कतार एयरवेजद्वारा ६ दिनपछि राहत उडान सञ्चालन, नियमित सेवा अझै स्थगित

कतारका दुई वटा वाइडबडी जहाज शनिबारदेखि काठमाडौंमा रोकिएका छन् ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Qatar Airways operates relief flights after 6 days, regular services still suspended

काठमाडौँ — इजरायल र संयुक्त राज्य अमेरिकाद्वारा इरानमा गरिएको संयुक्त सैन्य आक्रमणपछि गल्फ क्षेत्रमा शनिबारदेखि सुरू हवाई संकटका कारण अलपत्र परेका यात्रुहरूको उद्धारका लागि कतार एयरवेजले ६ दिनपछि आजदेखि सीमित राहत उडान सञ्चालन गर्ने घोषणा गरेको छ।

एयरलाइन्सले दोहाबाट होइन, मस्कटबाट लन्डन हिथ्रो, बर्लिन, कोपेनहेगन, म्याड्रिड, रोम र एम्स्टर्डमका लागि राहत उडान गर्ने तथा साउदी अरबको रियादबाट फ्रान्कफर्टका लागि एक उडान सञ्चालन गर्ने जनाएको छ। राहत उडानमा नेपाल भने परेको छैन । कतारका दुई वटा वाइडबडी जहाज शनिबारदेखि काठमाडौंमा रोकिएका छन् । 

यी उडानहरू हालको अवस्थाका कारण विभिन्न स्थानमा रोकिएका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन लक्षित गरिएको बताइएको छ। यसैबीच, कतारको हवाई आकाश बन्द रहेकाले एयरलाइन्सका नियमित उडानहरू अस्थायी रूपमा स्थगित रहेका छन् । कतारको नागरिक उड्डयन कार्यालयले हवाई आकाश सुरक्षित रूपमा पुनः खुला भएको घोषणा गरेपछि मात्र नियमित उडान पुनः सञ्चालन गरिने एयरलाइन्सले स्पष्ट पारेको छ। 

यस विषयमा थप जानकारी शुक्रबार दोहा समयअनुसार बिहान ९:०० बजे उपलब्ध गराइने जनाएको छ। कतार एयरवेजले यात्रुहरूलाई सूचना प्राप्त नगरेसम्म विमानस्थलमा नजान आग्रह गरेको छ। 

प्रभावित यात्रुहरूलाई तोकिएको उडान विवरण, यात्रा व्यवस्थापन तथा आवश्यक निर्देशनबारे सिधै सम्पर्क गरिने जनाएको छ। यात्रुहरूलाई आफ्नो सम्पर्क विवरण कतार। एयरवेजको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत अद्यावधिक राख्न अनुरोध गर्दै एयरलाइन्सले यात्रु तथा चालक दलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर उडान रोकेको जनाएको छ ।

यसैबीच फ्लाई दुबईले बुधबार रातिदेखि दुबईबाट काठमाडौंमा प्वाइन्ट टू प्वाइन्ट उडान खुला गरीसकेको छ ।  खाडी र नेपाल उडानमा दुई नेपालीसहित ७ वायुसेवा छन । हाल खाडीका ९ मुलुकले व्यावसायिक उडानका लागि आकास बन्द गरेका छन् ।

कान्तिपुर

Link copied successfully