अवैध तरिकाले सुन खोजतलास कार्य नगर्न विभागको निर्देशन

अनुमति पत्र लिएका कम्पनीले तोकेको शर्तहरु पालना नगरी खनिज कार्य गरेमा अनुमतिपत्र रद्द हुने विभागले जनाएको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Department instructs not to conduct illegal gold prospecting activities

काठमाडौँ —  खानी तथा भूगर्भ विभागले सुन खोजतलास अनुमतिपत्र जारी क्षेत्रमा खोजतलास अनुमतिपत्र जारी पश्चात स्वीकृत कार्य योजनाभन्दा विपरित तरिकाले खनिज कार्य नगर्न/नगराउन सम्बन्धित अनुमतिपत्र वाहकलाई निर्देशन दिएको छ । विभागले फागुन १७ मा सूचना जारी गर्दै तोकेको शर्तहरु पालना नगरी खनिज कार्य गरेमा अनुमतिपत्र रद्द हुने समेत भनेको हो । 

'सुन खोजतलास अनुमतिपत्र जारी क्षेत्रमा खोजतलास अनुमतिपत्र जारी पश्चात स्वीकृत कार्य योजना भन्दा फरक तरिकाले ठूला उपकरण र मेसिनरी प्रयोग गरी खोलाको बहाव परिवर्तन तथा दुषित हुने गरी सुन खोजतलास कार्य गरेको र परामर्शदाताको प्राविधिक भन्दा फरक विदेशी प्राविधिक प्रयोग गरी अन्वेषणः कार्य गरेको भन्दै विभिन्न सञ्चार माध्यम तथा सम्बन्धित पालिका र प्रशासनवाट जानकारी प्राप्त भएकोले  ध्यानाकृष्ट भएको छ,' सूचनामा उल्लेख छ । 

खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा ११ (क) बमोजिम खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने गरी गर्नुपर्नेमा त्यस विपरित विविध कार्य भए/गरेमा कारवाहि गर्ने व्यवस्था छ । खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम ११ बमोजिम खोजतलास कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु पालना नगरी खोजतलास कार्य गर्न नपाइने उल्लेख छ । 

सोही नियमावलीको नियम ४३ को खण्ड (घ) को व्यवस्था अनुसार सार्वजनिक हित वा राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकूल असर पर्नसक्ने व्यवस्था छ । सोही नियमावलीको ४३ को खण्ड (ङ) बमोजिम तोकेको शर्तहरु पालना नगरी खनिज कार्य गरेमा अनुमतिपत्र रद्द हुने प्रावधान  समेत छ । 'प्रचलित कानूनी व्यवस्था विपरित अवैध तरिकाले खनिज कार्य नगर्न/नगराउन सम्बन्धित अनुमतिपत्र वाहकलाई निर्देशन दिइएको छ,' विभागले भनेको छ ।

कान्तिपुर

Link copied successfully