यस वर्ष ४ लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएकामा ५ लाख स्टिक खपत भएको नेपाल फ्लोरीकल्चर एसोसिएसनले जनाएको हो ।
काठमाडौँ — यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन्स डे)को साताभर ५ लाख स्टिक गुलाब खपत भएको छ । गत वर्षको तुलनामा यस वर्ष गुलाबको खपत १७.६५ प्रतिशतले वृद्धि भएको नेपाल फ्लोरीकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । यस वर्षको भ्यालेन्टाइन्स डे सप्ताह माघ २५ बाट सुरु भई फागुन २ मा सकिएको हो ।
यस वर्ष ४ लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएकामा ५ लाख स्टिक खपत भएको फ्यानले जनाएको छ । भ्यालेन्टाइन्स डे साताभर ७ करोड रुपैयाँभन्दा बढीको गुलाब खरिदबिक्री भएको फ्यानका महासचिव हिरामणी शर्माले बताए ।
बजार मागको ६० प्रतिशत काठमाडौं उपत्यकामा र ४० प्रतिशत बाहिरी मुख्य सहरमा खपत भएको उनले सुनाए । गुलाबको आन्तरिक उत्पादनले ३० प्रतिशत र आयातित ७० प्रतिशत रहेको फ्यानले जनाएको छ ।
यस वर्ष प्रतिस्टिक गुलाब १२० रुपैयाँदेखि १६० रुपैयाँमा किनबेच भएको शर्माले बताए । माग र मूल्य दुवै बढ्दा व्यवसायीहरुमा उत्साह थपिएको उनको भनाइ छ ।
आगामी वर्षहरुमा गुलाबको फूलको आन्तरिक उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने दिशामा पहल आवश्यक रहेको फ्यानले जनाएको छ ।
