पर्यटनमा सम्भावना खोज्दै गुल्मीका स्थानीय सरकार

जिल्लाका १२ स्थानीय तहमध्ये ८ पालिकाद्वारा पर्यटन विकासको तथ्य तथ्यांक राखेर विकासका काम द्रुत गतिमा ।

फाल्गुन २७, २०८२

गगनशिला खड्का

Gulmi local government looking for potential in tourism

What you should know

गुल्मी — जिल्लाका १२ मध्ये ७ स्थानीय तह अहिले पर्यटन विकासका निम्ति पर्यटकीय संरचना निर्माण र ग्रामीण पर्यटनको विस्तारमा जुटेका छन् । सत्यवती गाउँपालिकादेखि मदाने, मालिका र धुर्कोट गाउँपालिकासम्मले आन्तरिक र बाह्य पर्यटन विस्तारका निम्ति काम गरिरहेका छन् ।

धुर्कोटलाई घुम्न लायक गन्तव्य बनाउन गाउँपालिकाले पछिल्ला ९ वर्षमा ९ करोडभन्दा धेरै रकम संरचनाहरू निर्माणमा खर्चिएको छ । गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पर्यटकीय गन्तव्यका लागि विभिन्न संरचना निर्माण गरिएको बताए । पर्यटकीय क्षेत्रको विकास र विस्तार सुरु भएपछि यहाँको बिचित्र गुफा पनि आकर्षणको केन्द्र बन्न थालेको छ । गाउँपालिकाका अध्यक्ष पोखरेलले भने, ‘पहिला घुम्नकै लागि भनेर विचित्र गुफामा मात्र एकाध मानिस आउँथे । अहिले यहाँ घुम्न मात्रै वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउँछन् ।’ 

धुर्कोटमा रहेको विचित्र गुफा, चौबीसे दरबार धुर्कोट, सहिद पार्क, जनयुद्ध पार्क, धुर्कोट ग्रेट वाल एवं झल्याकोटले पनि पर्यटक भित्र्याइरहेका छन् । यी ठाउँमा सदरमुकामबाट आधा घण्टाको यात्रामा पुग्न सकिन्छ । ‘संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा हामीले पर्यटकीय गन्तव्यका लागि विभिन्न संरचना बनाएका छौं,’ गाउँपालिका अध्यक्ष पोखरेल भन्छन्, ‘पहिला घुम्नकै लागि भनेर विचित्र गुफामा मात्र फाट्टफुट्ट मानिस आउने ठाउँमा अहिले यहाँ घुम्न मात्रै वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् ।’ धुर्कोटले शैक्षिक पर्यटनका लागि धुर्कोट ५ मा शैक्षिक संग्रहालयसमेत निर्माण गरेकाले अब शैक्षिक पर्यटक बढ्ने पालिका अध्यक्ष पोखरेलको भनाइ छ ।Gulmi local government looking for potential in tourismगुल्मीको मालिका गाउँपालिकामा निर्माण गरिएको मालिका पिसपार्क ।

सत्यवती गाउँपालिकाको थाप्लेमा रहेको घना जंगलदेखि भार्सेमा निर्मित संरचना पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् । साबिक लुम्बिनी अंचलको सबैभन्दा अग्लो स्थान थाप्ले आसपासको यो क्षेत्रमा वडा नं ३ मा पर्ने बुढी सत्यवती, हिले सिद्धबाबा, हचिङकोट दरबार, मगर संग्रहालय र कहिल्यै रुखका पात नझर्ने बराही ताल तथा बौद्ध स्तुपा पनि भएका कारण घुम्न लायक रहेको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुको भनाइ छ ।

‘भौगोलिक विकटताका कारण पहिला पहिला अनिवार्य कामका लागि आउन पनि कहर बन्ने गरेको सत्यवती र भार्से क्षेत्रमा अचेल मानिसहरू घुम्नकै लागि रहरले आउँछन्,’ उपाध्यक्ष तरामुले भनिन्, ‘बुढी सत्यवती क्षेत्र र भार्से क्षेत्रमा घुमेर रानीवन ‘होमस्टे’ पाहुनाघरमा बस्न आउनेहरूको संख्या दिनहुँ बढ्दो छ ।’ सत्यवती नेपाल पर्यटन बोर्डले सूचीकरण गरेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक हो । वडा नं १ को कालिगण्डकी तटमा शालिकग्राम पाउने र रुद्रवेणीस्थित राममन्दिरमा लाखौं शालिग्राम एकैपटक दर्शन गर्नसमेत धार्मिक पर्यटक आउने गर्छन् । 

सत्यवती–८ भार्सेको पुरानो मगर बस्तीमा ब्रिटिस र भारतीय लाहुरेहरूका आकर्षक बस्ती, देउरालीको बौद्ध स्तुपा, दबुङको भ्युटावर, कालिका मन्दिर, छत्र मन्दिर, गुफा, गोरखा ग्यालरी (संग्रहालय), भुरे टाकुरे राजाको राजदरबार झुलेनी, अर्कुल दरबार क्षेत्र, अगरउडको खेती, किबी खेती र सुन्तला खेतीका फर्महरू, पुराना तामाखानी निकालेका सुरुङहरू लगायत हेर्नका लागि र विश्वयुद्ध तथा खानीको अध्ययन अनुसन्धानका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । 

घुम्न र अध्ययन गर्न आउनेहरूलाई लक्षित गरेर स्थानीयले २०७५ सालदेखि होमस्टे सञ्चालन गरेका छन् । पछिल्ला वर्षमा होमस्टेमा बस्ने पर्यटकको चाप रहेको होमस्टेकी अध्यक्ष गंगामाया दर्लामीले बताइन् । ‘हिउँदमा लगभग दैनिक १०/१५ जनाका दरले आउनुहुन्छ, बर्खामा अलि कम हुन्छ,’ दर्लामीले भनिन्, ‘गएको दसैं तिहारमा त पाहुनाको ओइरो नै लाग्यो ।’

मगर समुदायले सञ्चालन गरको होमस्टेमा गुल्मीसहित पाल्पा, रूपन्देही, बाग्लुङ, पर्वत, काठमाडौंलगायतबाट मानिसहरू आउने गरेको उनको भनाइ छ । पाहुनालाई लोकल कुखुरा तथा खसी, बोकाको मासु, कोदाको ढिँडो, सिस्नो, बाँकेको सिन्की, कालो भट्ट, मकै र फापरको रोटी खुवाउने होमस्टेमा सालैजो, सोरठी, कृष्ण चरित्र र ठाडो भाकाका गीत र नाच पनि देखाउने दर्लामीको भनाइ छ । Gulmi local government looking for potential in tourismगुल्मीको सत्यवती गाउँपालिकाको भार्सेमा अवस्थित रानीवन होमस्टे पाहुनाघर ।

सत्यवतीको पर्यटन विकासका लागि गाउँपालिकाले संघ तथा प्रदेशसँगको समन्वयमा करिब ३ करोड खर्चेर विभिन्न पूर्वाधार निर्माण गरेको गाउँपालिका उपाध्यक्ष तरामुले बताइन् । यसका साथै लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको अगुवाइमा गोरखा ग्यालरी निर्माण भएको छ भने भार्सेमा जन्मेर वैदेशिक रोजगारीका सिलसिलामा बाहिर बसोवास गर्ने भार्सेबासीहरूले गत वर्ष डेढ करोडभन्दा बढी लागतमा बौद्ध स्तूप, भ्यु प्वाइन्ट, मनोरञ्जन स्थल, पिकनिक स्थल, लभ चिह्न, टिकटक लोगो लगायतका संरचना निर्माण गरिदिएका छन् ।

‘गत वर्ष देश विदेशमा रहेका एक दर्जन मूर्तिकारहरूले सत्यवती क्षेत्रका गुराँसका मुढामा आकर्षक मूर्ति कुँदेर झनै आकर्षण थपिदिएका छन्,’ उपाध्यक्ष तरामुले भनिन्, ‘त्यसले पनि यस क्षेत्रको महत्त्व बढाएको छ ।’ समग्रमा सत्यवतीका धार्मिक तथा पर्यटकीय स्थलमा वर्षमा ५० हजारभन्दा धेरैले भ्रमण, अध्ययन, अवलोकन गर्ने उनको भनाइ छ । 

यद्यपि धार्मिक पर्यटनका लागि रुरु क्षेत्र र रेसुङ्गा पुराना गन्तव्य हुन् तर संघीयतापछि स्थानीय तहको सक्रियतामा घुम्नलायक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेका सत्यवती र धुर्कोट क्षेत्र गुल्मीका नयाँ पर्यटकीय गन्तव्य बनेका छन् । 

भौगोलिक हिसाबले दुर्गम मानिएका मालिका र मदाने गाउँपालिकाका ग्रामीण इलाका पनि अहिले घुम्नकै लागि भनेर आन्तरिक पर्यटक पुग्ने गन्तव्य बनेका छन् । मालिका गाउँपालिकाको अर्खाबाङ क्षेत्रमा पर्ने मालिका पिस पार्क जिल्लाकै नमुना पार्क हो, जहाँ प्राकृतिक रूपमा रहेको भिरालो तथा उबडखाबड भौगोलिक संरचना नसम्याइकनै आकर्षक पार्क निर्माण गरिएको छ ।Gulmi local government looking for potential in tourism रेसुङ्गा पार्क, गुल्मी ।

प्रदेश र स्थानीय तहको साझेदारीमा २ करोड खर्च गरेर उक्त पार्क निर्माण गरिएको पालिका अध्यक्ष देवीराम अर्यालले बताए । उसै गरी आकर्षक क्षेत्र बनाइएको छ मालिका–५ को लेकपोखरा पिस पार्क । लेकपोखरालाई पर्यटकीय गन्तव्य बनाउन करिब ३ करोड खर्च भएको अध्यक्ष अर्यालले बताए । त्यहाँ पोखरीहरू, ललितपुरका मन्दिरको झल्को दिने मन्दिरहरू, पार्क, पैदलमार्ग, पुराना धार्मिक ऐतिहासिक स्थलहरूको मर्मत, भ्यु टावर लगायतका संरचना बनेका छन् । जहाँ घुम्न तथा वनभोजका लागि छिमेकी पालिका तथा सदरमुकाम तम्घासबाट विद्यार्थी, कर्मचारी तथा अन्य पर्यटनप्रेमी आउने क्रम सुरु भएको छ । 

मदाने गाउँपालिकाले कंके देउराली, पुर्कोट कोट, रोल्म तिखेचुली, खड्ग भवानी कोट, अग्लुङकोट, अस्कुना लगायतका क्षेत्रलाई पर्यटन विकास गर्नका लागि करिब १० करोड खर्च गरेर संरचनाहरू निर्माण गरेको छ ।

‘गुल्मी, प्यूठान र अर्घाखाँचीको सीमानजिक पर्ने कंके देउरालीमा वनभोजस्थल लगायतका संरचना, रोल्म तिखेचुलीमा जीपलाइन र स्काइक्लिङ बनेका छन्,’ गाउँपालिकाका सूचना अधिकारी सुशील पोखरेल भन्छन्, ‘पुर्कोट कोट, खड्ग भवानी कोट, अग्लुङकोटमा पुराना राजाका दरबार तथा मन्दिरहरूको पुनःनिर्माण तथा मर्मत गरिएको छ भने अस्कुनामा मन्दिरहरू निर्माण गरिएको छ ।’ कंके देउराली, रोल्म, अस्कुना तथा पुर्कोट कोटमा घुम्नका लागि वर्षमा १० हजारभन्दा धेरै मानिस आउने गरेको पोखरेल बताउँछन् ।

पुराना धार्मिक तथा पर्यटकीय क्षेत्र रुरु, रेसुङ्गा, कालिगण्डकी तथा छत्रकोटमा पनि स्थानीय तहहरूले लगानी बढाएर पर्यटकीय आकर्षण बढाउने कार्यक्रम ल्याएका छन् । सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाभित्र रेसुङ्गा, अर्जुन, भुवाने पार्क, ट्री हाउस, गर्जुरापार्क, तम्घासस्थान मन्दिर, भगवती मन्दिर, सानो रेसुङ्गा, उनायचौर भगवती मन्दिर, भाडगाउँ, गौशालालगायत क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्य छन् । जसका लागि नगरपालिकाले १३ करोड भन्दा बढी लगानी गरेको नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीले जानकारी दिए ।

‘हाम्रोमा मोटामोटी रेसुङ्गाको गर्जुरा पार्कमा ६ करोड, रेसुङ्गा सिढी निर्माणमा डेढ करोड, सानो रेसुङ्गा मन्दिरमा ६० लाख, गौशाला क्षेत्रमा २० लाख, उनायचौर मन्दिरमा ५० लाख, ट्री हाउसमा १७ लाख, भगवती मन्दिर र पौवामा १ करोड, तल्लो तम्घासस्थान मन्दिरमा १ करोड, उपल्लो तम्घास तम्घासस्थान मन्दिरमा ५० लाख, भाडगाउँ मन्दिर निर्माणमा ६० लाख अर्जुन डाडामा ५० लाख, भुवाने पार्कमा १० लाख र अरू स–साना मन्दिर तथा अन्य संरचनामा लगानी भएको छ,’ उनले भने, ‘तर यो लगानी नगरको मात्र नभएर कतिपय संघ र प्रदेश सरकारको साझेदारी र कतिपय नगरपालिकाको लगानी हो ।’ रेसुङ्गा नगरपालिकाको दुविचौरमा होमस्टेसमेत सञ्चालनमा छ । 

रेसुङ्गाको गर्जुरादेखि गौशाला क्षेत्रमा जीपलाइन स्काई साइक्लिङ निर्माण गर्न १ करोड २५ लाख टेन्डर भैरहेको उनले जानकारी दिए । जिल्लाको केन्द्रमै रहेको र रेसुङ्गा आफैंमा धार्मिक, ऐतिहासिक र प्राकृतिक आकर्षणको केन्द्र हो । 

रुरुक्षेत्रमा स्थानीय तह स्थापना भएपछि हालसम्म ४ करोड ४२ लाख खर्च गरेर मन्दिरहरू, पैदलमार्ग, पार्क निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । रुरुक्षेत्र गाउँपालिकामा पर्ने रुरुक्षेत्रलाई नेपालकै प्रमुख तीर्थस्थलमध्येको एक मानिन्छ । यसका साथै श्रृङ्गेश्वर धाम, बम्घाकोट यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । पाण्डेका अनुसार कालिगण्डकी स्नान, माघेसंक्रान्ति मेला सहित समग्र रुरुक्षेत्र गाउँपलिकाभित्रका धार्मिक स्थलमा दर्शन र घुमघामका लागि वर्षमा ३ लाख भन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् ।

पुरानो धार्मिक पर्यटकीय गन्तव्य रहेको छत्रकोटले छत्रकोट देवालय मन्दिर, छत्रकोट जीपलाइन, दौंघाको रक गार्डेन, हुँगाको देउती ढुंगा गुफा, वडा नं २ मा होमस्टे, वडा नं ४ को मौलिपुर ताल लगायत विभिन्न पर्यटकीय स्थल निर्माण गरेको छ । जसका लागि २ करोडभन्दा धेरै खर्च गरेको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए । उनका अनुसार वार्षिक १० हजार भन्दा धेरै पर्यटक दर्शन तथा घुमकामका लागि छत्रकोटका पर्यटकीय क्षेत्रहरूमा पुग्ने गर्छन् ।

कालिगण्डकी गाउँपालिकाले पर्यटकलाई बसोबासका लागि व्यवस्था मिलाउन एक करोडभन्दा बढी खर्चेर सामुदायिक होमस्टे स्थापना गरेको छ । गण्डकी प्रदेशको बाग्लुङ जिल्लाको सिमाना जोडिएको स्थान कालिगण्डकी–७ स्थित धुवाखोलामा सामुदायिक होमस्टे स्थापना गरेको छ । गुरुङ समुदायले सञ्चालन गरेको होमस्टेमा रोधी बस्ने परम्परा मुख्य आकर्षण हो । यसका साथै भुटेको सिरम्ले मकै, कोदोको रोटी, बाँकोको गुन्द्रुकको झोल लगायत स्थानीय परिकार मात्रै खाने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष वेद मगरले बताए । 

जिल्लाका १२ स्थानीय तहमध्ये ८ पालिकाले पर्यटन विकासको तथ्य तथ्यांक राखेर विकासका काम गरे पनि चन्द्रकोट, गुल्मीदरबार, मुसिकोट र इश्माले भने पर्यटन विकासको ठोस तथ्यांक राखेका छैनन् । चन्द्रकोटका सूचना अधिकारी शिव ज्ञवालीले टिमुरेताल, चन्द्रकोट मन्दिर, चक्रेश्वर मन्दिर, झुलेनी, ग्वाघा, अर्जेवा झरना, सिद्धबाबा क्षेत्रमा पर्यटन क्षेत्रका लागि करोडौं लगानी भएको भए पनि रकम र भ्रमणमा आउने आन्तरिक पर्यटकको तथ्यांक नभएको बताए । इश्मा गाउँपालिकाले पनि पर्यटन विकासमा ठोक काम नगरेको कर्मचारीहरूको भनाइ छ । गुल्मीदरबार र मुसिकोटमा पनि कुनै तथ्यांक अद्यावधिक नभएको कर्मचारीहरूको भनाइ छ ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully