भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजना लिट्मस इन्डस्ट्रिजलाई स्वीकृति

यस स्वीकृतिसँगै लिट्मस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एक मात्र नेपाली उत्पादक बनेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

India's Central Broadcasting Authority approves Litmus Industries' cross-border power project

What you should know

काठमाडौँ — नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिसम्बन्धी महत्त्वपूर्ण सम्झौता हासिल गरेको छ । 

पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, जसले देशको अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्छ । सम्झौताअनुसार लिट्मस इन्डस्ट्रिजले ४०० केभी एसीएसआर मूस कन्डक्टर  २ हजार ७ सय ९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । यी कन्डक्टर नेपालको डिडिङ–ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिनेछ । ‘उक्त प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ ।

नेपालमै पहिलो पटक ४०० केभी एसीएसआर मुस कन्डक्टर उत्पादन हुन लागेको हो । यसले देशको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

परियोजना स्वीकृत गर्नुअघि पावर ग्रिड कर्पोरेसन अफ इन्डियाले लिट्मस इन्डस्ट्रिजको कारखानाको गहन मूल्यांकन गरेको कम्पनीले जनाएको छ । यस क्रममा उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली, साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘यस गहन मूल्यांकनपछि लिट्मस इन्डस्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एक मात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी लिट्मसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल भएर छनोट हुनु नेपालको लागि गौरवको विषय हो ।’

ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्त्वपूर्ण ऊर्जा आयोजनामध्ये एक अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित मुख्य सीमापार संयोजन हो । ‘९०० मेगावाट क्षमताको यो आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । यसले औद्योगिक विकासलाई सहयोग गर्ने र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्ने विश्वास गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

लिट्मस इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प समूहअन्तर्गतको उद्योग, सन् १९७७ देखि चार दशकभन्दा बढी समयदेखि नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको उद्योग हो । 

कान्तिपुर

Link copied successfully