कतारको दोस्रो ‘ड्रिमलाइनर’ पनि काठमाडौंबाट सिधै लन्डन उड्दै

कतार एयरवेजको काठमाडौं स्टेसनका एक वरिष्ठ अधिकारीका अनुसार मध्यपूर्व क्षेत्रमा जारी सैन्य तनावका कारण कतारी हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धले दोहा हुँदै नियमित उडान सम्भव नभएपछि कम्पनीले यो वाइडबडी विमानलाई सिधै युरोपेली गन्तव्यतर्फ पठाउने निर्णय गरेको हो।

फाल्गुन २९, २०८२

सुरज कुँवर

Qatar's second 'Dreamliner' also flying directly from Kathmandu to London

काठमाडौँ — कतार एयरवेजको अर्को एउटा बोइङ ७८७ ‘ड्रिमलाइनर’ विमान, जुन विगत १४ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो, आज राति लन्डनतर्फ उड्ने तयारीमा रहेको छ। विमानले दोहास्थित आफ्नो मुख्य हबलाई बाइपास गर्दै साउदीको रियाद हुँदै लन्डन उडान गर्नेछ।

कतार एयरवेजको काठमाडौं स्टेसनका एक वरिष्ठ अधिकारीका अनुसार मध्यपूर्व क्षेत्रमा जारी सैन्य तनावका कारण कतारी हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धले दोहा हुँदै नियमित उडान सम्भव नभएपछि कम्पनीले यो वाइडबडी विमानलाई सिधै युरोपेली गन्तव्यतर्फ पठाउने निर्णय गरेको हो।

नागरिक उड्ययन प्राधिकरणका अनुसार, यो उडान ननसेड्युल्ड चार्टर सेवा का रूपमा सञ्चालन हुनेछ। पाँच दिनअघि कतार एयरवेजकै अर्को बोइङ ७८७–९ ‘ड्रिमलाइनर’ विमानले पनि यही ढाँचामा काठमाडौंबाट सिधै लन्डन उडान गरेको थियो। उक्त उडानमा ३११ यात्रु सवार भएका थिए ।

यो चार्टर उडानले लन्डन जानुअघि रियादमा प्राविधिक अवतरण (टेक्निकल ल्यान्डिङ) गर्नेछ, जहाँ इन्धन भर्ने र चालकदल परिवर्तन गर्ने व्यवस्था गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानलाई साउदी अरब हुँदै उडान भर्न तथा शनिबार पुनः काठमाडौं फर्किन अनुमति प्रदान गरेको छ।

कतार एयरवेजको काठमाडौं कार्यालयका अनुसार विमान लन्डनबाट यात्रु बिना नै खाली अवस्थामा काठमाडौं फर्किनेछ। वर्तमान परिस्थितिमा काठमाडौंमा रोकिएका यात्रुहरूको व्यवस्थापनका लागि यो उद्धार स्वरूपको चार्टर उडान सञ्चालन गरिएको हो। चार्टर उडान भएकाले नयाँ टिकट बिक्री गरिएको छैन। यसअघि टिकट खरिद गरिसकेका यात्रुहरूलाई अतिरिक्त शुल्क नलिई पुनः तालिका मिलाएर प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

दोहाको हवाई क्षेत्रमा अझै प्रतिबन्ध जारी रहेकाले कम्पनीले विमानलाई खाडीका अन्य विमानस्थलमा पठाउने सट्टा पुनः काठमाडौंमै फर्काएर आवश्यक परे थप चार्टर उडान सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। दोहास्थित मुख्य हब पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल कम्पनीले विभिन्न विमानस्थलमा रोकिएका विमान र यात्रु व्यवस्थापन गर्न दोस्रो गन्तव्यबाट तेस्रो गन्तव्यतर्फ उडान सञ्चालन गर्ने रणनीति अपनाइरहेको बताइएको छ।

यस चार्टर उडानमा विशेषगरी युरोपेली देशका नागरिक र काठमाडौंमा रोकिएका कतार एयरवेजका वैध टिकटधारी यात्रुहरूलाई प्राथमिकता दिइएको छ। लामो दूरीको उडान र हवाई मार्गको सुरक्षालाई ध्यानमा राख्दै विमानले रियादमा इन्धन भर्ने तथा चालकदल परिवर्तन गर्नेछ।

गत फेब्रुअरी २८ मा इरानमा भएको सैन्य आक्रमणपछि मध्यपूर्वका केही देशहरूले आफ्नो हवाई क्षेत्रमा सुरक्षा सतर्कता बढाएका थिए। त्यसपछि कतारमा अस्थायी रूपमा गैरसैनिक उडानमा लगाइएको प्रतिबन्धका कारण कतार एयरवेजका दुईवटा वाइडबडी विमान काठमाडौंमै रोकिएका थिए।

विमानस्थलका अधिकारीहरूका अनुसार कतार एयरवेजले हाल आफ्नो अन्तर्राष्ट्रिय नेटवर्कका सीमित उडानहरू मात्र सञ्चालन गरिरहेको छ। दोहास्थित हब पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल कम्पनीले विभिन्न विमानस्थलमा रोकिएका आफ्ना विमानहरूलाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग प्रयोग गरेर अन्य गन्तव्यतर्फ पठाइरहेको छ। यसअघि सोमबार अर्को कतार ‘ड्रिमलाइनर’ विमानले ३११ यात्रु बोकेर काठमाडौंबाट लन्डन उडान गरेको थियो।

आजको उडानपछि काठमाडौंमा रोकिएका कतार एयरवेजका केही यात्रुहरूलाई राहत पुग्ने अपेक्षा वायुसेवाका कर्मचारीले गरेको छ।

हाल मध्यपूर्व क्षेत्रमा तनाव अझै कायम रहेकाले क्षेत्रीय हवाई क्षेत्र पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छैन। यूएइ, कतार र कुबेत जस्ता केही देशहरूले आंशिक रूपमा आफ्नो आकाश खुला गरे पनि उडान सञ्चालन अझै सीमित छ। यसका कारण धेरै अन्तर्राष्ट्रिय उडानहरू रुट परिवर्तन गरेर वा  ढिलाइ तथा रद्द भइरहेका छन्।

एयरलाइन्सहरूले उडान सुरक्षालाई ध्यानमा राख्दै द्वन्द प्रभावित क्षेत्रभन्दा बाहिरका वैकल्पिक हवाई मार्गहरू प्रयोग गरेर उडान सञ्चालन गरिरहेका छन्। मध्यपूर्वको आकाश आंशिक रूपमा खुला भए पनि अवस्था अझै अस्थिर रहेको र उडान सञ्चालन पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने अनुमान गरिएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully