बुधबार बसेको महासंघ पदाधिकारीको बैठकले ५ चैतमा कार्यकारणी समितिको बैठक डाक्ने र सोही बैठकबाट केन्द्रीय महासंघ र प्रदेश महासंघको साधारण सभाको मिति तय गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको मिति तोक्न ५ चैतमा कार्यकारिणी समितिको बैठक डाकिएको छ ।
बुधबार बसेको महासंघ पदाधिकारीको बैठकले ५ चैतमा कार्यकारणी समितिको बैठक डाक्ने र सोही बैठकबाट केन्द्रीय महासंघ र प्रदेश महासंघको साधारण सभाको मिति तय गर्ने निर्णय गरेको हो ।
यसअघि २४ माघदेखि २ फागुनसम्म विभिन्न मितिमा सातवटै प्रदेश महासंघको साधारणसभा गर्ने तय भएको थियो । तर, निर्वाचन आचार संहिताका कारण उक्त मितिमा साधारणसभा नगर्न निर्वाचन आयोगले अनुमति दिएन । यसकारण रोकिएको साधारणसभा कहिले गर्ने भन्नेबारेमा निर्णय गर्न महासंघले कार्यकारिणी समितिको बैठक डाकेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
‘बुधबार पदाधिकारीको बैठक बस्यो, त्यसले चैत ५ मा कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ अध्यक्ष ढकालले भने, ‘त्यही बैठकले प्रदेश र केन्द्र महासंघको साधारणसभाको मिति तोक्छ ।’
महासंघको विधानमा चैत २८ र २९ मा केन्द्रीय महासंघको साधारण सभा गर्नुपर्ने व्यवस्था छ । केन्द्रको साधारणसभाको कम्तीमा एक महिनाअघि प्रदेशको साधारणसभा हुनुपर्छ । यसरी केन्द्र र प्रदेश महासंघको साधारणसभाका लागि कम्तिमा २१ दिन अघि सूचना जारी गर्नुपर्ने व्यवस्था विधानमा छ । यसका आधारमा चैत ५ मा बस्ने कार्यकारी समितिको बैठकले सूचना निकाल्ने २१ दिनको समय दिएर प्रदेश महासंघको मिति तोक्ने छ । त्यसको एक महिनापछि केन्द्रको साधारण सभा हुने गरी मिति तय हुने स्रोतको दाबी छ ।
विधानमा चैत २८ र २९ मा केन्द्रको साधारणसभाको मिति तोकिएपनि बेला बेलामा पछि सर्दै आएको छ । पछिल्लो समय कोभिडका कारण चैतमा हुनुपर्ने साधारणसभा मंसिरमा सरेको थियो । यसपटक भने वैशाखभित्रै सक्ने गरी मिति तोक्ने तयारी भएको स्रोतको दाबी छ ।
यसपटक महासंघमा केन्द्र र प्रदेश पदाधिकारीको निर्वाचन पनि हुँदैछ । यसकारण पनि महासंघको साधारणसभालाई चासोका रूपमा हेरिएको छ । पदाधिकारीका प्रत्याशीहरू पनि समूह नै बनाएर निर्वाचन प्रतिस्पर्धामा लागिसकेका छन् ।
