पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चरबीच दीगो पर्यटन प्रवर्द्धनमा सहकार्य 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले दीगो पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Tourism Board and Wakayama Prefecture collaborate to promote sustainable tourism

काठमाडौं — नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चरबीच दीगो पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवर्द्धन, ज्ञान तथा अनुभव आदान–प्रदान र दीगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरेका हुन् । 

वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यस समझदारीले दुई क्षेत्रबीच पर्यटन प्रवर्द्धन थप मजबुत हुने विश्वास व्यक्त गरे।

समझदारीले संयुक्त पर्यटन प्रवर्द्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदान–प्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदान–प्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य, साथै सांस्कृतिक रूपमा सम्मानजनक र दीगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानबाट गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमणलाई स्वागतयोग्य कदम भन्दै नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको सन्दर्भमा यो सहकार्य दीगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताए ।

कान्तिपुर

Link copied successfully