पर्यटक उद्धारका नाममा ‘फेक रेस्क्यु’ गरी ठगी गरेको आरोपमा राजेन्द्रबहादुर सिंह वायुसेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्षसमेत हुन्
What you should know
काठमाडौँ — पर्यटक उद्धारका नाममा ‘फेक रेस्क्यु’ गरी ठगी गर्ने गिरोहमा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबारसम्म ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाउँदै थप दुई जना पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।
पछिल्लो समय पक्राउ पर्नेमा माउन्टेन हेलिकोप्टर्स प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभल कम्पनी प्रालिका सञ्चालक सन्दीप तिवारी छन् ।
५६ वर्षीय सिंह वायुसेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्षसमेत हुन् । ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीले पर्यटकको फर्जी उद्धार गरी ठगी गर्ने गिरोहमा पक्राउ परेका अभियुक्तले उपलब्ध गराएको अडियो प्रमाणका आधारमा सिंहलाई काठमाडौंमा पक्राउ गरिएको बताए । उनले सिंहको संलग्नता माउन्टेन एयर र वायुसेवा सञ्चालक संघकातर्फबाट पुष्टि भइनसकेको बताउँदै ‘व्यक्तिगत संलग्नता’ देखिएको अभियोगका आधारमा पक्राउ गरिएको बताए ।
सिंह यसअघि तत्कालीन केपी शर्मा ओली सरकारद्वारा पूर्वन्यायाधीश अनिल सिन्हाको संयोजकत्वमा गठित उच्चस्तरिय नागरिक उड्डयन अध्ययन समितिमा हवाई विज्ञका रूपमा सदस्य थिए । जेन-जी आन्दोलनपछि सिन्हा मन्त्री भएपछि नेपालको समग्र हवाई क्षेत्रको सुधारसम्बन्धी अध्ययन प्रतिवेदन यिनै सिंहले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका थिए ।
सिंह आबद्ध माउन्टेन एयरका अध्यक्ष पूर्वएआईजी विज्ञानराज शर्मा हाल गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जेन-जी आन्दोलनको न्यायिक जाँचबुझ आयोगका सदस्य छन् ।
०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको छानबिन समितिको प्रतिवेदनले माउन्टेन हेलिकोप्टरको पनि संलग्नता देखाउँदै थप अध्ययन गर्न सुझाएको थियो । सिंहबारे केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख केसीले, माउन्टेनका तर्फबाट नभई व्यक्तिगत संलग्नताका आधारमा पक्राउ गरेको कान्तिपुरसँगको कुरामा बुधबार बताएका छन् ।
प्रहरीका अनुसार विभिन्न ट्रेकिङ कम्पनी तथा उद्धार सेवासँग सम्बन्धित व्यक्तिहरूले मिलेमतोमा पर्यटकहरूलाई अनावश्यक रूपमा हेलिकप्टरमार्फत उद्धार गरिएको देखाई बीमा कम्पनीबाट रकम असुल्ने गरेको खुलासा भएको छ । ‘यस प्रकरणमा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ,’ केन्द्रको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले विदेशी पर्यटकलाई अनावश्यक रूपमा हेलिकोप्टर उद्धार गरिएको देखाई नक्कली कागजात तयार पार्ने, अस्पताल भर्ना तथा डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट, इन्भ्वाइस र बिमा पोलिसी मिलेमतोमा बनाउने र बिमा कम्पनीबाट ठूलो रकम असुल्ने कार्य गर्दै आएका थिए ।
अनुसन्धानमा संलग्न व्यक्तिहरूले ट्रेकिङ कम्पनी, उद्धार सेवा प्रदायक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी यात्रु मेनिफेस्टो, कार्गो मेनिफेस्टो (सूची) लगायतका विवरणहरू समेत फर्जी बनाएको पाइएको केन्द्रको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो प्रकरणमा संलग्न व्यक्तिहरूमाथि संगठित अपराध तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
