नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैंचीको खेती ५४ भन्दा बढी जिल्लामा फैलिएको अलैंची विकास केन्द्र फिक्कलले जनाएको छ । अलैंची लगाइएको तीन चौथाइभन्दा धेरै क्षेत्र कोशी प्रदेशका १२ जिल्लामा र बाँकी मात्रै अरू प्रदेशका जिल्लामा रहेको जनाइएको छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो सात महिनामा (साउन–माघसम्म) ८ अर्ब ६१ करोड रुपैयाँको अलैंची निर्यात भएको छ । मुलुकमा उत्पादित अलैंचीको बजार भारत मात्रै रहेको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार ४१ लाख ५३ हजार १ सय ५० किलो अलैंची निर्यात गरिएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा परिमाणमा ३७.१३ र मूल्यमा ५९.५४ प्रतिशतले अलैंची निर्यात बढेको छ । गत आर्थिक वर्षको सात महिनामा ५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँको ३० लाख २८ हजार ४ सय ९५ किलो अलैंची निर्यात भएको छ ।
नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैंचीको खेती ५४ भन्दा बढी जिल्लामा फैलिएको अलैंची विकास केन्द्र फिक्कलले जनाएको छ । अलैंची लगाइएको तीन चौथाइभन्दा धेरै क्षेत्र कोशी प्रदेशका १२ जिल्लामा र बाँकी मात्रै अरू प्रदेशका जिल्लामा रहेको जनाइएको छ ।
नेपालमा उत्पादन भएको ९५ प्रतिशतभन्दा बढी भारत निर्यात हुने गरेको र ५ प्रतिशत मात्रै मुलुकमै खपत हुने गरेको छ । अलैंचीको मूल्यमा उत्तारचढाव आइरहेको व्यवसायीहरू बताउँछन् । प्रतिमन अलैंचीको औसत मूल्य २०७८ र ०७९ मा ७० हजार रुपैयाँ थियो ।
०८० मा औसत मूल्य घटेर ४७ हजार ५ सय रुपैयाँ पुगेको थियो । ०८१ वैशाखदेखि कात्तिकसम्म ३५ हजार, मंसिरदेखि फागुनसम्म ६० हजार घटेकामा चैतमा बढेर १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो । ०८२ वैशाखमा प्रतिमन अलैंचीको मूल्य १ लाख र जेठ–असारमा ८८ हजार रुपैयाँ थियो । अलैंचीको स्थिर मूल्य नहुँदा कृषकहरूले कुनै वर्ष उच्च र कुनै वर्ष न्यून मूल्यमा बेच्नु परेको कृषकको गुनासो छ ।
त्यस्तै अलैंची कृषकहरूले जनशक्तिको कमी, रोग–किराका कारण अलैंची बगानको क्षेत्रफलमा ह्रास आउने, न्यून बिक्री मूल्य, कृषकस्तरमा संकलन केन्द्रको अभाव, भण्डारण सुविधा अभावजस्ता समस्या समेत व्यहोर्दै आएका छन् । अलैंची खेतीमा युवा आकर्षण गर्न र युवालाई स्वदेशमा टिकाइराख्न चुनौती रहेको उनीहरूको भनाइ छ ।
बर्सेनि रोगकिराका कारण अलैंची बगानको क्षेत्रफलमा ह्रास आउने गरेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा ७ अर्ब ९४ करोड र ०८१/८२ मा ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।
