तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको सात सय मिटरमा एकतर्फी कालोपत्र गरी सकिएको छ । अर्कोतर्फ पनि कालोपत्र गर्ने तयारी हुँदै छ ।
What you should know
काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारको चर्चा चलेको ७ वर्ष पुग्दा पनि काम सुरु नभएका बेला तेस्रो खण्डमा भने अहिले कालोपत्रको काम हुँदै छ । तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको सात सय मिटरमा एकतर्फी कालोपत्र गरी सकिएको छ । अर्कोतर्फ पनि कालोपत्र गर्ने तयारी हुँदै छ ।
६ फागुन ०८१ म भएको ठेक्का सम्झौता अनुसार काम २५ असार ०८२ भित्र यसखण्डको काम सकिसक्नुपर्ने थियो ।
उक्त समयभित्र काम नसकिएपछि आगामी १३ फागुनसम्म म्याद हुँदा प्रगति ६५ प्रतिशत छ । तर, उक्त समयभित्र काम सकिने अवस्था भने देखिँदैन । सबै निर्माणको काम सकिएर अहिले मुख्य रूपमा कालोपत्रको काम मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने दाबी सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाको छ ।
‘दुई/चार दिन तलमाथि होला, तर काम सक्न समस्या छैन,’ उनले भने, ‘मुख्य काम सकिसकेको छ, अब कालोपत्र गर्न मात्र बाँकी छ, एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको छ ।’ ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । भ्याटसहित ठेक्का रकम २४ करोड रुपैयाँ रहेको उनले बताए । यसलाई ६ लेनमा विस्तार गरिएको हो ।
‘अब चप्पल कारखानादेखि गोपीकृष्ण पुलसम्म सडक विस्तार गर्ने तयारीमा छौं, त्यसका लागि ५१ करोड रुपैयाँको स्रोत सहमति माग गर्दै राष्ट्रिय योजना आयोग पठाएका छौं,’ उनले भने, ‘जुन खण्डको दूरी करिब १२ सय मिटर छ ।’
स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोग पठाएको दुई महिना भइसके पनि थप जानकारी केही नआएको उनले बताए । ‘स्रोत सहमति पाए चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया अघि बढाउाछौं,’ उनले भने ।
![Blacktopping underway in Narayangopal Chowk-Chappal Karkhana section [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/money-finance/ringroadexpanssionprojectlabourworking02162026dsc2468-1822026101518-1000x0.jpg&w=1001&h=0)