हालको अवरोधबाट प्रभावित यात्रुलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको कम्पनीले जनाएको छ ।
काठमाडौँ — दुबईका दुई ठूला वायुसेवापछि त्यहाको अर्को वायुसेवा कम्पनी फ्लाई दुबईले क्षेत्रीय हवाई क्षेत्र बन्द भए पनि आंशिक रूपमा आफ्नो उडान तालिका पुनः सञ्चालन गरेको छ । दुबईको समय अनुसार मंगलबार दिउँसो ३ बजेपछि जारी अद्यावधिक सूचनामा कम्पनीले दुबई अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल २ र ३ बाट सीमित उडान सञ्चालन भइरहेको जनाएको छ ।
हालको अवरोधबाट प्रभावित यात्रुलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको कम्पनीले जनाएको छ । सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गर्दै विकसित अवस्थाको निरन्तर निगरानी भइरहेको र अस्थायी प्रतिबन्ध हटेपछि क्रमशः पूर्ण सञ्चालनमा फर्किने प्रयास जारी रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले प्रत्यक्ष रूपमा सम्पर्क नगरिएसम्म वा उडान पुष्टि (कन्फर्म) नभएसम्म विमानस्थल नआउन यात्रुलाई आग्रह गरेको छ । प्रभावित यात्रुले ‘Manage Your Booking’ प्रणालीमार्फत आफ्नो सम्पर्क विवरण अद्यावधिक गर्न र उडानसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा जाँच गर्न अनुरोध गरिएको छ ।
यात्रु र चालकदलको सुरक्षा नै सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै कम्पनीले यात्रुको धैर्यता र सहकार्यप्रति आभार व्यक्त गरेको छ । फ्लाइ दुबईको सम्पर्क केन्द्रमा अत्यधिक फोन कल आएकाले सेवामा केही ढिलाइ हुन सक्ने कम्पनीले जनाएको छ ।
आगामी ७२ घण्टाभित्र यात्रा गर्ने यात्रुलाई ‘Manage Your Booking’ मा लगइन गरी विकल्पहरू जाँच गर्न सुझाव दिइएको छ । मूल यात्रा मितिदेखि २० दिनभित्र सोही गन्तव्यका वैकल्पिक उडानमा निःशुल्क पुनःबुकिङ गर्न सकिने व्यवस्था गरिएको छ । साथै, विमानस्थल जानुअघि उडानको स्थिति जाँच गर्न र सम्पर्क विवरण अद्यावधिक राख्न आग्रह गरिएको छ ।
अलपत्र यात्रुलाई थप सहयोगका लागि दुबईस्थित फ्लाइ दुबईको सम्पर्क केन्द्र (+९७१ ६०० ५४ ४४ ४५), कम्पनीको ट्राभल सप, वा सम्बन्धित ट्राभल एजेन्टमार्फत पुनःबुकिङ वा फिर्ता (रिफन्ड) प्रक्रिया अघि बढाउन सकिने जनाएको छ ।
