एमिरेट्स र एतिहाद दुवैले परिस्थितिलाई नजिकबाट अनुगमन गर्दै यात्रु सुरक्षा र समयमा जानकारी प्रदान गर्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।
काठमाडौं — संयुक्त अरब इमिरेट्सको प्रमुख वायुसेवा कम्पनी एमिरेट्स र एतिहाद एयरवेजले इरानमा हमलापछि शनिबारदेखि रोकिएका नियमित उडानहरूलाई पुनः सुरु गर्दै सीमित संख्यामा उडान सञ्चालन गरेका छन् ।
सोमबार, दुबईको स्थानीय समयअनुसार साढे ४ बजे एमिरेट्सले दुबईबाट लन्डनतर्फ पहिलो यात्रु उडान गरेको थियो । त्यसै दिन बिहान एमिरेट्सका ५ विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट जेद्दाह, म्यान्चेस्टर, पेरिस, लन्डन र फ्र्याङ्कफर्टतर्फ उडेका थिए ।
विशेष रूपमा, लन्डनतर्फको पहिलो उडान फ्लाइट राडारमा १ लाख ३८ हजारभन्दा बढी भिजिटरले ट्रयाक गरेका थिए । यो दुबईबाट गरिएको पहिलो उडान थियो, जुन शनिबारको घटनापछि भएको थियो ।
त्यसैगरी, एतिहाद एयरवेजले सोमबार साँझ अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुरु गरेको छ । ३ घण्टाभित्र १५ वटा यात्रु विमानहरू उडेका थिए, जसले इरानमा हमलाअघि नै रोकिएका ट्रान्जिट यात्रुहरूलाई गन्तव्यमा पुर्याउन मद्दत पुगेको थियो ।
अबुधाबीबाट उक्त दिन उडेका अन्य विमानहरूमा एतिहादको कार्गो विमान २ वटा, भारतको इन्डिगो एयरबस ए३२० दुई वटा (सम्भवत खाली) र ल्युफ्थान्साको मर्मतपछि ए३८० एकवटा समावेश छन् ।
एमिरेट्स र एतिहाद दुवैले परिस्थितिलाई नजिकबाट अनुगमन गर्दै यात्रु सुरक्षा र समयमा जानकारी प्रदान गर्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन् । विमान सेवा कम्पनीले विमानस्थल जानुअघि आफ्नो उडान स्थिति अनलाइन जाँच गर्न र बुकिङ पुष्टि यात्रुहरूलाई आग्रह गरेको छ ।
एमिरेट्सले पछिल्लाे विकसित अवस्थालाई निरन्तर अनुगमन गर्दै आफ्ना उडान तालिका परिमार्जन गर्दै आएको छ । कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत अद्यावधिक जानकारी उपलब्ध गराइँदै आएको छ । दुबईभरिका सबै सिटी चेक-इन केन्द्रहरू अर्को सूचना जारी नभएसम्म अस्थायी रूपमा बन्द गरिएको छ । एतिहाद एयरवेजले नयाँ अद्यावधिक जानकारी मंगलबार, २ बजेपछि सार्वजनिक गर्ने जनाएको छ ।
