१० दिनदेखि काठमाडौंमा रोकिएको कतार एयरवेजको विमान आज राति लण्डन उड्दै

उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण १० दिनदेखि नेपालमै रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ ।

फाल्गुन २५, २०८२

सुरज कुँवर

Qatar Airways plane, which has been stuck in Kathmandu for 10 days, is flying to London tonight.

What you should know

काठमाडौं — काठमाडौंमा १० दिनदेखि रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान आज राति १० बजे लण्डन उड्ने भएको छ । उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण नेपालमा रोकिएको उक्त विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ ।

संयुक्त राज्य अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त सैन्य हमला गरेपछि खाडी क्षेत्रका ९ मुलुकमा हवाइ सुरक्षा जोखिम बढेको छ । त्यसपछि कतारले आफ्नो आकाशमा गैरसैनिक उडानमा प्रतिबन्ध लगाएपछि कतार एयरवेजका दर्जनौं विमान विश्वका विभिन्न विमानस्थलमा रोकिएका थिए । नेपालमा पनि त्यही दिन कतारका २ वाइडबडी विमान र ५ सेट चालकदल काठमाडौंमै रोकिएका थिए ।

दोहास्थित कतार नागरिक उड्डयन प्राधिकरणले कतारी आकाशमा लगाएको प्रतिबन्ध अझै पनि पूर्ण रूपमा खुला नगरेपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको हो । इरानसहित खाडीका केही मुलुकबाट सम्भावित जवाफी हवाई तथा ड्रोन आक्रमणको जोखिम बढेपछि गैरसैनिक उडानको सुरक्षालाई ध्यानमा राख्दै खाडीका नागरिक उड्डयन कार्यालयहरूले प्रतिबन्ध कायमै राखिरहेका छन् । 

यसैबीच, कतार एयरवेजले काठमाडौंमा रहेको वाइडबडी विमानलाई साउदी अरेबियाको रियाद हुँदै लण्डन पठाउने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उक्त विमानका लागि नन–सेड्युल्ड प्यासेन्जर चार्टर उडानको अनुमति दिएको छ । यो विमानमा काठमाडौंमा रोकिएका ३११ यात्रु सवार हुनेछन् । कतार एयरवेजका अनुसार काठमाडौंबाट लण्डन पुग्न करिब १५ घण्टा १० मिनेट लाग्नेछ । तर, विमान रियादमा करिब २ घण्टा प्राविधिक अवतरण (टेक्निकल स्टप) गर्नेछ । त्यहाँ इन्धन भर्ने, चालक दल परिवर्तन गर्ने र यात्रुका लागि क्याटरिङ सेवा राखिनेछ ।

'यो उडानका लागि नयाँ टिकट बिक्री गरिएको छैन । काठमाडौंमै रोकिएका कतार एयरवेजका यात्रुलाई प्राथमिकता दिएको छ,'  कम्पनी स्रोतले भन्यो । ती यात्रुमध्ये करिब ९० प्रतिशत बेलायती पासपोर्टवाहक रहेको स्रोतको भनाइ छ । लण्डन पुगेपछि उक्त विमान पुनः काठमाडौं फर्किने छैन । हाल कतार एयरवेजले दोहाबाट प्रभावित हवाइमार्गहरू छलेर सीमित संख्यामा मात्र उडान गरिरहेको छ । दोहाबाहिर रोकिएका आफ्ना विमानलाई भने दोस्रो गन्तव्यबाट तेस्रो गन्तव्यमा पठाउने रणनीति अपनाएको कम्पनीले जनाएको छ ।

काठमाडौंमा रोकिएको अर्को कतार एयरवेजको विमानलाई पनि छिट्टै फर्काउने तयारी भइरहे तर मिति भने तय भएको कम्पनीका अर्का कर्मचारीले जानकारी दिए । कतार एयरवेजले आइतबार जारी गरेको सूचनाअनुसार कतारी आकाश बन्द भएकाले दोहा आउने जाने नियमित उडान अस्थायी रूपमा निलम्बित छ । कतारको आकाश पूर्ण रूपमा सुरक्षित भएको घोषणा कतार नागरिक उड्डयन प्राधिकरणले गरेपछि मात्र नियमित उडान पुनः सञ्चालन हुने कम्पनीकाे भनाइ छ । यद्यपि, प्राधिकरणबाट सीमित हवाइ मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन कतार एयरवेजले सीमित उडान तालिका सञ्चालन गर्ने जनाएको छ ।

आइतबार दोहाबाट सियोल, मस्को, लण्डन (हिथ्रो), भारकाो दिल्ली, म्याड्रिड, इस्लामावाद, बेइजिङ, पर्थ, नैरोबी र इस्तानबुलतर्फ उडान सञ्चालन गरेको छ । त्यस्तै, म‌ंगलबार दोहाबाट काइरो, लण्डन (हिथ्रो), जेद्दा, मनिला, मस्कट, इस्तानबुल, मुम्बई, दिल्ली, नैरोबी, इस्लामाबाद, म्याड्रिड, फ्रान्कफर्ट, कोलम्बो र मिलानलगायत गन्तव्यमा उडान सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । यसैगरी, ती गन्तव्यबाट दोहा आउने सीमित उडानहरू पनि क्रमशः म‌ंगलबार र बुधबार सञ्चालन गरिने कतार एयरवेजले जनाएको छ ।

सुरज

Link copied successfully