अनावश्यक ग्यास मौज्दात नराख्न उपभोक्तालाई निगमको अनुरोध

ग्यासको समस्या नहुने र आजबाट अवस्था सहज बन्दै जाने निगमले जनाएको छ ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Corporation requests consumers not to keep unnecessary gas stocks

काठमाडौँ — नेपाल आयल निगमले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास अनावश्यक रूपमा मौज्दात नराख्न अनुरोध गरेको छ । निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त अनुरोध गरेका हुन् ।

केही दिनयता काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव भएसँगै पछि समस्या हुने डरले उपभोक्ताले बढी खपत गरेपछि निगमले उक्त अनुरोध गरेको हो । ग्यासको समस्या नहुने र आजबाट अवस्था सहज बन्दै जाने निगमले जनाएको छ ।

भारतबाट पर्याप्त एलपी ग्यास लोड भएर आइरहेकाले अब अभाव नहुने प्रमुख कार्यकारी अधिकृत भट्टले बताए । अहिले प्रतिदिन ८५ देखि ९० वटा एलपीजी ग्यास बोकेका बुलेट आउने गरेको छ । यो भनेको १ लाख १४ हजार खाली सिलिन्डरमा रिफिल गर्न मिल्ने निगमले जनाएको छ । 

‘अहिले दैनिक १ सय ३२ वटासम्म ग्यास बोकेका बुलेट आइरहेका छन्,’ उनले भने, ‘धेरै त बुधबार नै आइसक्ने छन्, त्यसैले अनावश्यक रूपमा ग्यास मौज्दात नराखिदिनु होला, चुनावमा समेत ग्यास अभाव हुन नदिन अहिले आइरहेकोमा थप दुई हजार मेट्रिक टन एलपीजी ग्यास आउँदै छ, त्यसैले ग्यास अभाव हुने छैन ।’   

कान्तिपुर संवाददाता

Link copied successfully