कतार एयरवेजको सीमित उडान तालिका सार्वजनिक, मंगल र बुधबार काठमाडौं-दोहा उडान हुने

कतार एयरवेजले सीमित उडान तालिका सार्वजनिक गर्दै १७ र १८ मार्च (मंगलबार र बुधवार) नेपालसहित केही दर्जन अन्तर्राष्ट्रिय गन्तव्यका उडान सञ्चालन गर्ने जनाएको छ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Qatar Airways' limited flight schedule announced, Kathmandu-Doha flights to operate on Tuesday and Wednesday

काठमाडौँ — काठमाडौं -कतार एयरवेजले सीमित उडान तालिका सार्वजनिक गर्दै १७ र १८ मार्च (मंगलबार र बुधवार) नेपालसहित केही दर्जन अन्तर्राष्ट्रिय गन्तव्यका उडान सञ्चालन गर्ने जनाएको छ। 

यस तालिकाअनुसार नेपालका यात्रुका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(काठमाडौं) र दोहा बीचको उडान पनि समावेश गरिएको छ। १६ दिनअधि इरानमा हवाई आक्रमण भएपछि कतार लगायतका खाडी गन्तव्यमा संसारभरका नियमित उडानमा रोक लगाइएको थियो । 

कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार १७ मार्चमा दोहाबाट काठमाडौं तथा काठमाडौंबाट दोहा दुवै दिशामा उडान सञ्चालन हुनेछ। यस्तै १८ मार्चमा पनि काठमाडौंबाट दोहातर्फ उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

कतारको हवाई मार्ग अस्थायी रूपमा प्रभावित भएपछि नियमित उडान तालिका दुई साता यता अवरुद्ध भएका थिए । यस्तो अवस्थामा यात्रुहरूको यात्रालाई निरन्तरता दिन सीमित उडान मार्ग प्रयोग गर्दै केही गन्तव्यमा मात्र उडान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

एयरलाइन्सका अनुसार यी उडानहरू नियमित व्यावसायिक उडान पूर्ण रूपमा पुनः सुरु भएको संकेत नभई प्रभावित यात्रुहरूको व्यवस्थापनका लागि मात्रै सञ्चालन गरिएका विशेष उडान हुन्। यात्रुहरूलाई पुष्टि भएको टिकटबिना विमानस्थल नआउन पनि अनुरोध गरिएको छ।

कतार एयरवेजले यात्रुहरूको सुरक्षा र सुविधा नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै थप जानकारीका लागि आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत उडान स्थिति जाँच गर्न आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully