वार्षिकोत्सवको औपचारिक समारोह चलिरहँदा कर्मचारीले आफ्नो वृत्ति विकास, रोकिएका सेवा सुविधा र व्यवस्थापकीय कमजोरीप्रति ध्यानाकर्षण गराएका छन् ।
What you should know
काठमाडौँ — नेपाल टेलिकमले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव मनाइरहँदा बिहीबार कम्पनीका तीनवटै कर्मचारी संगठनहरूले प्लाकार्ड र ब्यानरसहित मौन विरोध प्रदर्शन गरे ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रूपमा ‘हामी ‘अन्यायमा छौँ : न्यायका लागि हाम्रो आवाज’ लेखिएको ब्यानर र प्लाकार्डसहित विरोध जनाएका हुन् ।
यसअघि कर्मचारी युनियनहरूले २०८२ पुस १६ र माघ २० गते व्यवस्थापन समक्ष आफ्ना मागहरू समेटेर ध्यानाकर्षण पत्र बुझाएको विज्ञप्तिमा उल्लेख छ । तर, ती माग सम्बोधन नभएपछि दबाबमूलक प्रदर्शनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।
कर्मचारीहरूका मुख्य असन्तुष्टिमा कर्मचारी विनियमावली २०७८ का कारण वृत्ति विकासमा आएको संकुचन, लामो समयदेखि एउटै पदमा १३-१४ वर्षसम्म कार्यरत रहनुपर्ने बाध्यता र बढुवाको सुनिश्चितता नहुनु रहेका छन् । साथै, सरकारले निर्णय गरेको महँगी भत्ता र साधारण सभाबाट स्वीकृत भइसकेको बोनस तथा इन्सेन्टिभ समेत वितरण नगरिएकामा उनीहरूले आपत्ति जनाएका छन् । कर्मचारीहरूले यस्तो अवस्थालाई अन्यायपूर्ण ठहर गर्दै कर्मचारीको मनोबल उच्च राख्न र उत्पादकत्व बढाउन प्राप्त सुविधाहरू तत्काल कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।
व्यवस्थापकीय पक्षमा पनि गम्भीर त्रुटि रहेको भन्दै कर्मचारीहरूले नयाँ बिलिङ प्रणाली भित्र्याउन भएको ढिलाइ, फोरजी तथा एफटीटीएचजस्ता प्रमुख परियोजनाहरूको कमजोर कार्यसम्पादन र समयमै सम्पन्न नहुने प्रवृत्तिको विरोध गरेका छन् ।
समारोहमा कर्मचारी युनियनहरूले गरेको मौन विरोध र उनीहरूका मागका सम्बन्धमा टेलिकमको सञ्चालक समितिका कर्मचारी प्रतिनिधि लोकबहादुर कटुवालले कर्मचारीहरूले बुझाएको ध्यानाकर्षण पत्रलाई सञ्चालक समितिले गम्भीरताका साथ लिएको बताए । उनले कर्मचारी विनियमावली संशोधन नहुँदा कर्मचारीहरू एउटै पदमा १३ देखि १४ वर्षसम्म कुर्नुपरेको र १५-२० वर्षसम्म पनि बढुवा नहुने अवस्था रहेको स्वीकार गर्दै यसलाई समाधान गर्न कम्पनीको पुनर्संरचना र दरबन्दी मिलानजस्ता विकल्पहरूमा सञ्चालक समितिमा छलफल भइरहेको जानकारी दिए ।
‘लामो समयदेखि रोकिएको बोनस, प्रोत्साहन भत्ता र अन्य आर्थिक सुविधाहरूका विषयमा पनि सञ्चालक समितिले छिट्टै निकास निकाल्ने छ,’ उनले भने, ‘कर्मचारीहरूको सेवा सुविधालाई संस्थाको आर्थिक अवस्था, नाफा र सेवाको गुणस्तरसँग जोडेर हेर्नुपर्ने भएकाले संस्थाको उन्नतिमा लाग्न कर्मचारीहरूलाई आग्रह गर्छु ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव एवं टेलिकम सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले कम्पनीको सेवा प्रवाहलाई निरन्तरता दिन अहोरात्र खट्ने कर्मचारीहरूको योगदानलाई बिर्सन नसकिने र उनीहरूलाई उचित रूपमा उत्प्रेरित गराउनु आवश्यक रहेको बताइन् । उनले कर्मचारी युनियनहरूले उठाएका मागहरूका सन्दर्भमा सञ्चालक समिति र कम्पनी व्यवस्थापनले आगामी दिनमा विशेष ध्यान दिने आश्वासन दिएकी छन् ।
