जनवरीमा सार्क राष्ट्रबाट मुस्ताङमा १० हजार ४५ र अन्य विदेशी पर्यटक ७७७ जना भित्रिएका छन् ।
What you should know
मुस्ताङ — अघिल्लो वर्षको जनवरी महिनाको तुलनामा यस वर्ष मुस्ताङ आउने पर्यटक दुई गुनाले बढेका छन् । मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
एक्याप प्रमुख राजेश गुप्तका अनुसार जनवरीमा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।
यसअघि सन् २०२५ को जनवरीमा चार हजार ३४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्याङ्कमा उल्लेख छ । सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा ६ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ ।
सन् २०२५ को जनवरीमा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य मुलुकका पर्यटकको सङ्ख्या ५१६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ ६ हजार २१५ जना र अन्य राष्ट्रका पर्यटक २६१ जनाले वृद्धि भएको हो ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताए । राष्ट्रिय गौरवको बेनी–जोमसाम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या अप्रत्याशित रुपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ । यहाँ सन् २०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याइ छ ।
मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमकका बाबजुद पर्यटक वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीहरुलाई आशा जगाएको बताए ।
