नेपाली उत्पादन युरोपमा विस्तार गर्न जर्मनीमा ‘ट्रेडिङ हब’ खुल्दै

नेपाली उत्पादनहरूको युरोपेली बजारमा पहुँच विस्तार र द्विपक्षीय आर्थिक संलग्नतालाई सुदृढ बनाउन ‘ट्रेडिङ हब’ स्थापना गर्ने विषयमा पनि छलफल भएको हो ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

'Trading Hub' opening in Germany to expand Nepali products to Europe

काठमाडौं — युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न तथा नेपाल र जर्मनीबीच द्विपक्षीय आर्थिक संलग्नतालाई सुदृढ बनाउन ‘ट्रेडिङ हब’ स्थापना गर्ने तयारी भएको छ ।

फिनल्याण्ड दूतावास, नेपाल र नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजीसीसीआई) बीचको बैठकमा नेपाल र फिनल्याण्ड तथा अन्य युरोपेली संघका सदस्य राष्ट्रहरूबीच व्यापार र आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने अवसरको अन्वेषणबारे छलफल गरिएको छ ।

बैठकमा नेपाली उत्पादनहरूको युरोपेली बजारमा पहुँच विस्तार र द्विपक्षीय आर्थिक संलग्नतालाई सुदृढ बनाउन ‘ट्रेडिङ हब’ स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।

उक्त अवसरमा नेपाल र फिनल्याण्ड तथा अन्य युरोपेली संघका सदस्य राष्ट्रबीच व्यापार र आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने अवसर अन्वेषणबारे समेत छलफल गरेको थियो । 

छलफलमा फिनल्याण्डका राजदूत पेत्रि पुहक्काले एनजीसीसीआईको कार्यकारी समितिसँगको बैठकमा २ देशबीचको व्यापार र आर्थिक संलग्नता सानो इकाइमा रहेको बताए ।

उनले फिनल्याण्ड सरकारले जलवायु परिवर्तन, डिजिटलाइजेशन, ई–गभर्नेन्स र विकास सहकार्यजस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको बताए । 

एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भने, ‘एनजीसीसीआई नेपालको पुरानो द्विपक्षीय चेम्बर हो । यसले नेपाल र फिनल्याण्डबीचको व्यापार तथा आर्थिक सम्बन्ध प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’ फिनल्याण्ड युरोपेली संघभित्र महत्वपूर्ण र सम्भावनाशील देश भएकोले व्यापार सम्बन्ध मजबुत बनाउन इच्छुक रहेको उनले बताए ।

नेपालले फिनल्याण्डमा हस्तकला, ऊनी कार्पेट, रेडिमेड गार्मेन्ट्स, ऊनी सामान, काठ र बाँसका उत्पादनहरू निर्यात गर्छ । फिनल्याण्डबाट टेलिकम्युनिकेशन उपकरण, मेसिनरी पार्ट्स, औद्योगिक कच्चा पदार्थ, मल र इलेक्ट्रिकल सामानहरू आयात हुने गरेको छ । 

फिनल्याण्ड दूतावासकी विकास सहयोग प्रमुख सारा एलानेनले व्यापार र आर्थिक सहकार्य सुदृढ बनाउन चासो व्यक्त गर्दै, डिजिटलाइजेशन र जलवायु परिवर्तनका पहलहरूमा फिनल्याण्डको विकास सहयोगबारे जानकारी गराएकी थिइन ।

कान्तिपुर

Link copied successfully