उपभोक्ताले ग्यास जगेडा राख्दा बजारमा अभाव देखिएको प्रशासनको भनाइ छ ।
भक्तपुर — उपभोक्ताले ग्यास नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले डिपो र बिक्री केन्द्रहरुमा अनुगमन गरेको छ ।
प्रशासन कार्यालयको नेतृत्वमा भक्तपुर उद्योग तथा वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग संघ, राष्ट्रिय उपभोक्ता हित मञ्च तथा पत्रकार महासंघ भक्तपुरको संयुक्त टोलीले भक्तपुरका व्यासी, कमलविनायक, जगाती र सूर्यविनायकमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांंश डिपोमा नियमित ग्यास आइरहेपछि खाना पकाउने ग्यासको माग धेरै रहेकाले बजारमा ग्यासको अभाव देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उपभोक्ताले ग्यास जगेडा राखेकै कारण बजारमा ग्यास अभाव भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले बताए । उनका अनुसार खाडी मुलुकमा चर्किएको द्वन्द्वका कारण उपभोक्ताहरुमा ग्यास अभाव हुने संन्त्रास फैलिएका कारण घरघरमा स्टक राख्दा बजारमा ग्यास अभाव देखिएको हो । बजारमा ग्यास अभावको हल्ला धेरै फैलिएको उनको भनाइ छ ।
अहिले प्रत्येक ग्यास डिपोमा कम्तीमा एक सय जनाले नाम टिपाएको व्यापारी पुर्णबहादुर त्वातीले बताए । सातामा ६ सय वटा ग्यास आए पनि उपभोक्तलाई समयमै दिन नसकिएको उनको भनाइ छ । उपभोक्ता भने नाम टिपाए पनि आफ्नो पालै आउन नसकेको गुनासो गरिरहेका छन् ।
