भारत सरकारको सहयोगमा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि भारतकै निर्माण कम्पनी कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ ।
What you should know
कञ्चनपुर — एकातिर भौतिक संरचना निर्माण भइरहेका छन् । सँगै जमिन सम्याउने काम पनि भइरहेको छ । मालवाहक साधनहरू धमाधम निर्माण सामग्री ढुवानीमा लागेका छन् । दोधारा चाँदनी नगरपालिका–१ गौरीशंकर सामुदायिक वन क्षेत्रको जमिनमा अहिले सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम काम भइरहेको हो ।
गत साउनदेखि नै उक्त क्षेत्रमा काम सुरु गरेको भारतीय निर्माण कम्पनीले सुरुमा आवासलगायतका संरचना निर्माण गरेको थियो । अब सुक्खा बन्दरगाहकै लागि भौतिक संरचना निर्माणको काम अगाडि बढिसकेको छ ।
सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको भारतीय निर्माण कम्पनीले भारतबाट निर्माण सामग्री ल्याउन कर छुटका लागि दिएको मास्टर लिष्ट पनि मन्त्रालयबाट स्वीकृत भइसकेको छ । त्यही अनुसार निर्माणका लागि आवश्यक सामग्री भारतबाट आयात हुन लागेको इण्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले बताए । ‘अहिले निर्माण सामग्री आउन थालेको छ, काम पनि चलिरहेको छ,’ इण्टरमोडल यातायात विकास समितिका इन्जिनियर केसीले भने, ‘मास्टर लिष्ट स्वीकृत भएपछि निर्माण कार्य अब तीब्र रुपमा अघि बढ्नेछ ।’
उनका अनुसार निर्माण कम्पनीले सिमेन्ट, फलामको डण्डी, फर्निचरलगायतका निर्माण सामग्री भारतबाट ल्याउने छ । त्यसकै कर छुटका लागि निवेदन दिइएको छ । उक्त निवेदन गत साता मात्रै स्वीकृत भएको हो ।
इन्जिनियर केसीका अनुसार सुरुमा आएको मास्टर लिष्ट दुई महिनाअघि नै स्वीकृत भएको थियो । निर्माण कम्पनीले केही सामग्री थप गरेपछिको संशोधित मास्टर लिष्ट भने गत साता मात्रै स्वीकृत भएको हो ।
सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने इँटा, ग्राभेल, माटो र बालुवा भने नेपालबाटै प्रयोग गरिनेछ । त्यसका लागि निर्माण कम्पनीले रोयल्टी छुट पाउनेछ ।
भारत सरकारको सहयोगमा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि भारतकै निर्माण कम्पनी कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । साउनमा इण्टरमोडल यातायात विकास समितिले निर्माणका लागि साइड हस्तान्तरण गरेको थियो।
सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टरमा पर्ने १ हजार ७ सय २ रुख कटान गरिएको छ । अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचना निर्माण गरिनेछन् । उक्त क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भान्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेड निर्माण गरिने छ । साथै चारैतर्फ पर्खाल निर्माण गरिनेछ ।
इण्टरमोडल यातायात विकास समितिले निर्माण क्षेत्रमा सम्पर्क कार्यालय राख्ने वा प्रतिनिधि खटाउने योजना रहेको इन्जिनियर केसीले बताए । त्यसका लागि प्रयास भइरहेको उनले बताए ।
