मतदानलाई लिएर उद्यमीहरू पनि उत्साही 

भन्छन्– ‘राजनीतिक एवं नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र आर्थिक  समृद्धिलाई प्राथमिकता दिने दल र उम्मेदवारलाई हाम्रो मत’

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Entrepreneurs are also enthusiastic about the vote.

काठमाडौँ — आज अर्थात् बिहीबार मुलुकभर एकसाथ प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सर्वसाधारण उत्सुक छन् । आफूलाई मनले खाएको दल र उम्मेदवारलाई मतदान गरेर सरकारमा पुर्‍याउने उनीहरूको मनसाय छ । उद्यमी व्यवसायी पनि त्यस्तै उत्सुकतामा छन् । 

मुलुकमा रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिइरहेका उनीहरू निर्वाचनपछि बन्ने सरकार स्थिर रहोस् र त्यसले सही नीतिगत निर्णय गरिदेओस् भन्ने चाहन्छन् । तसर्थ उनीहरूको एक मत छ— ‘राजनीतिक एवं नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र आर्थिक समृद्धिलाई प्राथमिकता दिने दल र उम्मेदवारलाई हामी मतदान गर्छौं ।’ 

यसै सन्दर्भमा निजी क्षेत्रका केन्द्रीय छातासंगठन— नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका नेतृत्व मात्र होइन, अन्य उद्योगी व्यवसायी र बैंकरसँग कान्तिपुरले कुराकानी गरेको छ । कान्तिपुरसँगको कुराकानीमा उनीहरूले राजनीतिक दलहरूले आर्थिक एजेन्डालाई मूलधारमा ल्याएर देश विकासको मार्गनिर्देश गर्नुपर्ने बताएका छन् । तर उनीहरूको एउटै आशंका छ– कतै विगतमा जसरी यसपाला पनि गरिएका घोषणा कार्यान्वयन नहुने त होइनन् ? 

‘निर्वाचनका घोषणापत्रमा दलहरूले अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रले निर्बाध काम गर्न पाउने वातावरण सुनिश्चित गर्नैपर्छ,’ महासंघका अध्यक्ष चन्द्र ढकालले भने । उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेसा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी नहुने उनको भनाइ छ ।

अध्यक्ष ढकालले बिहीबार काठमाडौं–५ को विशालनगर मतदान केन्द्रबाट मतदान गर्दै छन् । मुलुकमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थिरता र निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारलाई मत दिने उनले बताए । ‘यो निर्वाचनपछि बन्ने सरकारको प्राथमिकता आर्थिक समृद्धि हुनुपर्छ, यसका लागि निजी क्षेत्रका एजेन्डा सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मुलुकमा लगानीमैत्री वातावरण बन्नुपर्छ । त्यसका लागि राम्रो उम्मेदवारले जित्नुपर्छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेयले काठमाडौं–९ को कुलेश्वरस्थित कृषि सामग्री संस्थानबाट मतदान गर्दै छन् । २००७ देखि २०८२ को जेन–जी आन्दोलनसम्म आइपुग्दा धेरै पटक राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तनले तीव्रता पाउन नसकेको उनको भनाइ छ । दलहरूले घोषणापत्रमा आर्थिक एजेन्डा ल्याए पनि सरकारमा हुँदा कार्यान्वयनले प्राथमिकता नपाएको र अब त्यो गल्ती दोहोरिन नहुने उनले जनाए । ‘मुलुकको विकासका लागि राजनीतिक स्थिरतासँगै पहिलो आवश्यकता दरिलो अर्थ व्यवस्थालाई दिनुपर्छ । आमसर्वसाधारणसँगै हामी उद्यमी व्यवसायीले खोजेको सुशासन, आर्थिक विकास, रोजगारीसहित समग्र राष्ट्रको समृद्धिका लागि आर्थिक विकासका मुद्दा तथा एजेन्डाहरूमा राष्ट्रिय सहमतिसहित दलहरू अगाडि बढ्नुपर्छ,’ पाण्डेयले भने, ‘राष्ट्रिय सहमतिमा मुलुकको विकासका लागि दीर्घकालीन दृष्टिकोण, प्राथमिकताका क्षेत्र तथा आयोजना र कार्यान्वयनका लागि समयबद्ध कार्ययोजना स्पष्ट उल्लेख गरिनुपर्छ ।’ यस्तै काम गर्ने दल र उम्मेदवारलाई आफूले मतदान गर्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले काठमाडौं–१ को डिल्लीबजारस्थित कन्या माध्यमिक विद्यालयबाट मतदान गर्दै छन् । आर्थिक समृद्धिको विकल्प नभएकाले निजी क्षेत्रको एजेन्डा बोकेका राजनीतिक दल र उम्मेदवारलाई आफूले मत दिने उनले जनाए । नेपालमा भएका जेन–जीलगायत धेरै आन्दोलन सुशासन कायम, भ्रष्टाचार निवारण र रोजगारी सिर्जना गर्नुपर्ने माग राखेको र त्यसकै आधारमा यो निर्वाचन भएकाले नयाँ सरकारले ती एजेन्डा समेट्नुपर्ने उनको भनाइ छ । 

‘नयाँ सरकारले मुलुकका प्राकृतिक स्रोतहरूको अधिकतम सदुपयोग गर्नुपर्‍यो,’ अग्रवालले भने, ‘हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको ५७ प्रतिशत युवा जनशक्ति हुन् । उनीहरूलाई देशमै रोजगारी सिर्जनाका अवसर सिर्जना गर्नुपर्‍यो । विश्व अर्थतन्त्रमा देखिएको उचारचढावले कति बेला कुन स्थानमा रहेका नेपालीले रोजगारी गुमाउने हुन्, टुंगो हुँदैन ।’ यसकारण आसन्न निर्वाचनमा राजनीतिक दलहरूले राजनीतिकसँगै अर्थनीतिको स्थायित्व र लगानी वातावरणको सुनिश्चित हुनुपर्ने अग्रवालको तर्क छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि काठमाडौं–१ को थापाथलीस्थित गुहेश्वरी स्कुल मतदान केन्द्रबाट भोट हाल्दै छन् । ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, खुलाबजार अर्थनीति अंगीकार गर्ने दल र उम्मेदवार मेरो छनोटमा पर्छन्,’ उनले भने, ‘हामीलाई अरू केही चाहिँदैन, मुलुकमा स्थायित्व होस्, आर्थिक एजेन्डाले प्राथमिकता पाओस् र नागरिकले ढुक्कसँग गरिखान पाऊन् ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले काठमाडौं–८ मा पर्ने सीतापाइला मतदान केन्द्रबाट मतदान गर्दै छन् । आफूले राजनीतिक र नीतिगत स्थायित्व खोजेकाले त्यो एजेन्डा लिएर निर्वाचनमा उत्रिएको र निर्वाचित भएपछि पनि ती एजेन्डा कार्यान्वयन गर्न सक्ने उम्मेदवार र दललाई भोट हाल्ने उनले जनाए । 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले भने ललितपुर–३ को सानेपा मतदान केन्द्रबाट मतदान गर्दै छिन् । मतदान अधिकार मात्र नभएर कर्तव्य पनि भएकाले सबैले मतदान गर्नुपर्ने उनको भनाइ छ । ‘सामाजिकसँगै आर्थिक एजेन्डालाई प्राथमिकता दिने हो,’ उनले भनिन्, ‘दलसँगै व्यक्तिको क्षमता, उसको पृष्ठभूमि, घोषणापत्रका प्रतिबद्धता पूरा गर्न सक्ने क्षमतालगायत विषय पनि हेर्छु ।’ 

यस पटक कुन दल र उम्मेदवारलाई मतदान गर्ने भनेर निकटका केही उद्योगी व्यवसायीबीच अनौपचारिक छलफल भएको पनि राणाले स्वीकारिन् । ‘कुनै संगठन वा संघसंस्थाले औपचारिक रूपमा निर्णय गरेको नभई निकटका केही व्यवसायी साथीसँग कसलाई मतदान गर्ने भन्ने सम्बन्धमा हामीले छलफल गरेका छौं,’ उनले भनिन्, ‘हाम्रो उद्देश्य राम्रो दल र व्यक्तिले जितोस् र देश विकासको अभियानमा धेरैभन्दा धेरै योगदान दिन सकोस् भन्ने नै हो ।’ 

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला मतदानकै लागि बुधबार झापा पुगिसकेका छन् । झापा–१ मा पर्ने भगवती प्राथमिक विद्यालयबाट उनले मतदान गर्दै छन् । कोइरालाले पनि राजनीतिक दलका राम्रा एजेन्डा र योग्य उम्मेदवार छानेर मतदान गर्ने बताए ।

समग्रमा नेपालका उद्योगी व्यवसायी केही त्रस्त भने देखिन्छन् । मुख्यगरी जेन–जी आन्दोलनमा निजी सम्पत्ति र उद्योग व्यवसायमा ठूलो क्षति पुगेपछि उनीहरू त्रस्त बनेका हुन् । यहीकारण दलहरू घोषणापत्र लेखनमा तल्लीन रहँदा पनि निजी क्षेत्रका माग समेट्न उनीहरूले राजनीतिक दललाई सुझाव दिएका थिए । मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण निर्माण गर्ने र आर्थिक समृद्धिलाई प्राथमिकता दिएका दललाई उद्यमीले छनोट गर्ने उनीहरूले बताएका थिए । 

कान्तिपुर

Link copied successfully