मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

२०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो ।

माघ १८, २०८२

रासस

Muglin-Malekhu road construction completed only 37 percent in three years

What you should know

चितवन — पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो ।

तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा ६ महिना म्याद थप गरिएको छ।

२०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्या‌ंक गलत पर्दा सडकको नक्सांकन फरक परेकाले समयमा काम गर्न नपाएका कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको छ ।

निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ भएको, रुख, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री सहज पाउन नसकिएको, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको जनाउँदै आएको छ । दरैले अहिलेका लागि नक्सांकनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको बताए । 

उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत मात्र काम भएको छ । दरैका अनुसार नौ किलोमिटरभन्दा केही बढी कालोपत्र सकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ ।

नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । उनका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उनको भनाइ छ ।

सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ ।

चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए। उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

रासस

Link copied successfully