कारोबारमा आएका २०१ कम्पनीको सेयर मूल्य बढ्यो, ५५ कम्पनीको मूल्य घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — साताकाे अन्तिम काराेबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक २७.१९ अंकले बढेको छ । बुधबारको तुलनामा बिहीबार १.०१ प्रतिशत बढेर नेप्से २७ सय ८ दशमलव ७० विन्दुमा उक्लिएको छ ।
पछिल्ला चार कारोबार दिनपछि नेप्से फेरि २७ सय विन्दुमा पुगेको हो । गत १५ माघमा २७ सय १४ मा रहेको नेप्से १८ माघमा १९.८५ अंकले घटेर २६ सय ९४ दशमलव २० विन्दुमा ओर्लिएको थियो ।
कारोबारमा आएका २०१ कम्पनीको सेयर मूल्य बढ्यो, ५५ कम्पनीको मूल्य घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि समग्र नेप्से वृद्धिमा टेवा पुगेको हो ।
कुल १ लाख ८ हजार ८१७ पटकको किनबेचमा ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर खरिदबिक्री भएको छ । किनबेचबाट ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
नेप्सेका अनुसार व्यापारबाहेक सबै उपसमूह बढेको छ । व्यापार उपसमूह भने १८.५१ अंकले घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा २१८.९२ र जीवन बिमा १४३.८५ अंकले बढेको छ ।
