भरतपुरमा अन्तराष्ट्रिय डेरी प्रदर्शनी

दुध उत्पादन र डेरी उद्योगसँग सम्बन्धित विभिन्न वस्तु, औजार, उपकरण र प्रविधिहरु एक्स्पोमा राखिएका छन्।

माघ २५, २०८२

रमेशकुमार पौडेल

International Dairy Exhibition in Bharatpur

What you should know

चितवन — भरतपुरमा आइतबारदेखि अन्तराष्ट्रिय डेरी प्रदर्शनी (एक्स्पो) सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु विकास सचिव डा.दिपक खरालले उद्घाटन गरेको एक्स्पो माघ २९ गतेसम्म चल्ने छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र चितवन उद्योग संघले संयुक्त रुपमा एक्स्पो आयोजना गरेका हुन् । 

दुध उत्पादन र डेरी उद्योगसँग सम्बन्धित विभिन्न वस्तु, औजार, उपकरण र प्रविधिहरु एक्स्पोमा राखिएका छन्। एक्स्पोमा पशुपन्छीको आहारा, औषधि, गोठ व्यवस्थापन र दुध संकलन गर्ने सहकारीहरु तथा डेरी उद्योगका लागि आवश्यक पर्ने औजार उपकरण निर्माण गर्ने भारत र नेपालका विभिन्न कम्पनीहरुका एक सय हाराहारी स्टल छन् । घ्यू, चिज जस्ता डेरी उत्पादन पनि छन् ।

गत वर्ष राष्ट्रिय स्तरको एक्स्पो गरेकोमा यसपटक भारतका कम्पनीहरु सहभागी गराएर अन्तराष्ट्रिय एक्स्पो गरेको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिए । 

आउँदा वर्षमा डेरी एक्स्पो जारी राख्ने उनले बताए । गत वर्ष पनि माघ २५ मा एक्स्पो भएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले दुधको बजार विस्तारका लागि एक्स्पोको राम्रो भूमिका हुने बताए । ‘हाम्रा उत्पादनहरु के छन्, उत्पादनको गुणस्तर कस्तो छ ? त्यसका बारेमा उपभोक्ताले जानकारी लिन पाउने यस्तो एक्स्पोबाट हो,’ बगालेले भने । दुध उत्पादन, पशु स्याहार र डेरी उद्योगका लागि अन्तराष्ट्रिय तहमा आएका प्रविधिबारे पनि जानकारी हुने उनले बताए ।

किसानदेखि दुग्ध सहकारी र डेरी उद्योगीहरुले प्रदर्शनीबाट लाभ लिन सक्ने बगालेले बताए । उपभोक्ताले पनि डेरी उत्पादनहरु खरिद गर्न पाउने छन् ।

एक्स्पोमा पशुपालन र डेरी उद्योगको अवस्था, नीतिगत व्यवस्था, देखा परेका चुनौतिहरु, सम्भावनाका बारेमा गोष्ठीहरु पनि हुने छन् । दुग्ध किसान र सहकारीलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रम पनि यो अवधिमा हुने बगालेले जानकारी दिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully