लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यक : जर्मन राजदूत

राजदूत फोल्जले नेपाली उद्यमीहरूलाई नेपाल र जर्मनी दुवै देशमा आयोजना हुने व्यापार मेला तथा फोरमहरूमा सक्रिय रूपमा सहभागी भई आफ्ना व्यवसाय प्रवर्द्धन गर्न आग्रह गरे ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Strong business environment necessary to attract investment: German Ambassador

काठमाडौँ — नेपालमा लगानी आकर्षित गर्न तथा व्यापार र आर्थिक गतिविधि विस्तार गर्न सुदृढ व्यावसायिक वातावरण अत्यन्त आवश्यक रहेको नेपालका लागि जर्मनीका राजदूत तथा नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) का मानार्थ अध्यक्ष उडो एउगेन फोल्जले बताएका छन् ।

एनजीसीसीआई र नेपाल उद्योग वाणिज्य महासंघसँग आबद्ध व्यवसायीहरूसँगको अन्तरक्रियामा बोल्दै एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाल–जर्मनी व्यापार तथा लगानी प्रवर्द्धनमा संघले विगत ३५ वर्षभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गरे । उनले नेपालमा जर्मन लगानी वृद्धि, नेपाल–युरोपियन युनियन (ईयू) आर्थिक सहकार्य सुदृढीकरण तथा श्रम र सीपयुक्त आप्रवासनसम्बन्धी सम्झौतामा देखिएको स्थिरता हटाउन आवश्यक रहेकोमा जोड दिए ।

राजदूत फोल्जले नेपाली उद्यमीहरूलाई नेपाल र जर्मनी दुवै देशमा आयोजना हुने व्यापार मेला तथा फोरमहरूमा सक्रिय रूपमा सहभागी भई आफ्ना व्यवसाय प्रवर्द्धन गर्न आग्रह गर्दै जर्मन पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षण, विशेषगरी पर्वतारोहण र साहसिक पर्यटनमा रहेको सम्भावनालाई पनि उल्लेख गरे ।

एनजीसीसीआईका निवर्तमान अध्यक्ष अनुपबहादुर मल्लले नेपालले विगतमा जर्मनीसँग व्यापार सकारात्मक भए पनि हाल घाटाको अवस्था रहेको उल्लेख गरे । उनले जर्मन बजारमा नेपाली वस्तु तथा सेवाको प्रवर्द्धनका लागि मापदण्ड, मान्यता, व्यापारिक अवरोध तथा बजार पहुँचसँग सम्बन्धित चुनौतीहरू समाधान गर्नुपर्ने आवश्यकता औंल्याए । 

एनजीसीसीआईका सल्लाहकार गोपालप्रसाद तिवारीले नेपाल र जर्मनीमा संघले विगत केही वर्षदेखि सञ्चालन गर्दै आएका गतिविधिहरूबारे प्रस्तुति दिँदै द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न संघले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा एनजीसीसीआईका उपाध्यक्ष नरेशलाल श्रेष्ठ र उत्तम भट्टराई, महासचिव एलेक्सलाल मुक्तान, कोषाध्यक्ष शुभाशीष थपलिया, सह–कोषाध्यक्ष गोपालदास मानन्धर, कार्यसमिति सदस्यहरू विधाता श्रेष्ठ, राजीव मंगल जोशीलगायत सदस्यले भिसा सहजीकरण, उच्च आयस्तरका पर्यटक आकर्षणमार्फत पर्यटन प्रवर्द्धन, बजार पहुँच तथा निर्यात प्रवर्द्धनका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जर्मन दूतावासका प्रथम सचिव पिटर स्पेयरसहित अन्य अधिकारीहरू र २० भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कान्तिपुर

Link copied successfully