फास्टो एप : अर्डर गरेको १० मिनेटमै डेलिभरी गर्ने प्रतिबद्धता

दैनिक २ सयदेखि ३ सय अर्डर डेलिभरी भइरहेका छन् । हाल फास्टोको आफ्नो सेवा काठमाडौं रिङरोडभित्र र बाहिर २–३ किलोमिटरसम्म फैलिएको छ ।

माघ २५, २०८२

सीमा तामाङ

Fasto App: Commitment to delivery within 10 minutes of ordering

What you should know

काठमाडौँ — समयसँगै उपभोक्ताको किनमेल गर्ने तौरतरिका र व्यवहार पनि फरक हुँदै आएको छ । उपभोक्ताको परिवर्तित व्यवहारलाई लक्षित गर्दै फास्टो एप बजारमा आएको छ। ‘भोलि ल्याउँछु’ वा ‘पसल गएर ल्याउँछु’ भन्ने सोचलाई विस्थापित गर्दै ‘अहिले चाहियो, ढोकामै’ भन्ने माग तीव्र बन्दै गएको छ। यही बदलिँदो उपभोक्ता व्यवहारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको क्विक–इकमर्स स्टार्टअप ‘फास्टो’ ले काठमाडौँ उपत्यकामा १० मिनेटभित्र किराना तथा दैनिक उपभोग्य सामग्री डेलिभरी गर्ने दाबीका साथ बजार विस्तार गरिरहेको छ।

अगस्ट १५ देखि औपचारिक रूपमा सेवा सुरु गरेको फास्टोले तीन महिनाकै अवधिमा ४२ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता गराइसकेको छ। दैनिक २०० देखि ३०० अर्डर डेलिभरी भइरहेका छन्। हाल फास्टोको आफ्नो सेवा काठमाडौं रिङ रोडभित्र र बाहिर २–३ किलोमिटरसम्म फैलिएको छ।

कम्पनीका अनुसार अर्डर भोल्युम क्रमशः बढ्दो क्रममा छ। फास्टोले उपभोक्ता डेटा प्रयोग गर्दा उमेर, लिंग वा ठेगानालाई निर्णायक आधार बनाएको छैन। बरु किनमेलको ढाँचालाई मुख्य सूचक मानेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रशान्त घिमिरेले भने, ‘ग्राहकले कुन समयमा के अर्डर गर्छ, कति अन्तरालमा अर्डर गर्छ, कुन वस्तुसँग कुन वस्तु जोडेर किन्छ—यही डेटाले हाम्रो निर्णय तय गर्छ।’

यही कारण फास्टोमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरू चाउचाउ, चिप्स, स्न्याक्स, आइसक्रिम र मदिरा हुन्। यी वस्तुहरूको उपभोग तत्कालिक आवश्यकता र आवेगसँग जोडिएकाले १९ देखि ३५–३६ वर्ष उमेर समूह स्वाभाविक रूपमा ठूलो उपभोक्ता समूह बनेको घिमिरेले बताए। तर फास्टो यही समूहमा सीमित रहन चाहँदैन। कम्पनीले अब पारिवारिक उपभोक्तालाई लक्षित गर्दै दाल, चामल, तेल, सरसफाइ सामग्री जस्ता वस्तु विस्तार गर्ने तयारी गरिरहेको छ।

‘हामीले पहिला सेवा स्थिर बनाउने निर्णय गर्‍यौँ,’ घिमिरेले भने, ‘अर्डर आएपछि १० मिनेटमै पुग्न सकेनौँ भने मार्केटिङको अर्थ रहँदैन।’

फास्टोको मुख्य विस्तार हाल ‘वर्ड अफ माउथ’ बाटै भइरहेको छ। प्रयोगकर्ताले सेवा अनुभव गरेपछि आफैँ अरूलाई सिफारिस गरिरहेका कारण प्रयोगकर्ता बढिरहेको घिमिरेले बताए।

Fasto App: Commitment to delivery within 10 minutes of ordering

नेपालका अन्य इ–कमर्स प्लेटफर्मभन्दा फास्टो फरक रहेको उनको दाबी छ। अन्य इ–कमर्स एपमा अर्डर गर्दा सामान आउन दुई–तीन दिनसम्म लाग्न सक्छ। डेलिभरी शुल्क पनि प्रोडक्ट संख्या अनुसार छुट्टाछुट्टै हुन्छ। तर फास्टोमा ३०० रुपैयाँभन्दा माथिको अर्डरमा डेलिभरी निःशुल्क हुने कम्पनीले जनाएको छ। कुल ३०० रुपैयाँभन्दा कमको सामान खरिद गर्दा १०० रुपैयाँ मात्रै शुल्क लाग्ने उनको भनाइ छ।

कम्पनीका अनुसार यो मोडलले उपभोक्तालाई ‘दुई वटा सामान अर्डर गर्दा दुई पटक शुल्क’ भन्ने झन्झटबाट मुक्त गर्नेछ। फास्टोको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘डार्क स्टोर’ मोडल हो। फास्टो एपमा देखिने प्रत्येक वस्तु कम्पनीकै स्टोरमा भौतिक रूपमा उपलब्ध हुने उनको भनाइ छ।

हाल काठमाडौँका घना बस्ती क्षेत्रमा १५ वटा मिनी डार्क स्टोर सञ्चालनमा छन्। प्रत्येक स्टोरले करिब १० मिनेटको दूरीभित्र सेवा दिने गरेको छ। ‘१० मिनेट भन्नुको अर्थ ठ्याक्कै १० नै होइन, कहिलेकाहीँ तलमाथि हुन सक्छ,’ घिमिरेले भने, ‘तर हाम्रो लक्ष्य भनेको किराना पसल गएर सामान ल्याउन लाग्ने समय हो।’

पश्चिमी मुलुकमा साप्ताहिक वा मासिक ग्रोसरी किन्ने चलन छ। तर नेपाल र भारतमा उपभोक्ता व्यवहार फरक छ। आवश्यकताअनुसार पटक–पटक सामान किन्ने प्रवृत्ति छ। ‘आज चाउचाउ खान मन लाग्यो भने अहिले नै किनेर ल्याउने हो,’ घिमिरेले भने, ‘उपभोक्ताको यही बानीलाई फास्टोले आफ्नो व्यवसाय मोडलको केन्द्रमा राखेको छ।’

यदि हामीले पनि भोलि डेलिभरी गर्ने मोडल अपनायौँ भने उपभोक्ताको बानी नै बदल्नुपर्ने अवस्था आउने कम्पनीको बुझाइ छ। त्यसकारण उपभोक्ताको व्यवहारसँग मेल खाने सेवा सञ्चालन गरिएको घिमिरेले बताए।

फास्टो एप एकैपटक २०२४ मा सुरु भएको भने होइन। सन् २०२२ मै एप बनिसकेको थियो। तर बैंकिङ प्रणालीमा तरलता संकुचन आएपछि लगानी जोखिमपूर्ण देखिएको थियो। त्यसबेला फास्टोलाई थाँती राखेर ‘पहाडी फुड’ मा लागेको घिमिरेले सम्झिए।

भारतमा जेप्टो, ब्लिन्किट जस्ता क्विक–कमर्स कम्पनीहरू सफल हुँदै गइरहेका र राइड सेयरिङ तथा अन्य इ–कमर्स एपका कारण उपभोक्ता अनलाइन सेवामा अभ्यस्त बन्दै गएकाले फास्टोलाई पुनर्जीवित गरिएको हो। ‘ड्रप इट’ नामक सानो स्टार्टअपलाई नयाँ रूप दिएर फास्टो एप सञ्चालनमा ल्याइएको हो।

फास्टो सुरु गर्दा नै स्टोर स्टाफ, राइडर, अपरेसन र व्यवस्थापन गरी करिब ३०० जनालाई रोजगारी दिइएको छ।

सबैभन्दा ठूलो चुनौती भने राइडर हायरिङ रहेको उनी सम्झन्छन्। ‘राइड–सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्दा लागत अपेक्षाभन्दा दोब्बर भयो,’ उनले भने, ‘तर सेवा निरन्तरताका लागि त्यो लागत स्वीकार गर्नुपर्‍यो।’

फास्टोले शतप्रतिशत इन्भेन्टोरी मोडल अपनाएको छ। भेन्डरहरूले अनलाइन पोर्टलमार्फत आवेदन दिन्छन्। माग, बिक्री सम्भावना र मार्जिन विश्लेषणपछि मात्र प्रोडक्ट प्लेटफर्ममा राखिन्छ। सुरुमा सीमित स्टोरमा परीक्षण गरेर मात्र अन्य स्टोरमा विस्तार गरिन्छ।

फास्टो हालसम्म पूर्ण रूपमा स्व–लगानीमा सञ्चालन भइरहेको छ। अब स्टोर संख्या बढाउने, प्रोडक्ट रेन्ज विस्तार गर्ने र पूरै उपत्यका कभर गर्ने योजना छ। क्विक–कमर्समा सम्भावना धेरै भए पनि जोखिम उत्तिकै रहेको घिमिरेको भनाइ छ। उच्च अपरेसन लागत, राइडर व्यवस्थापन, इन्भेन्टोरी योजना र नगद प्रवाह मुख्य चुनौती हुन्।

तर उपभोक्ता व्यवहारमा आएको परिवर्तन, स्मार्टफोन पहुँच र डिजिटल भुक्तानी विस्तार फास्टोका लागि अवसर बनेका छन्। फास्टोको लक्ष्य स्पष्ट छ-नेपालको क्विक–कमर्स क्षेत्रमा नम्बर वान प्लेटफर्म बन्ने। घिमिरेले भने, ‘यो ट्रायल प्रोजेक्ट होइन। सही एक्जिक्युसन भयो भने यो मोडल नेपालमा स्थायी रूपमा चल्छ।’ 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully