२५ मिटर मोटरेबल पुल बन्न आठ वर्ष

फलेवास नगरपालिका–६ देवीस्थान र वडा–१० कुर्घामा अवस्थित लमाएखोला मोटरेबल पुल निर्माण कार्य आठ वर्षमा सकिएको हो ।

फाल्गुन ८, २०८२

सुमनजंग थापा

Eight years to build 25-meter motorable bridge

What you should know

पर्वत — कालीगण्डकी लोकमार्ग अन्तर्गतको पर्वत खण्डमा पर्ने एक मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

फलेवास नगरपालिका–६ देवीस्थान र वडा–१० कुर्घामा अवस्थित लमाएखोला मोटरेबल पुलको निर्माण कार्य आठ वर्षमा सकिएको हो । कालीगण्डकी लोकमार्ग उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना हो ।

लोकमार्ग अन्तर्गत स्याङ्जाको मिर्मीदेखि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीसम्म सडक निर्माण भइसक्दासमेत लमाएखोलाको पुलले गति लिन नसक्दा सोझो यातायात हुन सकेको थिएन । स्याङ्जाको मिर्मीदेखि लमाएखोलासम्म सडक कालोपत्र भइसकेको छ । पुल निर्माण भएस“गै सवारीसाधनको यात्रा समय र दूरी घटेको छ ।

‘पुल नहुँदा लामो बाटो घुमेर चिर्दिखोला हुँदै कुश्मा जानुपर्थ्यो, लगभग १० किलोमिटरजति बढी यात्रा गर्नुपर्ने बाध्यता थियो,’ विहादीका हरि न्यौपानेले भने, ‘कुश्मा, बागलुङ, मुस्ताङ पुग्ने पर्यटकदेखि स्याङ्जा, पाल्पा र बुटवल पुग्ने हरेक यात्रुका लागि अहिले यात्रा सहज भएको छ ।’ पुल निर्माणपछि आसपासका स्थानीय खुसी छन् । ओरालो लागेको व्यापार–व्यवसाय फेरि उकासिनेमा उनीहरू आशावादी देखिएका छन् ।

फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले पुल निर्माण सम्पन्न भए पनि देवीस्थानदेखि अर्मादीसम्मको सडक कालोपत्रको काम बाँकी रहेको बताए । ‘कालोपत्रका लागि ठेक्का पनि लागिसकेको छ,’ उनले भने, ‘पुल छेउछाउको सडकमा सानोतिनो पहिरो थियो, त्यसलाई पन्छाएर अहिले पुलबाटै गाडी हिँड्ने बनाएका छौं।’

दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ मा सम्झौता भई २०७५ पुस १९ देखि पुल निर्माण सुरु भएको थियो । सुरुवाती चरणदेखि नै विवादका कारण निर्माण कार्य पटक–पटक अवरुद्ध बन्दै आएको थियो । गत असारमा पुलको दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारी हु“दै गर्दा लमाएखोलाको बाढीले पुलका निर्माण सामग्री बगाएको थियो ।

५ करोड ८९ लाख ८९ हजार २ सय ७७ रुपैयाँ लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँ बाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मेवारी दिएको थियो । पुल २५ मिटर लामो र ११ मिटर चौडा रहेको छ ।

कालीगण्डकी लोकमार्ग (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना, पाल्पाले कालीगण्डकी लोकमार्गको व्यवस्थापन गर्छ । स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतिबेनी–बाच्छा–कुर्घा–फलेवास हुँदै अर्मादीसम्म करिब ५३ किलोमिटर दूरी रहेको छ ।

यस योजनाले मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा महेन्द्र राजमार्गलाई जोड्ने सडकका रूपमा काम गर्नेछ । साथै यस सडकले देवघाट, रिडी, सेतिबेनी, मुक्तिनाथ र दामोदर कुण्ड जस्ता धार्मिक महत्वका स्थानलाई जोड्ने भएकाले यो सडक निकै महत्वपूर्ण रहेको नगरप्रमुख तिवारीले बताए ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully