चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुँदै

‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित माघ २५ देखि २९ गतेसम्म एक्स्पो सञ्चालन हुनेछ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

International Dairy Expo underway in Chitwan

What you should know

काठमाडौँ — चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकहरूले यसअघि सञ्चालन भएको राष्ट्रिय डेरी एक्स्पोको सफलतापछि कार्यक्रमलाई बिस्तार गरी अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना गरिएको जानकारी दिएका हुन् ।

‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने एक्स्पो चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले संयुक्त रूपमा आयोजना गरेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष किशोर बगाललेका अनुसार एक्स्पोले डेरी क्षेत्रको उत्पादन, उद्यमशीलता, बजार र प्रविधिको प्रवर्द्धनमा टेपा पुग्ने छ । ‘एक्स्पोमा डेरी उत्पादन, प्रक्रिया र वितरणमा नवीनतम प्रविधि र अभ्यासलई प्रोत्साहित गरिनेछ ।  साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर एक्स्पोमा भेटिनेछ,’ उनले भने,‘प्रविधिको भित्राउँदै डेरी जन्य उत्पादनको निर्यातको वातावरणसमेत एक्सपोले तयार गर्नेछ ।’

पाँच दिने एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनीसँगै दुग्धजन्य पदार्थको आवश्यकताको र महत्त्वको विषयमा वक्तृत्वकला, सहकारीबीच हाजिर जवाफ प्रतियोगितासमेत राखिएको छ । बगालेका अनुसार दूध उत्पादन, बजारीकरण र नीतिका क्षेत्रमासमेत कार्यपत्र प्रस्तुत गरिने अन्तरक्रिया कार्यक्रम एक्स्पोमा राखिएको छ । यस्तै, संस्कृतिक कार्यक्रमसहित डेरी फुड फेस्टिभल, कृषक/उद्यमी र सहकारी पुरस्कृत कार्यक्रमसमेत एक्स्पोमा छ ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँवरले देशभरिकै सहकारीलाई आफ्नो उत्पादन ल्याएर एक्स्पोमा बिक्रीवितरण गर्न समेत आह्वान गरेका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले ग्रामीण अर्थतन्त्रसँग जोडिएको पशुपालन देशको अर्थतन्त्रको मुख्य आधार भएकाले यस एक्स्पोले धेरै फाइदा लिन सक्ने बताए । उनका अनुसार सार्क मुलकहरुका व्यक्ति र संस्थाकोसमेत प्रतिनिधित्व रहने हुँदा यसले नेपालको पशुपालनलाई फाइदा पुग्ने बताए । नि:शुल्क प्रवेश व्यवस्था रहेको प्रदर्शनीमा सयभन्दा बढी स्टलहरु रहने छन् । प्रदर्शनी भरतपुर १० मा रहेको चितवन प्रदर्शनी केन्द्र भित्र हुनेछ । 

कान्तिपुर

Link copied successfully