केही बनेको सडक पनि वर्षातमा बगेर पुरानै अवस्थामा पुग्ने गरेको स्थानीयको गुनासो छ । गलकोटतर्फको सडक भने ६ वर्षअघि नै कालोपत्र भएकामा पटक पटक मर्मत गरिए पनि दिगो बन्न नसकेको हो ।
What you should know
बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कतै काम पूरा भएको छैन, कतै बनेको बाटो भत्केर जीर्ण भइसकेको छ । केही स्थानमा भने खाल्डाखुल्डीले सडक कुरूप बनेको स्थानीयले गुनासो गरेका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–५ को घोडाबाँधेदेखि गलकोट नगरपालिकातर्फको सडकमा अस्वाभाविक कालोपत्रका टालैटाला देखिन्छन् । पहिरो खसेको स्थानमा भने सडक जस्ताको त्यस्तै छ । पहिरो हटाउने विषयमा अहिलेसम्म लोकमार्ग आयोजना कार्यालयले वास्ता गरेको छैन ।
बिहुँ खण्डमा वर्षौंदेखि सडक अलपत्र छ । सडक कहिले बनिसक्छ भन्ने यकिन छैन । २०७२ देखि काम गरिरहेको ठेकेदार पक्षले हरेक वर्ष हिउँदमा केही काम गरेपछि अलपत्र छाड्ने प्रवृत्ति हाबी भएको छ । केही बनेको सडक पनि वर्षातमा बगेर पुरानै अवस्थामा पुग्ने गरेको स्थानीयको गुनासो छ । गलकोटतर्फको सडक भने ६ वर्षअघि नै कालोपत्र भएकामा पटक पटक मर्मत गरिए पनि दिगो बन्न नसकेको हो ।
चौराहा, झाँक्रीस्थान आसपास दुई वटा घुम्तीमा सडक भत्केर गाडीसमेत गुड्न जोखिम भएको छ । गलकोट नगरपालिका–९ र ११ को सिमानामा पर्ने भालुमारेमा पनि सडक भत्केको दुई वर्षसम्म मर्मत भएको छैन । हटियादेखि खरवाङसम्मको सडक खण्डमा त खाल्डैखाल्डा परेका छन् ।
साना सवारीसाधन गुड्दा खाल्डाले हैरान हुने गरेको गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापाले बताए । ‘हाम्रो नगरभित्रको सडक जीर्ण छ, नगरको बजेट राख्न नमिल्ने, लोकमार्गले वर्षौंदेखि जीर्ण छाडेको छ,’ उनले भने, ‘सार्वजनिक सुनुवाइदेखि वडामा आउने सेवाग्राहीले
यो सडकको बेहालबारे पटक पटक प्रश्न गर्छन्, तर हामीले केही बताउन सकेका छैनौं ।’ नगरपालिकाको लगानी गर्दा बेरुजु आउने र लोकमार्गले भने चासो नराखेको उनले जनाए ।
पछिल्लो समय यो सडक खण्डमा पश्चिम बागलुङवासी मात्र नभई रुकुम, रोल्पा, जाजरकोट, डोल्पा र दैलेखसम्मका यात्रु वारपार गर्छन् । दैनिक सयौं गाडी गुड्न थालेपछि सडक भत्कने र जीर्ण बन्दै गएको हो । तत्कालीन अवस्थामा बुर्तिवाङसम्मका लागि खुलेको सडकलाई नै मध्यपहाडी लोकमार्गमा सूचीकृत गरेपछि राज्यको लगानी बढाइएको छ ।
तर ठेकेदारहरूको लापरबाहीले कतिपय काम अझै नसकिएको हो भने कतिपय स्थानमा लोकमार्गले सडक डिभिजनलाई हस्तान्तरण गरिसकेको छ । तर सडकको मापदण्डअनुसार सडक बनाउने काम भएको छैन । साथै यहाँका खाल्डा पुर्ने काम पनि नभएपछि यात्रा कठिन बन्दै गएको हो ।
लोकमार्गकै बुर्तिवाङदेखि निसी हुँदै रुकुमतर्फको अधिकांश सडक खण्ड सहज भए पनि निसीखोला गाउँपालिकामा सडकमै जोडेर घर बनाउने क्रम बढेको छ । जसले
गर्दा सडक साँघुरो भएको छ । दैनिकजसो सडक दुर्घटनासमेत हुने गरेको छ । तत्काल सडकको मापदण्डलाई कायम गर्न नसके सडक अत्यधिक साँघुरो हुने निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर विकको भनाइ छ ।
सदरमुकामदेखि बिहुँ खण्डको सडक भने ठेकेदार पक्षको लापरबाहीले ढिला भइरहेको छ । स्थानीयले सडक ठप्प पारेर काम गराउन पहल गरेपछि केही गति लिएको छ । तर यो सडकको समयमा काम सकिन्छ भन्नेमा स्थानीय अझै विश्वस्त बन्न सकेका छैनन् । यो खण्ड बन्दै नबनेको कारणले जति स्थानीय आक्रोशित छन्, पटक पटक बनेर पनि जीर्ण भएको गलकोट खण्डमा पनि स्थानीय आक्रोशित बनेका हुन् । उनीहरूले पनि पटक पटक राज्यको ध्यानाकर्षण गरेका छन् ।
२०६८ सालदेखि थालिएको आयोजनाको काममा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । सडकस्तरीय बनाउँदा स्थानीयलाई पनि समस्या भइरहेको छ । स्थानीय अमर मावि, भीमसेन मावि, खोलातिर आधारभूत विद्यालय, हिमालय आधारभूत विद्यालय, लालीगुराँस बोर्डिङसहित काठेखोला ५ र ६ का स्वास्थ्य चौकीसमेत सडकको समस्याबाट आजित छन् ।
मध्यपहाडी लोकमार्ग बागलुङभित्र १ सय ४२ किमि दूरी छ । त्योमध्ये २५ किमि कालोपत्र नभएको, झन्डै ४० किमिमा कालोपत्रपछि पनि जीर्ण र खाल्डैखाल्डा छन् । सडकका खाल्डा पुर्ने काम भएको र ठेकेदारलाई ल्याएर काममा लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर ऋषि गौतमको दाबी छ ।
