निर्माणमा संलग्न कामदारहरू मतदान गर्न आफ्नो जिल्ला गएका कारण केही दिन काम नहुने आयोजनाले जनाएको छ।
काठमाडौँ — चुनावका कारण नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ। निर्माणमा संलग्न कामदारहरू मतदान गर्न आफ्नो जिल्ला गएका कारण केही दिन काम नहुने आयोजनाले जनाएको छ। मंगलवारदेखि शनिवारसम्म सुरुङमार्गको काम बन्द हुने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए।
‘यही बेला होली पर्यो, निर्वाचन पनि भयो,’ उनले भने, ‘सुरुङको धेरै काम सकिसकेको छ, धादिङतर्फ पहिरो नियन्त्रणको काम भइरहेको थियो, अब केही दिनका लागि सुरुङको काम रोकिएको छ।’ आइतवारबाट पहिलेजस्तै नियमित रूपमा काम हुने उनको भनाइ छ। सुरुङमार्गमा काम गर्ने नेपाली कामदार मतदान गर्न गएको उनले सुनाए। यो अवधिमा सुरुङभित्रबाट आउजाउ गर्न पनि बन्द गरिएको आयोजनाले जनाएको छ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो। अहिलेसम्म यसको निर्माण प्रगति ९८ प्रतिशत छ। अहिले सेवाप्रदायक कम्पनी छान्ने काम अन्तिम चरणमा छ। सेवा प्रदायक छानेपछि सुरुङ सञ्चालनको प्रक्रिया अघि बढ्नेछ। यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो।
मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ। सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।
