८ अर्ब ६१ करोडभन्दा बढीको अलैंची निर्यात

चालु आवको अहिलेसम्म ४ हजार १५३ दशमलव १५ मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

फाल्गुन १०, २०८२

रासस

Cardamom exports worth over Rs 8.61 billion

What you should know

काठमाडौँ — मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैंची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयका अनुसार उक्त अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैंची निर्यात भएको हो । 

चालु आवको अहिलेसम्म ४ हजार १५३ दशमलव १५ मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा ५ अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैंची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा २  अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ ।  २०८१/८२ को सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१ दशमलव १० प्रतिशत, छुर्पी ६३ दशमलव ३० प्रतिशत, अदुवा, सुठो एक सय एक दशमलव ८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ३१६ दशमलव २० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी प्लाउड ४० दशमलव ९० प्रतिशत, अम्रिसो २४ दशमलव ९० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्त सम्ममा रु १६ अर्ब तीन करोड १५ लाख ८३ हजार बराबरको मालवस्तु निर्यात भएको छ । 

रासस

Link copied successfully