तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइन सञ्‍चालनमा

करिब चार अर्ब ७६ करोड लागतको सबस्टेशन र प्रसारणलाइन निर्माणसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङलगायतका जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Tamghas-Burtibang 132 kV transmission line operational

What you should know

गुल्मी — नेपाल विद्युत्् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा  सबस्टेसनको स्थलगत अनुगमन गरेका छन् ।लाइन निर्माण सम्पन्नपछि सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरेका हुन् ।

गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६ एमभीए) , बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सबस्टेशन तथा लाइनको स्थलगत अनुगमन गरे ।

शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परिक्षणमा रहेको उनाएचौरस्थित तम्घास सबस्टेसनबाट बुर्तिबाङ सबस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्रसारणलाइन चार्जमा ल्याएको प्राधिकरणले जानकारी दिएको छ ।  

शाक्य नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक केदारराज सिलवाल र मझौला भोल्टेज ग्रिड विकास विभागका निर्देश अच्युतबाबु घिमिरेलाई साथमै लिएर ती सबस्टेशनहरु र लाइनको स्थलगत अनुगमनमा पुगेका थिए ।

अनुगमनपछि शाक्यले विद्युत् आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उदेश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्त्वपूर्ण रूपमा लिएको जानकारी दिए ।

Tamghas-Burtibang 132 kV transmission line operational

‘यहाँबाट पौँदीअमराइ सवस्टेसन र बुर्तिबाङ सबस्टेसनबाट प्रसारण सुरु भएको छ । पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत् आपूर्तिमा समस्या हुने अवस्था थियो,’ उनले भने, ‘अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भैसकेपछि विद्युत् नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु । यो भरपर्दो विद्युत् आपुर्तिका लागि सकारात्मक कुरा हो ।’ 

यी सवस्टेशनमा चार्ज भएसँगै उद्योग–व्यवसायीहरुलाई समेत प्राधिकरणले भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन सक्नेमा प्राधिकरण आशावादी रहेको बताए । ‘अब यी क्षेत्रमा कृषि उद्योग, साना उद्योग र ठूलाठूला उद्योग–व्यवसायका लागि आवश्यक विद्युत् दिन प्राधिकरण सक्षम हुनेछ र ती व्यवसाय पनि थप फस्टाउनेमा हामी आशावादी छौँ,’ उनले भने, ‘प्राधिकरणले यो क्षेत्रमा गरेको लगानीले यहाँको अर्थतन्त्रलाई थप माथि उठाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ भन्नेमा हामी आशावादी छौँ ।’ 

उनले गाउँ वा पहाडबाट तराई झरेर विदेश जाने क्रमलाई पनि रोक्न थोरै भए पनि सहयोग पुग्नेमा समेत प्राधिकरण आशावादी रहेको उल्लेख गरे ।

पाँच वटा सवस्टेशन हुँदै यहाँसम्म आइपुगेको भन्दै यी क्षेत्रका वरिपरिका गाउँलाई भरपर्दो विद्युत् दिने र निजी प्रवर्द्धकहरुको बिजुलीलाई ग्रीडमा जोड्न सजिलो हुने उल्लेख गरे । ‘३३/११ केभीबाट बिजुली गैरहेको अवस्थामा अब १३२ केभी डबल सर्किट प्रसारणलाइनबाट जान पाउँदा निजी प्रवद्र्धक र गाउँका जनताका लागि पनि महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘यो वरिपरि पम्पस्टोरेज आयोजनाहरु बन्ने सम्भावना देखिएको छ । १३२ केभीले त्यसका लागि समेत ढोका खोलेको छ ।’ 

उनले बुर्तिबाङ क्षेत्र आफ्नै प्रयासबाट लघु जलविद्युत् बनाउने उद्यमीको रुपमा परिचित रहेको भन्दै हाल विस्थापित अवस्थामा पुग्ने अवस्था रहेको भन्दै प्राधिकरणको सञ्जाल विस्तारसँगै उनीहरुसँग बृहत् छलफल गरेर प्राधिकरणकै सञ्जालमा जोड्दै सञ्चालनमा ल्याउने अवसर भएकाले सहजीकरण गरिदिने आश्वासन दिए ।

दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको भन्दै अब नियमित विद्युत्् प्रवाह हुने उनले बताए ।

आयोजना प्रमुख मनोजप्रसाद चौधरीले यो आयोजना कपिलवस्तुको मोतीपुरदेखि बागलुङ जिल्लाको बुर्तिबाङसम्म पाँच ओटा सबस्टेसन रहेको भन्दै यो आयोजना  पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्नेमा आशावादी रहेको बताए ।  

‘यो आयोजना अन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै गुल्मीको उनाएचौर र पौँदीअमराइमार्फत बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ,’ उनले भने, ‘विगत करिब दुई वर्षदेखि १३२ केभी लाइनमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको थियो । अब बुर्तिबाङ खण्ड सञ्चालनमा आएसँगै सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएका छन् ।’ 

पहाडी जिल्लामा लामो दुरीबाट विद्युत् आपूर्ति गर्दा भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या पनि अब घट्नेमा आशावादी रहेको प्राधिकरणले जनाएको छ ।  करिब चार अर्ब ७६ करोड लागतको सबस्टेशन र प्रसारणलाइन निर्माणसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङलगायतका जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने  अपेक्षा प्राधिकरणले लिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully