काठमाडौं–केरुङ रेलमार्गको अन्तिम अध्ययन प्रतिवेदन असारभित्र

सम्भाव्यता अध्ययनमा धेरै कुरा समेटिएको हुन्छ, अध्ययनबाट आयोजनालाई कार्यान्वयनमा लैजाने या नलैजाने, निर्क्योल हुन्छ : बोध भण्डारी सूचना अधिकारी, रेल विभाग

फाल्गुन १२, २०८२

विमल खतिवडा

Final study report on Kathmandu-Kerung railway to be submitted by Asad

What you should know

काठमाडौँ — आगामी असारभित्र काठमाडौं–केरुङ रेलमार्गको अन्तिम अध्ययन प्रतिवेदन आउने भएको छ । स्थलगत अध्ययन सकेर चिनियाँ प्राविधिक टोलीले यसलाई अन्तिम रूप दिँदै छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पुस २०७९ मा नेपाल आएको चिनियाँ प्राविधिक टोलीले २०८० माघको पहिलो साता पहिलो चरणको अध्ययन सकेको थियो । दोस्रो चरणको अध्ययन २०८१ चैत अन्तिममा सकिएको थियो । 

‘चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप’ को प्राविधिक टोलीले नेपालमा बसेर यसको अध्ययन गरेको हो । ४२ महिना समय तोकिएको भए पनि त्योभन्दा १५ महिना पहिल्यै अध्ययनको काम सकिएको हो । अध्ययन टोलीलाई असार २०८३ सम्म समय दिइएको थियो । अध्ययनपछि पनि प्रतिवेदन फाइनल गर्न समय लाग्ने भएकाले आउँदो असारसम्म समय दिइएको हो । 

सम्भाव्यता अध्ययनमा धेरै कुरा समेटिएको हुन्छ, अध्ययनबाट आयोजनालाई कार्यान्वयनमा लैजाने या नलैजाने, निर्क्योल हुन्छ : बोध भण्डारी सूचना अधिकारी, रेल विभाग अध्ययन सकिएकाले उक्त समयभित्र अन्तिम अध्ययन प्रतिवेदन आउने रेल विभागका सूचना अधिकारी बोध भण्डारीले बताए । ‘फिल्ड तहको अध्ययन सकिइसकेको छ,’ उनले भने, ‘चिनियाँ टोलीले उतै गएर रिपोर्ट तयार गरिरहेका छन्, असारसम्म अन्तिम रिपोर्ट आउँछ ।’ उनका अनुसार अन्तिम प्रतिवेदनबाट निर्माणमा लाग्ने समय, लागत र दूरी यकिन हुनेछ ।  

‘अन्तिम प्रतिवेदन चिनियाँ प्राविधिकले चीन सरकार र हामीलाई सँगै बुझाउँछन्,’ भण्डारीले भने, ‘यो सम्भाव्यता अध्ययन हो, यसमा धेरै कुरा समेटिएको हुन्छ, अध्ययनबाट आयोजनालाई कार्यान्वयनमा लैजाने या नलैजाने, निर्क्योल हुन्छ ।’ यो अध्ययन आयोजना कार्यान्वयनमा लग्न सक्ने मिल्ने गरी नै हुने भण्डारीको भनाइ छ । रेलमार्गले छुने जिल्ला काठमाडौं, नुवाकोट र रसुवामा सम्भाव्यता अध्ययन गरिएको हो । तीन जिल्लामै अध्ययनका क्रममा ड्रिलिङ गरेर माटो निकालिएको थियो । रेलमार्गले छुने सम्भावित स्थान छानेर त्यहाँबाट माटो, ढुंगा, पानी, चट्टानको नमुना संकलन गरी केहीको नेपालमा र केहीको चीन लगेर परीक्षण गरिएको थियो । 

सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्छन्, त्यो पनि थाहा हुनेछ । अन्तिम रिपोर्ट तयार भएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर निर्माणको काम अघि बढाइनेछ । चिनियाँ टोलीलाई अध्ययनमा रेल विभागका इन्जिनियर टोलीले सघाएको थियो । 

रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्गको दूरी ७२ किमि रहनेछ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन मंसिर २०७५ भएको थियो । त्यसपछि असोज २०७६ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । 

चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिनेछ । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा यसको अध्ययन भएको हो । 

रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम प्रतिवेदन अझै आएन 

रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम प्रतिवेदन अझै टुंगो लागेको छैन । भारतको कोंकण रेलवे कर्पोरेसनले यसको फाइनल प्रतिवेदन तयार गरिरहेको रेल विभागले जनाएको छ । अध्ययन रिपोर्टमा थप गर्नुपर्ने बुँदा समेटेर पठाइसकिएको भण्डारीले बताए । कोंकणले २२ महिना लगाएर फिल्ड सर्भे गरेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई असार २०८० मा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन हेरेर थपघट गर्नुपर्ने विषय समावेश गरी गत २०८१ वैशाख अन्तिममा परराष्ट्र मन्त्रालय पठाइएको थियो । 

प्रतिवेदनमा केही विषय प्रस्ट गरेर पठाउन भन्दै परराष्ट्रले पुनः भौतिक मन्त्रालय नै फर्काएको थियो । त्यसपछि असोज २०८१ मा अन्तिम प्रतिवेदन परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावास पठाइएको थियो । पछि फेरि थप गरेर पठाएको भए पनि अन्तिम प्रतिवेदन आइसकेको छैन । सुरुको अध्ययन प्रतिवेदनमा काठमाडौं–तराई/ मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई रेलमार्गले कसरी जोड्छ र स्टेसन कहाँ हुने हो भनेर प्रस्ट पार्न भन्दै पठाइएको थियो । 

फाइनल रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखाका प्रमुख कृष्णराज पन्थले बताए । कोंकणले गरेको सर्भेको प्रतिवेदनअनुसार रेलमार्ग निर्माणका लागि ४ खर्ब लाग्नेछ । यो मुआब्जा बाहेकको रकम हो । 

मुआब्जाका लागि थप ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अन्तिम सर्भेअनुसार यसको दूरी १४०.७९ किमि हुनेछ । यसमा सबै गरी ४२ किमिका ३२ सुरुङ रहनेछन् । १२४ वटा ठूला पुल र १२ वटा स्टेसन निर्माण गरिने सर्भे प्रतिवेदनमा उल्लेख छ । अहिलेको दूरी रक्सौलस्थित ४ किमि भारततर्फबाट सुरु भई ललितपुरको खोकनासम्म आउने उल्लेख छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully