पछिल्लो समय विश्वभरका सरकारहरुले एआईमा आधारित रक्षा प्रणाली विकास गर्न अर्बौं डलर लगानी गरिरहेका छन्, सैन्य क्षेत्रमा एआईको प्रयोग सूचना संकलन, साइबर सुरक्षा र व्यवस्थापनमा केन्द्रित देखिन्छ।
What you should know
काठमाडौँ — गत महिना भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा गरेका छन् ।
यसलाई सक्रिय सैन्य कारबाहीमा अमेरिकी एआई प्रणाली प्रयोग गरिएको र विश्वभरका भूराजनीतिक तनावमा बढ्दो एआई प्रयोगको बलियो उदाहरणका रूपमा हेरिएको छ ।
पछिल्लो समय विश्वभरका सरकारहरूले एआईमा आधारित रक्षा प्रणाली विकास गर्न अर्बौर् ंडलर लगानी गरिरहेका छन् । सैन्य क्षेत्रमा एआईको प्रयोग सूचना संकलन, साइबर सुरक्षा र व्यवस्थापनमा केन्द्रित देखिन्छ । सुरक्षा अधिकारीहरूका अनुसार एआईले अनुसन्धान र तथ्यांक विश्लेषणको समयलाई घटाउन मद्दत गरेको छ । यसले गर्दा निजी क्षेत्रका एआई कम्पनी र सरकारबीचको सहकार्य पनि बढ्दै गएको छ । एन्थ्रोपिकको क्लड एआई पनि पालान्टिर टेक्नोलजिजसँगको साझेदारीमा पेन्टागनले प्रयोग गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आधुनिक युद्धमा एआईको भूमिका निर्णायक हुने देखिएपछि यस क्षेत्रमा ठूलो आर्थिक प्रतिस्पर्धा सुरु भएको ‘युरोपियन पार्लियामेन्ट्री रिसर्च सर्भिस’ ले आफ्नो ब्रिफिङ रिपोर्टमा उल्लेख गरेको छ । पेन्टागनले सन् २०२४ का लागि एआईसम्बन्धी अनुसन्धान र विकासमा मात्रै १.८ अर्ब अमेरिकी डलर विनियोजन गरेको उक्त रिपोर्टमा भनिएको छ । अमेरिकाको कुल डिफेन्स इन्नोभेसन बजेट ३४ अर्ब डलर छ । हाल पेन्टागनले ६८५ भन्दा बढी एआई परियोजना सञ्चालन गरिरहेको छ ।
शनिबार वालस्ट्रिट जर्नलमा प्रकाशित समाचारअनुसार पेन्टागनले मदुरो दम्पतीलाई नियन्त्रणमा लिने अपरेसनको तयारीका क्रममा एकदमै ठूलो मात्रामा संकलित गुप्तचर सूचनाको विश्लेषण र संश्लेषण गर्न क्लडको सहारा लिएको थियो । भूउपग्रह तस्बिर, जासुसी उपकरणको प्रयोगबाट थुपारिएका सञ्चार सामग्री तथा अन्य अति गोप्य डेटा स्ट्रिमहरू विश्लेषण गरी मदुरोको गतिविधि, सम्बन्धित दैनिक जीवनको ढाँचा र सम्भावित स्थान पहिचान गर्न एआई प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार उक्त प्रणालीलाई स्वचालित रूपमा आक्रमणको स्थान छनोट वा आक्रमणका लागि स्वीकृति दिन नभई निर्णय प्रक्रियाको गति बढाउन सहयोगी उपकरणका रूपमा प्रयोग गरिएको थियो ।
रोयटर्सले पनि वालस्ट्रिट जर्नलको रिपोर्ट उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । अमेरिकी उच्च अधिकारीहरूले एन्थ्रोपिकद्वारा विकसित एआई प्रणाली अपरेसनका क्रममा प्रयोग गरिएको पुष्टि गरेका छन् । तर सो परिचालनबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन् । रोयटर्सले जनाएअनुसार पेन्टागनले यसलाई उन्नत एआई प्रविधिहरूलाई गुप्तचर र योजना प्रक्रियामा समावेश गर्ने व्यापक प्रयासको एक हिस्साका रूपमा व्याख्या गरेको छ । यद्यपि, अन्तिम निर्णय र प्रमुख आदेश मानव सैन्य अधिकारीहरूले नै लिएको स्पष्ट पारेको छ ।
सान फ्रान्सिस्कोमा अवस्थित एआई कम्पनी एन्थ्रोपिकले यसअघि आफ्ना मोडेलहरूको सैन्य प्रयोगबारे निश्चित सर्तहरू रहेकामा जोड दिँदै आएको थियो । कम्पनीले आफ्ना प्रणालीहरू प्रत्यक्ष युद्ध नियन्त्रणभन्दा विश्लेषण र सारांश तयार पार्ने कार्यका लागि डिजाइन गरिएको बताएको छ । तर पेन्टागन वा एन्थ्रोपिकले उक्त सहकार्यको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । अमेरिकी रक्षा र सैन्य क्षेत्रमा पछिल्ला वर्षहरूमा एआई आधुनिकीकरणसम्बन्धी प्रयासका लागि अर्बौं डलर विनियोजन गरिएको छ । समाचारहरूका अनुसार लगभग १४ अर्ब अमेरिकी डलर यही एक आर्थिक वर्षका लागि माग भएको छ ।
यो खुलासाले एआई प्रयोगात्मक रक्षा कार्यक्रमबाट वास्तविक युद्ध वा सैन्य परिचालनतर्फ बढ्दै गरेको तथ्य थप स्पष्ट बनाएको छ । अमेरिकाले यसअघि ‘प्रोजेक्ट माभेन’ जस्ता प्रयासमार्फत आतंकवाद विरुद्धका कारबाहीमा ड्रोन फुटेज विश्लेषण गर्न मेसिन लर्निङ प्रणाली प्रयोग गरेको थियो । एआई पूर्वाधार निर्माण गर्न ५०० अर्ब डलरको ‘स्टारगेट प्रोजेक्ट’ पनि ट्रम्पले सुरु गरेका छन् । इजरायलले पछिल्ला द्वन्द्वहरूमा आक्रमणको योजना र लक्ष्यसम्बन्धी डेटा प्रशोधन गर्न एआई उपकरण प्रयोग गरेको स्वीकार गरेको छ । युक्रेनले सैनिक गतिविधि ट्र्याक गर्न एआई–इन्ह्यान्स्ड तस्बिर विश्लेषण प्रणाली प्रयोग गरेको स्विकारेको छ ।
चीनले एआईमा आधारित रक्षा प्रणालीका लागि ठूलो रकम खर्च गरिरहेको छ । सन् २०२४ मा चीनको कुल रक्षा खर्च ३३० अर्बदेखि ४५० अर्ब डलरसम्म पुगेको अनुमान छ । चीनले विशेषगरी स्वचालित सैन्य सवारीसाधन र ‘स्वार्म टेक्नोलोजी’ विकासमा जोड दिएको बताइन्छ । रुसले सन् २०२५ सम्ममा आफ्ना ३० प्रतिशत सैन्य उपकरणहरूलाई स्वचालित बनाउने लक्ष्य राखेको छ । रुसी सेनाले युक्रेनसँगको युद्धमा ड्रोन र इलेक्ट्रोनिक वारफेयरका लागि एआईको सक्रिय प्रयोग गरिरहेको छ ।
युरोपेली संघले आफ्नो रक्षा क्षमता सुदृढ गर्न ‘रिआर्म युरोप प्लान’ अन्तर्गत ८०० अर्ब युरोसम्मको कोष परिचालन गर्ने योजना अघि सारेको छ । ‘युरोपियन डिफेन्स फन्ड’ ले आफ्नो वार्षिक बजेटको ४ देखि ८ प्रतिशत हिस्सा एआईजस्ता उदीयमान प्रविधिमा लगानी गर्ने जनाएको छ ।
फ्रान्सले सन् २०३० सम्ममा एआई रक्षा बजेटका लागि २ अर्ब युरो खर्च गर्ने निर्णय गरेको छ । फ्रान्सले रक्षा क्षेत्रमा एआई प्रयोग गर्न ३०० मिलियन युरो बजेटसहितको ‘मिनिस्ट्रियल एजेन्सी फर आर्टिफिसियल इन्टेलिजेन्स इन डिफेन्स’ स्थापना गरेको छ । जर्मनीमा पनि ‘हेल्सिङ’ जस्ता निजी कम्पनीहरूले सैन्य एआई सफ्टवेयर विकास गर्न ४५० मिलियन युरो भेन्चर क्यापिटल लगानी प्राप्त गरेका छन् ।
‘एमआईटी स्लोन’ का अनुसार राष्ट्रिय सुरक्षामा एआईको प्रयोगले तथ्यांक प्रशोधन गर्ने क्षमतालाई धेरै गुणाले बढाएको छ । यसले गर्दा आगामी वर्षहरूमा विभिन्न देशको रक्षा बजेटको ठूलो हिस्सा प्रविधि र एआईमा केन्द्रित हुने देखिएको छ । रक्षा क्षेत्रमा एआईको यो बढ्दो प्रयोगले विश्वव्यापी रूपमा नयाँ हतियार दौडको जोखिमसमेत बढाएको विज्ञहरूले औंल्याएका छन् । साथै, व्यावसायिक रूपमा उपलब्ध एआई मोडेलहरूलाई संवेदनशील सैन्य कारबाहीमा प्रयोग गरिँदा निगरानी र नियमनसम्बन्धी प्रश्नहरू पनि उठेका छन् । वालस्ट्रिट जर्नलका अनुसार पेन्टागनले अति संवेदनशील कार्यमा लार्ज ल्यांग्वेज मोडेलहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने परीक्षण गर्न अग्रणी एआई कम्पनीहरूसँग पाइलट कार्यक्रम विस्तार गर्दै आएको छ । – एजेन्सीको सहयोगमा
