कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढ्यो, ६४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारमा आएका सबै उपसमूह बढ्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १९.२७ अंकले बढेको छ । अघिल्ला चार कारोबार दिन लगातार बढेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति दोहोरिएको हो । अघिल्लो दिनको तुलनामा ०.७२ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ७४ दशमलव २० विन्दुमा उक्लिएको छ । अघिल्ला साताहरूमा प्रायः दिनमा घटेको नेप्से गत सातादेखि लगातार बढिरहेको छ ।
कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढ्यो, ६४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारमा आएका सबै उपसमूह बढ्यो । आइतबार पनि सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावर पब्लिकको ६.७४, एनआईबीएल ग्रोथ फन्डको ६ र गुडविल फाइन्नासको ३.६२ प्रतिशतले सेयर मूल्य बढ्यो ।
यीसँगै १ सय ८७ वटा कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य बढेको छ । ती कम्पनीको सेयर मूल्य बढेपछि सेयरधनीको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिएको हो । तर, ६४ वटा कम्पनीका सेयरधनीले भने नोक्सान व्यहोरेका छन् । ती कम्पनीको सेयर मूल्य घटेपछि उनीहरूको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिएको हो । जसअनुसार हिमस्टार ऊर्जा कम्पनीको ४.१६ र कर्पोरेट विकास बैंकको ३.६१ प्रतिशतले सेयर मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आइतबार रिढी विद्युत् कम्पनी सबैभन्दा अघि छ । प्रतिकित्ता ८ सय ५६ रुपैयाँका दरले यो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । तर, ११ वटा कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य भने न नाफा न घटाको अवस्थामा छ ।
आइतबार कुल ५५ हजार २ सय ६ पटकको किनबेचमा ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढ्न सकेको हो । जसअनुसार बैंकिङ उपसमूहको परिसूचक ०.७९, विकास बैंकको ०.७७, वित्त कम्पनीको २.२२, होटेल तथा पर्यटनको ०.४१, जलविद्युत्को ०.४७, लगानीको ०.५८, जीवन बिमाको ०.५९, उत्पादन तथा प्रशोधनको ०.६५, लघुवित्तको ०.३८, सामूहिक लगानी कोषको ०.०१, निर्जीवन बिमाको ०.४१, अन्यको १.१९ र व्यापारको १.१२ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।
नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब ३२ अर्बले फैलिएको छ । जसअनुसार गत बिहीबार ४४ खर्ब ६६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४४ खर्ब ९८ अर्ब रुपैयाँ कायम रहेको नेप्सेले जनाएको छ ।
