने वातावरण बनाइनुपर्छ : अध्यक्ष सिंह
काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक ५० हजारसम्म हुनसक्ने बताएका छन् । नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरुका लागि अवसरसँगै पारिश्रमीक समेत राम्रो रहेको सिंहको भनाइ छ ।
पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमिक महिनामै ५० हजारसम्म हुने गरेको छ । अहिले पुलका काम गर्ने अधिकांश भारतीयहरू छन् । उनीहरुले अर्बौं रुपैयाँ यसरी नै पारिश्रमिक बुझेर भारतमा लैजाने गरेका छन् ।
सिंहका अनुसार निर्माण क्षेत्रमा मात्रै करिब ७ लाख भारतीय नेपालमा छन् । सरकारले निर्माणसम्बन्धी काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उनले बताए ।
‘नयाँ सरकार बन्दैछ । अब बन्ने सरकारले अर्थतन्त्र चलायमान बनाउनुपर्छ । त्यसका लागि ऐन कानुन अब कार्यान्वयनयोग्य बनाउनुपर्छ । अब नेपाली दाजुभाइलाई नेपालमै काम गर्ने वातावरण बनाइनुपर्छ । कम्तीमा ७ लाख भारतीय मजदुर अहिले नेपालमा छन् । उनीहरूलाई प्रतिस्थापन गर्नुपर्छ,’ उनले भने ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकसय दिने रोजगारीको घोषणा गरेपनि त्यो कागजमै सीमित भइरहेको सिंहको भनाइ छ । उनका अनुसार अब आगामी सरकारले व्यवहारिक शिक्षा लागू गर्दै नेपालमै श्रम गर्ने वातावरण समेत तयार गर्न जरुरी छ ।
