३९ वर्षपछि सिँचाइ सुविधा पाएपछि कचल फाँटमा तीन बाली खेती

पकेट क्षेत्र र व्यावसायिक खेतीका लागि सहयोगको पर्खाइ । 

फाल्गुन २७, २०८२

माधव अर्याल

After 39 years, three crops are grown in the Kachal field after receiving irrigation facilities.

What you should know

पाल्पा — तिनाउ गाउँपालिका–१, कचलफाँटका चोमानसिं रायमाझीको पुर्ख्यौली थलो रैनादेवी छहरा–४, छहरा हो । तर तीन दशकदेखि कचलफाँटमा बस्दै आएका छन् । लेकमा उब्जनी कम हुने र काम गर्नसमेत दुःख हुने भएपछि बेंसी झरेका हुन् । ‘हामी बसाइँ आउँदा फाँटमा सिँचाइ कुलोको निकै समस्या थियो,’ उनले भने, ‘तर मलिलो फाँट भएकाले उब्जनी राम्रो हुन्छ ।’ उनले तीन वर्षअघिसम्म बढीमा दुई बाली खेती गर्थे । अहिले भने तीन बाली खेती हुन थालेको छ । 

३९ वर्षदेखि अलपत्र रहेको कचलफाँच सिँचाइ योजना तीन वर्षअघि सम्पन्न भयो । त्यसपछि भने पानीको कुनै समस्या छैन । ‘अहिले यहाँ म मात्र होइन, सबैले तीन बाली खेती गर्न सुरु गरेका छौं,’ उनले भने, ‘तर हामी परम्परागत खेती प्रणालीमै निर्भर छौं । हामीलाई कुनै पनि सरकारी निकायबाट खेती प्रणालीका विषयमा जानकारी गराइएको छैन ।’

चार/पाँच वर्षअघि कचलफाँटका खेतबारीमा समयमा पानी परेको समयमा धान नत्र भने कोदो लगाउने गर्थे । अहिले भने वर्षायाममा धान लगाउँछन् । तरकारी खेती गर्नुका साथै तोरी, मसुरो, गहुँ, मकै लगायतका खेती गर्न सुरु भएको छ । ‘दलहन र तेलहन खेती भएपछि यसबाट धेरै राम्रो फाइदा पाइएको छ,’ स्थानीय सीता बगालेले भनिन्, ‘मैले व्यावसायिक तरकारी खेती गर्छु तर गाउँमा बिक्री भएर सकिँदैन । बुटवल लैजान सडकका कारण टाढा भएकाले पनि भाउ पाउन समस्या छ ।’ फाँटमा सिँचाइ कुलो चलेपछि अहिले रायमाझी र बगाले मात्र होइन, ९० प्रतिशत किसानको जीवनस्तर नै फेरिएको छ । 

यहाँका झण्डै ३ सय घर परिवारले खेतमा धान र मकैबाहेक अन्य अन्नको उत्पादन लिन सुरु गरेको बताएका छन् । यसबाट खेतमा किसानको व्यस्तता बढेको छ भने उनीहरूको आर्थिक अवस्थामा समेत परिवर्तन देखिन थालेको छ ।

‘अहिले १२ महिना नै खेतबारीमा हराभरा हुने गरी सिँचाइ सुविधा पाइएको छ,’ किसान बगालेले भनिन्, ‘धान, मकै, तोरी, गहुँ, मसुरोजस्ता बालीका साथै तरकारीबाट समेत फाइदा भएको छ । यसले हामी जस्ता दुर्गममा बस्ने किसानको जीवनस्तरमा समेत परिवर्तन आएको छ ।’ यहाँका किसानलाई पहिले एक पेट खान कठिन थियो । यहाँ लेकबाट बेंसी बसाइँ सरेर आएकाहरूको मधेस झर्ने अवस्था थियो । तर अहिले त्यस्तो छैन । अहिले डेढ वर्षको अवधिमा ६ घर मात्र बाहिरिएका छन् । तर आउनेहरू भने २६ परिवार भएका छन् । 

अधिकांशको घरमा दुई वर्षअघिको धान संचित छ । पानी पर्याप्त भएपछि तरकारी खेती, पशुपालनका साथै करेसाबारीले आयआर्जनसमेत हुन थालेको छ । तर किसानको दुःख भने कुनै निकायले नदेखेको उनको गुनासो छ । कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, स्थानीयतहले भने कचलमा सिँचाई कुलो चलेको तीन वर्षसम्म कुनै योजना लगेका छैनन् । जिल्लामा रहेका कार्यालय कचलसम्म पुग्न नसकेको स्थानीयको गुनासो छ । ‘पकेट क्षेत्र, व्यवसायिक खेती गर्ने सम्बन्धमा कुनै पनि निकाय कचल फाँटसम्म आएका छैनन्,’ स्थानीय शान्ता खड्काले भनिन्, ‘सरकारी निकाय कार्यालयको वरपर मात्र कार्यक्रम गर्ने भएकाले होला दुर्गमसम्म आइपुगेका छैनन् ।’After 39 years, three crops are grown in the Kachal field after receiving irrigation facilities.

कचल फाँटमा सिँचाइको सुविधा पुगे पनि व्यावसायिक रूपमा तरकारी खेती गर्न सकेका छैनन् । घरघरमा नगद आम्दानी हुने कार्यक्रम चलेको छैन । कचल फाँटका कृष्णबहादुर छहरी मगर ८४ वर्षका भए । उनले लक्का जवान हुँदा कचल फाँटमा सिँचाइ कुलो ल्याउने योजनामा श्रमदान गरेको सुनाए । चार घण्टा टाढाबाट सामान बोकेर सिँचाइ कुलो बनाएको अहिले पनि उनलाई सम्झना छ । तर सिँचाइ कुलोको काम सकिएला भन्दाभन्दै साढे तीन दशक बितेको पत्तै नपाएको उनले बताए । ‘अहिले म बुढो भएँ तर योजनाको कुलोमा मात्र पानी चलेको छ,’ उनले भने, ‘यहाँ योजना बनाएर तरकारी खेती गर्ने, व्यावसायिक बनाउने काम हुन सकेको छैन । यसतर्फ ध्यान पुगोस् भन्ने लाग्छ । अझै शाखा नहर विस्तारमा ध्यान दिनुपर्छ ।’

२०४० सालमा तत्कालीन राजा वीरेन्द्र भ्रमणमा रहेका बेला स्थानीयले कचल फाँटमा सिँचाइ कुलोको माग गरेका थिए । सोही माग अनुसार तत्कालीन राजाको हुकुमबाट २०४३/४४ बाट कचलमा काम सुरु भयो । त्यसबेला योजनाका लागि परेको ३ करोड बजेटबाट २०४७/४८ सम्म काम भयो । योजना पूरा हुन सकेन । मुहानबाट सुरु हुनुपर्ने काम तल्लो क्षेत्रको फाँटमा भयो । त्यसपछि योजनाका लागि बजेट नै नपरेको पूर्वसांसद हरिप्रसाद नेपालले बताए । त्यतिबेला काम पूरा नभएपछि अलपत्र बन्यो । मुहानतिर भीर–पहरा देखेर निर्माण व्यवसायीले फाँट क्षेत्रबाट काम सुरु गरेकाले भ्रष्टाचार भएपछि जिल्लास्थित कार्यालयले कामै अघि नबढाएको उनले बताए । 

त्यही कारण यहाँ दोभान (कचल) खोलाको पानी फाँटसम्म आउन सकेन । योजना अलपत्र भएर बस्यो । २०७० सालपछि यसलाई पूरा गराउन पूर्वसांसद नेपालले नै पहल गरेको दाबी गरे । यो कचल फाँट सिँचाइ उप–आयोजना हो । यसको स्रोत दोभान (कचल) खोलामा पर्छ । मुहानदेखि कचल फाँटसम्म ७ किलोमिटर मुख्य नहरको दूरी छ । यहाँका ६ हजार रोपनी (३ सय हेक्टर) जग्गा सिँचाइ हुनेगरी योजना निर्माण भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाले जनाएको छ । लामो समय अवरुद्ध भएको योजनाले २०६२/६३ मा पुनः सुरु काम सुरु भयो । ‘बर्सेनि थोरै थोरै बजेट पर्ने तर काममा प्रगति नदेखिने अवस्था थियो । 

२०७३/७४ मा भने १३ करोड ९५ लाख बजेट परेर कामको ठेक्का लागेको हो । तीन प्याकेजमा काम सुरु भएपछि पहिलो प्याकेजमा डिभिजन र प्राकृतिक निर्माण सेवा प्रालिबिच ठेक्का सम्झौता भयो । दास्रोमा पाइप खरिदको काम थियो भने तेस्रोमा उपभोक्ता समितिमार्फते हुने काम र उपभोक्ता समितिलाई भुक्तानी दिएर काम अघि बढाइएको हो । भीर पहरा फोड्न नसकेर अहिले पनि १ हजार १ सय मिटरमा तीन वटा ठूला पाइपबाट पानी ल्याइएको छ । 

स्थानीयका अनुसार साविको फेक गाउँ पञ्चायत (कचल) स्वर्गीय समाजसेवी लालसिंह बुचाको सपना अहिले बल्ल पूरा भएको हो । उनले कचलमा सिँचाइ योजना सम्पन्न गर्ने गरी राजासम्म योजना पुर्‍याएका थिए । ‘स्वर्गीय बुचाको सपनाले यतिबेला सार्थकता पाएकोछ,’ कचल सिँचाइ जल उपभोक्ता समितिका सचिव रेवन्त बहादुर छहरीले भने । 

गाउँसम्म मुख्य नहर आए पनि तल्लो भेगसम्म लैजान बाँकी नै छ । ‘खोलाको पानी ल्याउन सफल भएका छौं,’ उनले भने, ‘अब शाखामा पक्की नहरको काम पनि छिट्टै गरिने छ ।’ ठूलो फाँट भएपनि एक खेती भन्दा लगाउन सकेका थिएनन् । सिँचाइ सुविधा अभावले गर्दा धेरैले बसाइँसराइ पनि गरे । अघिल्ला वर्षमा असार लाग्दा मात्र धानको ब्याड राख्ने किसानहरू अहिले रोप्ने बेलाको बीउ बनाइसकेका छन् । यहाँ झण्डै ४ सय घरपरिवारको बसोवास छ । उर्वर भूमि र ऊर्जाशील किसानका लागि सिँचाइले व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully